नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले अहिलेको चुनावबाट बनेको संसदीय संरचनाले मुलुक अस्थिरताको चक्रव्यूहमा फस्ने जोखिम भएको बताएका छन्।
रुपन्देही क्षेत्र नम्बर २ बाट निर्वाचित भएपछि आज बुटवलमा आयोजित पत्रकार भेटघाटमा पौडेलले कुनै पनि दलको स्पष्ट बहुमत नहुनु मुलुकको लागि दुर्भाग्य भएको उल्लेख गरे। ‘
हाम्रो दाबी हामीले बहुमत प्राप्त गर्नुपथ्र्यो। हामीले बहुमत प्राप्त नगरे अरु कसैले प्राप्त गर्नुपथ्र्यो,’ उनले भने, ‘विकास र समृद्धिको अभियानमा यो संसदीय संरचनाले प्रतिकुल प्रभाव पार्ने कुरा निश्चित छ। कुनै न कुनै अंक गणितको खेल हुने र मुलुक अस्थिरताको चक्रव्यूहमा फस्न सक्ने जोखिम हाम्रो सामुन्नेमा छ,’
पौडेलले मुलुकलाई स्थिरता विकास र समृद्धि तर्फ गर्न सक्ने एमालेले अधिकतम प्रयास गर्ने बताए। फेरि वामगठबन्धन हुन सक्छ कि सक्दैन भन्ने प्रत्रकारको प्रश्नमा उनले स्थिर सरकार गठबन्धनमा एमालेले अधिकतम पहल गर्ने र प्यासिभ भएर नबस्ने जानकारी दिए।
चुनावमा एमालेका शीर्ष टिमलाई कर्नर गर्ने प्रयास भएको उनको भनाई छ। ‘पार्टी नेतृत्वको कोर टिमलाई कर्नर गरेर किनारा पार्ने काफी कोशिस भएको हो। त्यो कोशिस कतिपय ठाउँमा सफल भयो। त्यसका बाबजुत केही ठाउँमा हामी निर्वाचित भयौं’ उनले भने, ‘संसदमा शसक्त भूमिका निर्वाह गर्न सक्ने कतिपय साथीहरु पराजित हुनुभएको छ। त्यो शसक्त टिमलाई संसदबाट बाहिर राखेर मात्रै एमालेलाई कमजोर पार्न सकिन्छ भन्ने सोच केही योजनाकारहरूको थियो।’
पौडेलले आफूलाई भोट दिने वा नदिने सबैप्रति समान व्यवहार गर्ने बताए। उनले रुपन्देहीलाई विकास र समृद्धिमा अघि बढाउन थप भूमिका खेल्ने बताए ।
Shares
प्रतिक्रिया