राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ससर्त सरकारमा जान तयार देखिएको छ। संसद् बैठक बस्ने तयारीसँगै नयाँ सरकार निर्माणको पहल भइरहेको बेला रास्वपा सरकारमा जान खुला देखिएको हो।
४ मंसिरको प्रतिनिधि सभा चुनावमा प्रत्यक्षतर्फ ७ र समानुपातिकतर्फ १३ सिटसहित जम्मा २० सिट जितेर संसदको चौथो शक्ति बनेको रास्वपालाई साथ लिएर सरकार बनाउने योजना कांग्रेस र एमाले दुवैको देखिन्छ।
सरकारमा जाने कि नजाने भन्ने विषयमा रास्वपाभित्र दुई धार छ। पदाधिकारीसहित केही सांसद अहिले सरकारमा जान नहुने वकालत गरिरहेका छन्। तर, अन्य सांसदहरु जनतासँग गरेका बाचा कार्यान्वयनका लागि पनि सरकारमा जानपर्ने धारणा राख्छन्।
यसै साता बस्न लागेको रास्वपाको केन्द्रीय समितिले यसबारे आधिकारिक निर्णय गर्ने सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले बताए।
‘जनतासँग गरेको बाचा पुरा गर्ने ठाउँ सरकार हो, त्यहाँबाट डेलिभरी गर्न सके काम हुन्छ,’ सरकारमा जानुपर्ने पक्षमा रहेका रास्वपाका एक नेताले नेपालखबरसँग भने, ‘यही संविधान र यही व्यवस्थाबाट ठूलो काम गर्न सकिन्छ।’
उनका अनुसार सभापति रवि लामिछाने सरकार निर्माणकै विषयमा केही दलसँग संवादमा छन्।
पछिल्लो एक हप्तामा लामिछानेले प्रमुख राजनीतिक दलका शीर्ष नेतासँग छलफल गरिसकेको र आइतबार र सोमबार पनि कांग्रेसका केही नेतासँग महत्वपूर्ण राजनीतिक भेटवार्ता गरेको एक पदाधिकारीले बताए।
‘पार्टी सभापतिले सरकारमा जाने विषयमा गम्भीर संवाद गरेको सूचना पाएको छु,’ ती नेताले नेपालखबरसँग भने, ‘त्यसबारे पार्टीभित्र जानकारी छैन, सायद अब बस्ने केन्द्रीय समितिको बैठकमा यो एजेन्डा बन्न सक्छ।’
लामिछानेले एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा र राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनसँग भेटवार्ता गरिसकेका छन्।
उनी निकट एक नेताले नेपालखबरलाई सभापति लामिछानेले संसदका प्रमुख दलका शीर्ष नेतासँग छलफल गरेको बताए।
‘शीर्ष दलका नेताहरुले सभापति रवि लामिछानेलाई बधाई दिइरहेका छन्,’ ती नेताले भने, ‘यही सातामा उहाँले बालकोट, खुमलटार र बालुवाटारमा छलफल गर्नुभएको छ।’
तर, प्रवक्ता डा. मुकुल ढकालले ती भेटघाट परिचयात्मक मात्रै भएको बताए।
‘छलफल, चिनापरिचय भइरहेको छ, हामीले सबै दलसँग हाम्रा एजेन्डाबारे जानकारी गराइरहेका छौँ,’ ढकालले भने, ‘अनौपचारिक छलफल भएकोले ठोस एजेन्डामा कुरै भएको छैन।’
उपसभापति डोलप्रसाद अर्यालले केन्द्रीय समिति बैठकको मिति र चार वटा एजेन्डा तय भएको बताए।
‘संसदीय दलको नेता चयन, संसदीय दलको विधान निर्माण, सरकारका विषय र केन्द्रीय समिति विस्तार लगायतका विषयमा छलफल गर्न शनिबार बैठक बस्छ,’ अर्यालले नेपालखबरसँग भने, ‘आज सभापति चितवन जानुभएको छ, उहाँ फर्किएलगत्तै बैठकबारे सबैलाई जानकारी दिन्छौं।’
पुरानै नेतृत्व मान्न तयार
रास्वपाका प्रवक्ता डा. ढकालले कुनै पनि दलले एकल बहुमत नल्याएका कारण मिलिजुली सरकार बन्ने र त्यहीँबाट आफ्ना बाचापत्रमा उल्लेख गरिएका विषय कार्यान्वयन गर्न सकिने सम्भावना रहेको बताए।
पुराना दलहरुले मुलुकको नेतृत्व गर्नै नसक्ने दाबी गर्दै आएको रास्वपा अहिले ती दलकै नेतृत्वमा सरकार जान तयार देखिएको हो।
