निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको परिणामबारे उपराष्ट्रपति नन्दबहादुर पुनलाई जानकारी गराएको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष बुझाएको निर्वाचन परिणामसहितको प्रतिवेदन उपराष्ट्रपतिलाई बुझाउँदै आयोगले मंसिर ४ मा सम्पन्न निर्वाचन परिणामबारे जानकारी गराएको हो।
निर्वाचन परिणामबारे जानकारी गराउन प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियतासहित आयोगका पदाधिकारीहरु आज (बिहीबार) उपराष्ट्रपति भवन, हतिरगृह पुगेका थिए।
आयोगका पदाधिकारीसँग भेटमा उपराष्ट्रपति पुनले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन अधिकतम निष्पक्ष, भयरहित, स्वतन्त्र र शान्तिपूर्ण रुपमा सम्पन्न गरेकोमा धन्यवाद र बधाई दिए।
‘एउटा महान् उत्सवको रुपमा आएको निर्वाचन बढी भन्दा बढी निष्पक्ष, भयरहित र स्वतन्त्र रुपमा सम्पन्न भयो। यो निर्वाचन व्यवस्थित र भव्यरुपमा सम्पन्न गरेकोमा म निर्वाचन आयोगलाई बधाई र धन्यवाद दिन चाहन्छु,’ उनले भने, ‘अर्को कुरा यो निर्वाचन एकैपटक सम्पन्न हुनुले हाम्रो निर्वाचन गर्ने क्षमतामा वृद्धि भएको, आयोग पूर्ण सक्षम भएको र एकसाथ निर्वाचनका लागि हामीसँग साधनस्रोत रहेको सन्देश गएको छ।’
उपराष्ट्रपतिसँगको भेटमा प्रमुख निर्वाचन आयुक्त थपलियाले एकाध घटनाबाहेक निर्वाचन शान्त वातावरणमा सम्पन्न भएको बताए।
समानुपातिक सहितको अन्तिम परिणाम बुधबार घोषणा गरिएको र आजै राष्ट्रपतिसमक्ष प्रतिवेदन बुझाइएको जानकारी गराउँदै उनले संविधान बमोजिम प्रदेशका निर्वाचन परिणाम पुस २ गते प्रदेश प्रमुखहरुलाई बुझाइने बताए।
प्रमुख आयुक्त थपलियाले प्रत्यक्षबाट निर्वाचितहरुले प्रमाणपत्र पाइसकेका र समानुपातिकबाट निर्वाचितहरुलाई पुस ३ गते प्रमाणपत्र दिइने जानकारी गराए। उनले निर्वाचन सम्पन्न भएको अवसरमा आयोगले पुस ४ गते जलपान समारोह आयोजना गरेको जानकारी गराउँदै उपराष्ट्रपतिलाई विशिष्ट अतिथिको रुपमा उपस्थित भइदिन आमन्त्रणसमेत गरे।
सो अवसरमा निर्वाचन आयुक्तहरु ईश्वरीप्रसाद पौडेल, रामप्रसाद भण्डारी, डा. जानकीकुमारी तुलाधर, सगुन शमशेर जबरा तथा उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे लगायत उच्च अधिकारी सहभागी थिए।
Shares
प्रतिक्रिया