नेकपा एमालेका अध्यक्ष एवम् उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक केपी शर्मा ओलीले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई सरकारमा ल्याउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सुझाव दिएका छन्।
शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको संयन्त्रको बैठकमा ओलीले केही जिज्ञासा पनि राखेको सहभागी एक नेताले बताए।
‘बाहिर कुरा के–के सुन्छु, यसरी हुँदैन,’ ओलीले भने, ‘पूर्वसमझदारी अनुसार रास्वपालाई सरकारमा फेरि आउने वातावरण बनाऔं।’
प्रधानमन्त्री प्रचण्डले रास्वपाले सरकार छोडेकोबारे आफूले बुझ्न नसकेको जवाफ ओलीलाई दिएका थिए।
‘मैले त रविजीलाई भनेकै हुँ नि, सरकार नछोड्नु भनेर, तर, उहाँले मान्नुभएन,’ प्रचण्डको जवाफ थियो।
अध्यक्ष ओलीले राष्ट्रपति निर्वाचनबारे मिडियामा आएका समाचारबारे प्रचण्डसँग चासो राखेका थिए।
मिडियामा के आयो? कसले के भन्यो? मैले यतातिर ध्यान दिएको छैन,’ प्रधानमन्त्रीले जवाफ दिए, ‘राष्टपति निर्वाचनमा म गम्भीर छु। यसमा राष्ट्रिय सहमति बनाउन सके धेरै राम्रो हुन्छ, त्यसको प्रयास त हामीले गर्नु पर्छ।’
संयन्त्रको बैठकमा नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी र जनता समाजवादी पार्टी (जसपा) अनुपस्थित थिए।
नागरिक उन्मुक्तिले साथ नदिँदा सुदूरपश्चिममा एमाले नेतृत्वको सरकार एक महिनामै ढलेकोप्रति ओली दुखित थिए।
‘हामीले सहमति गरेर बाँडफाँट गरेका थियौँ, तर, सुदूरपश्चिम सरकार ढल्यो, एक महिनामै ढल्यो, त्यहीँबाट अस्थिरता सुरु भयो,’ ओलीले थपे, ‘अब यहाँ कसले कसलाई कसरी विश्वास गर्ने?'
Shares
प्रतिक्रिया