प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारी बिदा धेरै हुँदा जनसेवा प्रवाह प्रभावित भएको बताउँदै घटाउने तयारीमा जुटेका छन्।
मंगलबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकमा बोल्दै प्रधानमन्त्रीले यसको संकेट गरेका छन्।
'हाम्रा सरकारी विदा धेरै भए। यसले जनताका काम गर्ने समय कम भएको छ, सेवा प्रवाहमा समस्या देखिएको छ', उनले भने, 'यसबारे पुनर्विचार आवश्यक छ भनेर मन्त्रिपरिषदमा छलफल गरेका छौँ। गृहकार्य गरेर पुनर्विचार गर्नुपर्छ।'
प्रधानमन्त्रीले प्रजातन्त्र दिवस, लोकतन्त्र दिवस र गणतन्त्र दिवसमा एकै प्रकृतिका कार्यक्रम गरिँदै आएकाले यसमा पनि छलफल आवश्यक भएको बताए।
'हामीले गणतन्त्र दिवस मनाउँछौँ, प्रजातन्त्र दिवस मनाउँछौँ, लोकतन्त्र दिवस मनाउँछौँ। तर, ती सबै कार्यक्रमको चरित्र एउटै छ', उनले भने, 'त्यसलाई कसरी एकीकृत गर्ने?, राष्ट्रिय दिवसमा जनसहभागिता बढाउनेबारे छलफल आवश्यक छ।'
बैठकले आगामी फागुन ७ गते विविध कार्यक्रमसहित प्रजातन्त्र दिवस मनाउने निर्णय गरेको छ।
त्यसका लागि प्रधानमन्त्रीको संयोजकत्वमा मूल समारोह आयोजक समितिसमेत गठन गरिएको छ।
Shares
प्रतिक्रिया