ad ad

राजनीति


जेल जीवनबारे केपी ओली– चुरोटको खोलमा कविता लेख्थेँ

जेल जीवनबारे केपी ओली– चुरोटको खोलमा कविता लेख्थेँ

नेपालखबर
पुस ८, २०७९ शुक्रबार १८:१८, काठमाडौँ

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेलमा बन्दी जीवन बिताउँदा चुरोटको खोलमा कविता लेख्ने गरेको बताएका छन्। 

पोखरामा जारी साहित्य महोत्सवमा शुक्रबार ‘राजनीतिबाहिर जीवन’ सत्रमा पत्रकार अखण्ड भण्डारीसँग सम्वाद गर्दै उनले भने, ‘गोलघरमा छँदा कागज भेट्टाउँदा पनि आफन्त भेटिएझैँ लाग्थ्यो।’

अर्कैले फ्याँकेको चुरोटको खोल र खिइएर सकिन लागेको सिसाकलमको सहारामा कविता लेखेर जेलभित्रै सुनाउने गरेको ओलीले स्मरण गरे। अन्यायमा परेका जेलरकै विषयमा कविता लेखेपछि उनैले कापी र कलमको जोहो गरिदिएको उनले सुनाए।

विसं २०४१ तिर राजनीतिक बन्दीका रूपमा पोखरा जेलमा रहँदा ओलीले लेखेको कविता ‘खर्पन’ केही वर्षअघि चर्चामा आएको थियो। ‘जेलअघि खर्पनमा सागसब्जी बोकेर आइरेको मानिस देखेपछि म आफूलाई उनी सम्झेर त्यो कविता लेखेको हुँ’, ओलीले भने, ‘जहाँ कविता लेख्यो त्यहीँ छोडेर हिँड्नुपर्दा कुनै रचना हराए, कुनै लुटिए।’

भूमिगत कालमा लेख, रचना साथमा बोकेर हिँड्ने स्थिति नहुँदा उचित ढङ्गले सङ्ग्रह हुन नसकेको उनको भनाइ छ। ओलीले बन्दी अवस्थामै १६ खण्ड लेखिसकिएको महाकाव्यपछि जेलबाटै गुमनाम पारिएको बताए।

‘सानैमा आमा गुमाउँदाको शोकलाई महाकाव्यको रूप दिन खोजिरहेको थिएँ, कृतिको नाम पनि आमा नै राख्ने सोच थियो, तर त्यसलाई पूरा गर्न सकिनँ, पछि त्यो यसै हरायो’, उनले भने, ‘जेलमा छँदाका फुर्सदिला दिनमा कविता, गीत, निबन्ध इत्यादि लेख्थेँ।’

उनले कला, साहित्य, सङ्गीत, चित्रकारिता, खेललगायत विधामा आफ्नो सानैदेखिको रुचि रहेको उल्लेख गरे। बन्दी जीवनमै सबैभन्दा बढी अध्ययन र लेखनमा बिताएको ओलीले बताए। उनले गोलघरमा रहेको पुस्तकालयका सबै पुस्तक एक वर्षमा पढेर सिध्याएको सुनाए।

पढ्नु भनेको थाहा पाउनु र लेख्नु भनेको ज्ञानलाई सङ्गठित गर्नु हो भन्ने मान्यता राख्ने ओलीले साहित्यलाई बैँसको रहरका रूपमा लिए त्यो गलत हुने बताए। उमेरमा जो कोही कम्युनिस्ट र कवि बन्छन् भन्ने गरिन्छ नि भन्ने पत्रकार भण्डारीको जिज्ञासामा ओलीले उक्त भाष्य गलत भएको धारणा राखे। 

‘काव्यमा व्यक्त हुने भावना र रसमा परिवर्तन आउन सक्छ तर कुनै उमेरको प्रभावले कला, साहित्यको मूल्य तलमाथि हुन सक्दैन’, उनले भने। 

फरक प्रसङ्गमा ओलीले आफू सत्यवादी भएको दाबी गरे। ‘निकम्मा भाग्यवादमा म विश्वास राख्दिनँ, म सत्यको पक्षपाती हुँ, सत्यसँग नलड्ने, शक्तिसँग नझुक्ने मेरो जीवनको आदर्श र मन्त्र हो’, उनले भने। 

ओलीले नेपालमा जन्मन पाएकामा भने आफूलाई सधैँ भाग्यमानी ठान्ने गरेको बताए। उनले राजनीतिबाहेक जीवनका अनेक पक्षबारे आफ्ना अनुभव र भोगाइ सुनाए। राजनीतिज्ञ मात्रै नभएर एउटा आम मानिसका रूपमा बाँचेको जीवनका अन्तरकुन्तर विषयलाई उनले रमाइलो शैलीमा अभिव्यक्त गरे। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .