नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पहिलो पटक (२०७२) प्रधानमन्त्री भएका बेला सचिवालयमा थिए–झापाका पुराना नेता देवराज घिमिरे।
इमान्दार, लगनशील र भद्र स्वभावकै कारण ओलीले घिमिरेलाई राजनीतिक जिम्मेवारी हेर्नेगरी स्वकीय सचिव बनाएको नेताहरु बताउँछन्।
३ फागुन २०७४ मा अध्यक्ष ओली दोस्रो पटक झण्डै दुईतिहाइ जनमत लिएर प्रधानमन्त्री हुँदा घिमिरे प्रमुख स्वकीय सचिव बन्न चाहे तर सफल भएनन्।
त्यसबेला उनले सिलाएको दौरा सुरुवाल लगाउनै नपाएको एमालेका नेताहरु स्मरण गर्छन्।
तर, यसपटक अध्यक्ष ओलीले देवराज घिमिरेलाई गुन लगाउँदैछन् त्यो पनि मन्त्री होइन, सभामुख नै बनाएर।
०३१ मा झापा विद्रोहपछि राजनीतिक यात्रा सुरु गरेका उनी सुखानी सहिद स्मृति प्रतिष्ठानका अध्यक्ष पनि भए।
एमालेमा उनी विद्या भण्डारी, शंकर पोखरेल, कृष्णगोपाल श्रेष्ठहरु भन्दा वरिष्ठ हुन्। भण्डारी त दुई कार्यकाल राष्ट्रपति बनि सकिन्।
उनीसँगै अरु नेताहरु पदाधिकारी बनिसक्दा घिमिरे स्थायी समिति सदस्य पनि थिएनन्।
‘लो प्रोफाइलमा’ बसेर राजनीतिक गतिविधि गर्न सक्ने घिमिरेलाई २०७८ मंसिर ११ देखि १५ सम्म चितवनमा भएको दशौं महाधिवेशनमा स्थायी समिति बन्ने अवसर प्राप्त भयो।
उनीभन्दा पछिका धेरै नेताहरु पदाधिकारी बनेर पटक पटक सत्तामा पुग्दा घिमिरे एक वर्षअघिमात्र स्थायी कमिटीमा पुगे।
झापा क्षेत्र नम्बर २ बाट २८ हजार ७ सय १६ मत ल्याई विजेता भएका घिमिरे २०१३ जेठ १३ मा ताप्लेजुङ सिकैचा ३ मा जन्मिएका हुन्।
एमालेका प्रवक्ता समेत रहेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङले देवराज घिमिरेबारे भने, ‘उहाँ भूमिगत राजनीति गरेको निकै पुरानो र एमालेमा राजकीय अवसर नपाएका नेतामा पर्नुहुन्छ।’
उनै घिमिरेले व्यवस्थापिकाको नेतृत्व पाउने लगभग निश्चित छ।
सत्ता साझेदार दलका साझा उम्मेदवारका रुपमा बुधबार (४ माघ) सभामुखमा उम्मेदवारी दिएका घिमिरेका प्रतिस्पर्धी नेपाली कांग्रेसकी सांसद ईश्वरी न्यौपाने छिन्।
एमाले ७८, नेकपा माओवादी केन्द्र ३२, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) २०, राप्रपा १४ गरी १४४ सांसद घिमिरेको पक्षमा छन्।
उता पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गर्ने दलहरुको संख्या १६९ छ।
जनमत पार्टी ६, नागरिक उन्मुक्ति पार्टी ४ र ३ जना स्वतन्त्र सांसदले पनि प्रचण्डलाई समर्थन गरेकाले उनीहरु सबै घिमिरेको पक्षमा उभिने सम्भावना छ। तर अहिलेसम्म त्यो निश्चित भइसकेको छैन।
संसदको यही अंकगणित लिएर बिहीबार (५ माघ) हुने चुनावबाट सभामुख बन्ने कुरामा घिमिरे ढुक्क देखिन्छन्।
उनी ४ माघमा सभामुख उम्मेदवारी दर्ता गराएपछि नै उत्साहित थिए।
‘म जिम्मेवारीमा पुग्ने निश्चित छ। हिजोका शिक्षाबाट अघि बढ्छु। तटस्थ रहेर चलाउँछु,’ उनले भने, ‘प्रतिनिधिसभाबाट विजय भएपछि सभामुखले खेल्ने भूमिका के हुन्छ, त्यो भूमिकामा कम रहन दिन्न।’
आफ्नै पार्टीभित्रका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिव छविलाल विश्वकर्मा र केन्द्रीय सदस्य विद्या भट्टराईको चर्चा हुँदा हुँदै घिमिरेले सभामुखको टिकट फुत्काउन सफल भए।
को हुन् घिमिरे?