‘अब पुरानै नेता हुँदा पनि उहाँहरुले हाम्रो विश्वास जित्नुपर्यो,’ डा. ढकालले भने, ‘संविधान जारी गरेर परिपक्व राजनीति गर्नुभएको छ। त्यसबेला राम्रो गरेका नेताहरुलाई हामीले नराम्रो भन्न मिल्दैन। फगत उहाँहरुले त्यही राम्रो कामलाई निरन्तरता दिनुभएन भन्ने प्रश्न हो।’
नयाँ अनुहार मात्र खोज्दा त्यसले नयाँ काम गर्छ नै भनेर ढुक्क र विश्वस्त हुन नसक्ने उनी बताउँछन्।
‘पुरानै नेताहरुप्रति हामीलाई शंका छ, त्यही भएर विश्वास दिलाउनुपर्यो, हामीले चाहेको नयाँ दिनसक्ने प्रतिबद्धता र इच्छाशक्ति देखाउनुपर्यो,’ ढकालले थपे, ‘अहिले भएकै पुराना पात्रहरुले कसरी ठोस आधार प्रस्तुत गर्छन्, त्यही खोजिरहेका छौँ। नयाँ अनुहार हुँदैमा नयाँ नै काम हुन्छ भन्ने होइन।’
दलहरुले अहिलेसम्म नयाँ गर्छाैँ भनेर विश्वस्त बनाउन नसकेको ढकालले बताए।
‘देशमा व्यक्ति भन्दा पनि प्रवृत्ति खराब देखियो, यो हटाउन जरुरी छ,’ उनले भने, ‘शिक्षा, स्वास्थ्य, रोजगारी लगायतका विषयमा अहिलेको ऐनले काम गर्दैन।’
रास्वपाले सुशासनका लागि नीतिगत सुधारलाई प्राथमिकता दिनुपर्ने बताएको छ। अहिले नै सरकारमा गएर पनि सुशासन दिन सकिने सो पार्टीका नेताहरुको मत छ। शिक्षाविद्, स्वास्थ्य क्षेत्रका जानकार, समाज रुपान्तरणका विषयमा अध्ययन गरेका नेताहरुको वर्चस्व रहेको भनिएको रास्वपाभित्रका केही नेताहरु मुलुकमा अहिले पनि नीतिगत सुधार सम्भव रहेको तर्क गर्छन्।
यसबाहेक विदेशमा बसेका नेपालीलाई मतदान अधिकार दिनुपर्ने रास्वपाको अर्काे माग छ।
संसदीय दलको नेतामा सर्वसम्मत हुँदैनन् रवि
रास्वपाको शनिबार केन्द्रीय समितिको बैठक बसे त्यही दिन संसदीय दल गठन हुने नेताहरु बताउँछन्। २० सांसद रहने दलको बोर्ड बैठकले दलको नेता चयन गर्नेछ।
संसदीय दलको नेता चयनमा प्रतिस्पर्धाको अभ्यास गर्ने प्रवक्ता ढकाल बताउँछन्।
‘संसदीय दलको नेता चयनमा प्रतिस्पर्धा हुन्छ, भोलिको लागि मिलाउन पनि प्रतिस्पर्धा गराउँछौं,’ उनले भने, ‘त्यसका लागि आवेदन माग गर्छाैँ। पार्टी सभापति रवि लामिछाने निर्विकल्प हुनुहुन्छ। तर, वैधानिक रुपमा रवि लामिछाने एक्लै होइन, भोलिका लागि यस्तो मानिस उठ्छ भनेर प्रक्रिया मिलाउँछौँ।’
रास्वपाले संसदीय मोर्चा र पार्टी मोर्चालाई अलगअलग चलाउन खोजेको छ। एउटै संरचनामा चलाउँदा समस्या पर्ने भएकोले अलग अलग चलाउने प्रस्ताव लैजाने उनी बताउँछन्।
केन्द्रीय समितिको मातहतमा पार्टी र संसदीय मोर्चा भए पनि संसदीय मोर्चालाई नीति नियममा केन्द्रित गर्नुपर्ने सुझाव नेताहरुले दिएका छन्।
रास्वपा मतदातामा आधारित पार्टी
नेताहरुका अनुसार रास्वपा मतदातामा आधारित पार्टी हो। संगठन नभएको, अन्य पार्टीका जस्ता कार्यकर्ता पनि धेरै नभएकोले अहिले यो पार्टी मतदाताकै आधारमा चलेको उनीहरुको तर्क छ।
‘नयाँ पार्टी, नयाँ विधान छ, यो पार्टी अन्य पार्टीजस्तो पुरानो होइन, २१ औँ शताब्दीको पार्टी हो,’ एक पदाधिकारीले दाबी गरे, ‘हाम्रो सोचाइ र दृष्टिकोण अन्य पार्टीभन्दा फरक छ।’
‘हाम्रो पार्टीमा सबै क्षेत्रका विज्ञहरु छन्। हरेक नेताहरुको विचार समेट्न पर्ने छ,’ ती नेताले थपे, ‘तर, राजनीतिक ज्ञान र अनुभव कम छ।’
Shares
प्रतिक्रिया