ad ad

राजनीति


सरकार गठन गर्ने आज अन्तिम दिन, सत्ता गठबन्धनमा होला सहमति?

सरकार गठन गर्ने आज अन्तिम दिन, सत्ता गठबन्धनमा होला सहमति?

फाइल तस्बिर


नेपालखबर
पुस १०, २०७९ आइतबार ७:१४, काठमाडौँ

नयाँ सरकार गठनका लागि सहमति जुटाउने प्रयासमा रहेको सत्ता गठबन्धनको बैठक आज पनि बस्दै छ। 

सत्तारुढ नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले अहिले बिहान १० बजेसम्ममा गठबन्धनको बैठक बस्ने जानकारी दिए। बैठक प्रधानमन्त्रीको सरकारी निवास (बालुवाटार) मा बस्नेछ। 

सरकार गठनबारे आज सहमतिमा पुगिएला त? 

नेपालखबरको जिज्ञासामा महासचिव गुरुङले आइतबार बिहान भने, ‘अहिले बिहान ९/१० बजे बैठक बस्छौँ, छलफल  गर्छाैं, हेरौँ अब के हुन्छ?’ 

यसअघि शनिबार साँझ बालुवाटारमै बसेको गठबन्धनको बैठक कुनै टुंगोमा नपुगी सकिएको थियो। 

शनिबार साँझ बसेको पाँचदलीय गठबन्धनका शीर्ष नेताहरूको बैठकले निर्वाचन परिणाम र आगामी दिशाबारे छलफल गरेको र थप छलफल आज बिहान गर्ने सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताएका छन्। 

‘निर्वाचनपछि विकसित राजनीतिक घटनाक्रमबारे गम्भीर रूपमा छलफल भएको छ र आगामी दिनमा कसरी जाने भन्नेबारे पनि छलफल भएको छ। जनताको अभिमतलाई सम्मान गर्दै अघि बढ्ने कुरामा पनि हामी सहमतिमा पुगेका छौँ’, मन्त्री कार्कीले भने। 

शनिबार मुख्यगरी अहिलेको राजनीतिक परिस्थीतिबारे छलफल गरिएको उनको भनाइ छ। अब बन्ने सरकारमा गठबन्धनले निरन्तरता पाउने पनि कार्कीले दाबी गरे। 

‘अहिलेको सन्दर्भमा प्रधानमन्त्री को पहिला हुने भन्ने कुरा गौण विषय हो। यसमा हलो अड्किन्न। मुलुकलाई अहिलेको जनताको आकांक्षाअनुसार कसरी अगाडि बढाउने भन्ने कुरा हो। गठबन्धनकै नेतृत्वमा सरकार बन्छ’, सञ्चारमन्त्री कार्कीले भने। 

शनिबारको बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरू सहभागी भएका थिए।  

नयाँ सरकार गठनका लागि सहमति गरिसक्न दलहरूलाई राष्ट्रपति कार्यालयले दिएको समय आज साँझ ५ बजे सकिँदै छ। निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचन २०७९ को परिणामसहितको प्रतिवेदन बुझाएपछि राष्ट्रपतिले सात दिनभित्र नयाँ सरकार गठनका लागि पुस ३ गते आह्वान गरेकी थिइन्। 

नयाँ सरकार गठनका लागि नेपालको संविधानको धारा ७६ को उपधारा (१) बमोजिम कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त नगरेपछि संविधानको धारा ७६ को उपधारा (२) अनुसार प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमतप्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई प्रधानमन्त्रीमा पदमा नियुक्ति गर्ने व्यवस्था छ। सोही व्यवस्थाअनुसार राष्ट्रपतिले पुस १० गते आइतबार साँझ ५ बजे भित्र दाबी पेस गर्न दलहरूलाई आह्वान गरेकी हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .