नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पार्टी अध्यक्ष केपी शर्मा ओेलीको नेतृत्वमा सरकार बनाउन अधिकतम् पहल गर्ने बताएका छन्।
उनले मंसिर ४ मा सम्पन्न निर्वाचनबाट कसैको बहुमत नआएकाले अब बहुमत जुटाएर ओलीलाई प्रधानमन्त्री बनाउन लाग्ने बताएका हुन्।
प्रेस चौतारी नेपालले सोमबार बिहान बुटवलमा गरेको पत्रकार सम्मेलनमा बोल्दै रुपन्देही २ बाट प्रतिनिधसभामा निर्वाचित पौडेलले यसो भनेका हुन्।
'निर्वाचनमा एजेन्डा र राष्ट्रहित सबै हिसाबले एमालेको बहुमत आउनुपर्ने हो आएन', उनले भने, 'तर हामीले ओेलीको नेतृत्वमा सरकार बनाउने प्रयास भने गर्छौँ।'
पौडेलले यो निर्वाचनमा कुनै पनि दलको बहुमत नआउनु देशका लागि दुर्भाग्यपूर्ण भएको उल्लेख गरे। उनले एमालेले सरकारको नेतृत्व नगर्दासम्म देशले सही निकास नपाउने दाबी गरे।
पौडेलले एमालेले मात्रै देशलाई सही ढंगले अघि बढाउन सक्ने दाबी गरे। ‘राजनीतिक स्थायित्व, विकास र समृद्धिका एजेण्डा लिएर एमाले चुनावमा गएको हो। एजेण्डाका हिसाबले एमालेले बहुमत पाउनुपर्ने हो तर पाएन,’ उनले भने, ‘हामी जनादेशको सम्मान गर्छौं, बहुमत नआए पनि एमाले प्यासिभ भएर बस्दैन, सशक्त भूमिका खेल्छ, एमालेले नेतृत्व नगर्दासम्म देश अघि बढ्न सक्दैन, विकासले गति लिन सक्दैन।’
पौडेलले अन्य दलका उम्मेदवारलाई मतदान गर्ने मतदातालाई पनि पराजित भएको महसुस नगर्न आग्रह गरे। उनले सबैको सुझाव लिएर रुपन्देहीको विकासमा लाग्ने वचन दिए।
Shares
प्रतिक्रिया