२०५६ सालमा राष्ट्रिय सभा सदस्य बनिसकेका उनी ६७ वर्षअघि बुबा पदमप्रसाद घिमिरे र आमा भिमकुमारी घिमिरेको कोखबाट जन्मिएका माइला छोरा हुन्।
ताप्लेजुङको सिंहदेवी प्राथमिक विद्यालयबाट अध्ययन थालेका उनले सदरमुकामको भानु पब्लिक हाई स्कुलबाट वि.सं. २०२९ सालमा एसएलसी गरेर सुनसरीको धरान झरे।
धरानको महेन्द्र बहुमुखी क्याप्पसबाट आईए सकेका घिमिरेले काठमाडौँको त्रिचन्द्र क्याम्पसमा बीए गरेपछि पढाई छोडेर २०३२ माघदेखि अखिल नेपाल कम्युनिष्ट क्रान्तिकारी को–अर्डिनेशन कमिटी (कोके) मा जोडिए।
२०३५ पुस ११ गते कम्युनिष्ट घटकहरु मिलेर नेकपा माले बनेपछि घिमिरेले तेह्रथुम र पाँचथर जिल्लामा संगठन बनाउने जिम्मेदवारी पाए।
नेकपा मालेका भूमिगत राष्ट्रिय भेला र कार्यक्रममा सहभागी घिमिरे २०४६ सालको भदौमा लाहानमा सम्पन्न चौथो महाधिवेशन प्रतिनिधि बने।
घिमिरे नेकपा माले र एमालेको एकीकरणपछि २०४९ सालको पाँचौ राष्ट्रिय महाधिवेशनबाट पार्टी केन्द्रीय कमिटीमा निर्वाचित भए।
त्यसयता निरन्तर एमालेको राजनीतिमा सक्रिय घिमिरेले सभामुखको चुनाव जिते पहिलो पटक राजकीय पद पाउनेछन्।
उनको उम्मेदवारीको प्रस्तावकमा एमालेका उपाध्यक्ष एवम् सांसद सुवासचन्द्र नेम्वाङ छन्।
नेकपा माओवादी केन्द्रका सांसद हितराज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवम् सांसद रवि लामिछाने र राप्रपा अध्यक्ष एवम् सांसद राजेन्द्र लिङ्देन घिमिरेको समर्थकमा छन्।
सभामुख बनाउने निर्णय
एमालेका एक पदाधिकारीका अनुसार सोमबार बेलुकासम्म पनि सभामुखको उम्मेदवारबारे निश्चित भइसकेको थिएन।
अध्यक्ष केपी शर्मा ओलीसँग निरन्तर संवादमा रहेका नेताहरु पार्टी सचिव छविलाल विश्वकर्मा नै सभामुख बन्ने दाबी गर्थे।
‘अहिलेसम्म छविलालजीकै पल्ला भारी छ,’ एक पदाधिकारीले १८ पुसमा नेपालखबरसँग भनेका थिए, ‘प्रत्यक्ष चुनाव जित्नुभएको, शान्त स्वभाव र सधैँ नेतृत्वको रक्षामा लागिरहनुभयो। सभामुखमा हुनुपर्ने खास स्वभाव उहाँमा छ।’
तर, मंगलबार ३ माघमा अध्यक्ष ओलीले विश्वकर्माको नाम काटेर देवराजलाई सभामुख बनाउने निर्णय गराए।
‘अहिले अध्यक्षले सभामुखमा देवराज घिमिरेजीलाई उम्मेदवार बनाउने भनेर भन्नुभयो, त्यही निर्णय भयो,’ अर्का पदाधिकारीले भने।
उनका अनुसार घिमिरेले आफूलाई सभामुख बनाउन लबिङ गरेका थिए।
Shares
प्रतिक्रिया