भेलु बाजेका नाममा परिचित प्युठानकै एकजना मतदाता मीनबहादुर बुढालाई २ हजार रुपैयाँ दिएको समाचार आएपछि नेकपा एमालेका उम्मेदवार सूर्यबहादुर थापालाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ।
प्युठानमा एमालेबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार थापालाई आयोगले शुक्रबार दोस्रो स्पष्टीकरण सोधेको हो।
भेलुबाजेलाई दुई हजार दिई आफ्नो निर्वाचन प्रचारप्रसार गराएको भन्ने समाचार प्रकाशन भएकोभन्दै आयोगले स्पष्टीकरण सोधेको हो।
'निर्वाचन आचारसंहिताका उल्लेखित व्यवस्थाको प्रतिकूल हुने गरी तपाईंले मीनबहादुर बुढा (भेलुबाजे) लाई नगद वितरण गर्नु भएको हो, होईन? भेलुबाजेलाई नगद रकम वितरण गरेको भए निर्वाचन आचारसंहिताको उल्लंघनमा तपाईंलाई किन कारवाही हुनु नपर्ने हो?', आयोगले भनेको छ, 'यो पत्र प्राप्त भएको २४ घण्टाभित्र निर्वाचन आयोगको इमेल या जिल्ला निर्वाचन कार्यालय प्युठानमा प्राप्त हुने गरी लिखित स्पष्टीकरण पेश गर्नुहुन निर्णयानुसार निर्देशन दिइएको छ।'
गत कात्तिक २८ मा थापाले दुई हजार रुपैयाँ दिएर भाइरल ‘भेलु बाजे’मार्फत भोट मागेको समाचार आएको थियो।
तर भेलु बाजेले तत्कालै बोली फेर्दै आफू माओवादीमै रहेको बताएका थिए। त्यसपछि उनी जनमोर्चाकी उम्मेदवार दुर्गा पौडेलको चुनावी प्रचारमा लागेका थिए।
यसअघि गत कात्तिक १२ गते पनि थापालाई स्पष्टीकरण सोधेको थियो। आयोगले थापालाई निर्वाचन प्रचारप्रसारका लागि बालबालिकाको प्रयोग गरेको श्रव्यदृश्य सामग्री प्राप्त भएपछि स्पष्टीकरण सोधेको थियो।
'निर्वाचन प्रचारप्रसारमा बालबालिकाको प्रयोग गर्नु हुँदैन भन्ने जानकारी हुँदाहुँदै तपाईंले सो कार्य गरेको देखिएकोले निर्वाचन आचारसंहिताको उल्लंघनमा तपाईंलाई निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) र (४) बमोजिमको कारवाही किन हुनु नपर्ने हो?', थापालाई आयोगले सोधेको स्पष्टीकरणमा भनिएको थियो।
Shares
प्रतिक्रिया