१२ माघ २०७६ मा तत्कालीन नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य तथा सांसद अग्निप्रसाद सापकोटा सभामुखमा निर्वाचित भएका थिए।
त्यही वर्षको असोजदेखि रिक्त सभामुख पदका लागि माओवादी केन्द्रले पार्टीको विश्वाससिलामध्ये एक सांसद सापकोटालाई छनोट गरेको थियो।
नेकपा एमाले–माओवादी गठजोडबाट सापकोटालाई सभामुखको उम्मेदवार बनाइएको थियो। त्यसदिन संसदमा उनको मात्रै उम्मेदवारी दर्ता भएपछि निर्विरोध चयन भए।
२०७४ को चुनावमा सिन्धुपाल्चोक क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित उनी सभामुख बनेपछि माओवादी पार्टीका सबै जिम्मेवारीबाट अलग भए।
सभामुखको भूमिका तटस्थ हुनुपर्ने भएकोले उनले पनि सबै जिम्मेवारीबाट हटेको घोषणा गरेका थिए।
सभामुखका रुपमा ३४ महिना काम गरेका सापकोटा प्रतिनिधि सभाको ४ मंसिरको चुनावबाट नयाँ प्रतिनिधि चुनिएपछि माओवादी केन्द्रमा फर्किन खोजेका थिए।
तर, चुनावको सबै परिणाम, सभामुख-उपसभामुख चुनावका कारण उनको चहाना तत्काल पूरा हुन पाएन। तर अहिले १२ माघ २०७९ मा उनको अपेक्षा पूरा भएको छ।
उनलाई पेरिस डाँडामा बसेको माओवादी स्थायी समिति बैठकमा सहभागी गराइएको छ।
उनी ३६ महिनापछि पार्टीको पुरानै जिम्मेवारीसहित फर्किएका हुन्। ढाका टोपी, कोट र पाइन्टमा सजिएर पार्टी कार्यालय पेरिसडाँडा पुगेका सापकोटाको सिट व्यवस्था पनि अघिल्लो पङ्क्तिमै मिलाइएको छ।
सापकोटा सभामुखमा निर्वाचित हुने र पार्टीमा फर्किने दिन संयोगवश एउटै परेको छ।
अर्थात्, सभामुख चुनिने र माओवादीको जिम्मेवारीमा फर्किने दिन १२ माघ परेको हो।
अब उनलाई माओवादीको पुरानै जिम्मेदवारीबाट बढुवा गरिएको छ।
पार्टीमा फर्किएका उनलाई अब माओवादी केन्द्रको उपाध्यक्ष बनाउन लागिएको एक नेताले नेपालखबरलाई बताए।
'भोलि सांगठानिक प्रस्तावमाथि छलफल गर्ने कार्यसूची छ। त्यही बैठकले सापकोटाको जिम्मेवारी तोक्छ', ती नेताले भने, 'सापकोटालाई उपाध्यक्ष बनाएर पार्टीमा सक्रिय बनाउने तयारी अध्यक्षले गर्नु भएको छ।'
यसपटक ४ मंसिर २०७९मा सम्पन्न चुनावमा युवालाई अवसर दिने भन्दै सिन्धुपाल्चोकबाट निर्वाचन लड्न गएनन्।
उनको क्षेत्रमा माओवादी केन्द्रकै युवा नेता माधव सापकोटा विजयी भएका छन्।
प्रतिनिधि सभाबाट ५ माघमा नयाँ सभामुख देवराज घिमिरे निर्वाचित भइसकेका छन्।
एमालेका घिमिरेले सभामुख बनेर संसद बैठक सञ्चालन गर्न थालेपछि सापकोटा पार्टीकै जिम्मेवारीमा फर्केका हुन्।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको दुई पटकको संसद विघटन सभामुख सापकोटाकै कारण सफल हुन पाएको थिएन।
प्रधानमन्त्री ओलीको संसद विघटनविरुद्ध सापकोटा आफैँ सर्वोच्च अदालत पुगेका थिए।
सभामुख निर्वाचित हुनुअघि माओवादीका प्रभावशाली नेता थिए उनी।
'अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डनिकट उनलाई ३६ महिनापछि पार्टीमा फर्काएर उपाध्यक्ष बनाइँदै छ', एक नेताले नेपालखबरलाई बताए।
सिन्धुपाल्चोकको चौतारा-४ कुबिण्डे टोलमा धनपति र तिलमायाको कोखबाट २०१४ साल फागुन २४ गते जन्मेका उनी २०३५ सालबाट राजनीतिमा सक्रिय भएका हुन्।
समाजशास्त्रमा स्नातकोत्तर उनी २०४४ सालमा नेपाल राष्ट्रिय शिक्षक संगठनको केन्द्रीय उपाध्यक्ष भएका थिए।
साँगाचोकस्थित जनजागृति माध्यमिक विद्यालयमा १५ वर्ष प्राध्यापन समेत गरे। सापकोटाले शिक्षण पेशा छोडेर राजनीति गरेका हुन्।
२०४८ सालमा संयुक्त जनमोर्चाका तर्फबाट प्रतिनिधिसभा निर्वाचनमा सापकोटा पराजित भएका उनले माओवादी जनयुद्धमा होमिएर शान्ति प्रक्रियामा आएपछिका दुईवटा संविधान सभा र एउटा प्रतिनिधि सभा चुनाव जितेका थिए।
पहिलो र दोस्रो संविधानसभाको निर्वाचनमा सिन्धुपाल्चोक क्षेत्र नम्बर २बाट भारी मतान्तरले विजयी भएका सापकोटा ०७४ को निर्वाचनमा क्षेत्र नम्बर १ बाट विजयी भएका थिए।
२०५१ सालमा उनी माओवादीको केन्द्रीय सदस्य बनेका थिए। २०५२ सालबाट भूमिगत भएका सापकोटा २०६९ माघमा भएको एकीकृत नेकपाको (माओवादी) हेटौँडा महाधिवेशनबाट पोलिट्व्युरो सदस्य बने। त्यही वर्ष साउनमा उनलाई माओवादीले स्थायी समिति सदस्य र प्रवक्ता बनाएको थियो।
२०७३ मा माओवादी केन्द्रको कार्यालय सदस्य बनेका उनी त्यसयता उनी सभामुख हुँदासम्म स्थायी समिति सदस्य थिए।
Shares
प्रतिक्रिया