सत्ता गठबन्धनबीच टिकट बाँडफाँट गर्दा संघीय राजधानी काठमाडौं जिल्लाका १० मध्ये ६ निर्वाचन क्षेत्र नेपाली कांग्रेसको भागमा परेका छन्। काठमाडौंका १, ३, ४, ५, ६ र १० नम्बर क्षेत्रहरु भागबण्डाका क्रममा कांग्रेसको भागमा परेका हुन्।
कांग्रेसले काठमाडौं–१ मा प्रकाशमान सिंह, काठमाडौं–३ मा सन्तोष चालिसे, काठमाडौं–४ मा गगन थापा, काठमाडौं–५ मा प्रदीप पौडेल, काठमाडौं–६ मा भीमसेनदास प्रधान र काठमाडौं–१० मा राजेन्द्रकुमार केसीलाई प्रतिनिधिसभाको उम्मेदवार बनाएको छ।
यीमध्ये सिंह, थापा, प्रधान र केसी साविक विजेता हुन् भने चालिसे र पौडेल ‘डेब्यु’ उम्मेदवार हुन्।
चालिसे गोकर्णेश्वर नगरपालिकाका पूर्वप्रमुख र कांग्रेसका क्षेत्रीय सभापति हुन् भने पौडेल कांग्रेसका केन्द्रीय सदस्य हुन्।
कांग्रेसले काठमाडौंमा प्रतिनिधिसभा सदस्य उम्मेदवार बनाएका अन्य चारमध्ये तीनजना उम्मेदवार ‘ह्याट्रिक’ गर्ने दाउमा छन्।
‘ह्याट्रिक’ गर्ने दाउमा रहेका उम्मेदवार हुन्– थापा, प्रधान र केसी। सिंहले भने यसअघि नै काठमाडौं–१ बाट ‘ह्याट्रिक’ गरिसकेका छन्। उनी यसपटक चौथो जीत खोज्न प्रयासरत छन्।
गगन थापा
कांग्रेस महामन्त्री गगनकुमार थापा काठमाडौं–४ बाट प्रतिनिधिसभाका साविक विजेता हुन्। दोस्रो संविधानसभा निर्वाचनबाट विजेता बन्दै आएका उनी यसपटक तेस्रो जीत निकालेर ‘ह्याट्रिक’ गर्ने दाउमा छन्।
२०७० को संविधानसभा निर्वाचनमा नेकपा एमालेका उम्मेदवार निर्मल कुइँकेललाई पराजित गर्दै थापाले प्रत्यक्षतर्फबाट पहिलो पटक संसदीय यात्राको थालनी गरेका थिए। उक्त निर्वाचनमा थापाले २२ हजार ३६६ र कुइकेलले ९ हजर १३५ मत प्राप्त गरेका थिए।
२०७४ को प्रतिनिधिसभा निर्वाचनमा थापाले एमालेका विदेश विभाग प्रमुख डा. राजन भट्टराईलाई हराएर दोस्रो जीत निकालेका थिए। २१ हजार ५५८ मत ल्याएर थापा विजयी हुँदा भट्टराईले १८ हजार १४० मत पाएका थिए। तेस्रो भएको विवेकशील साझाकी सुबुना बस्नेतले ३ हजार ४० मत ल्याएकी थिइन्।
निर्वाचन क्षेत्र नम्बर ४ मा काठमाडौं महानगरपालिकाका वडा नम्बर १, ७, ८ र ३० समेटिएका छन्। यसका साथै बूढानीलकण्ठ नगरपालिकाका १, २, ८, ९, १०, ११, १२ र १३ नम्बर वडाहरु पनि ४ नम्बर क्षेत्रमा पर्छन्। स्थानीय तह निर्वाचनको मतपरिणामले काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ मा एमालेलाई पहिलो स्थानमा देखाएको छ।
स्थानीय तह निर्वाचन २०७९ मा वडाध्यक्षका उम्मेदवारले पाएको मतका आधारमा एमालेको १६ हजार ५०७, कांग्रेसको १५ हजार ७६३, नेकपा एकीकृत समाजवादीको २ हजार ४१४, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को २ हजार २९३, नेकपा माओवादी केन्द्रको ८४४ मत छ।
भीमसेनदास प्रधान
पूर्वरक्षामन्त्री भीमसेनदास प्रधान पनि काठमाडौं–६ का साविक विजेता हुन्। २०७४ को निर्वाचनमा नेकपा माओवादी केन्द्रका झक्कुप्रसाद सुवेदीलाई हराउँदै उनले दोस्रो जीत निकालेका थिए। प्रधान १६ हजार ७८५ मत पाएर विजयी हुँदा सुवेदीले १५ हजार ४८५ मत पाएका थिए।
यसअघि उनले २०७० मा एमालेका योगेशकुमार भट्टराईलाई पराजित गरेर पहिलो पटक संविधानसभाको यात्रा तय गरेका थिए। उक्त निर्वाचनमा प्रधानले १४ हजार १५१ र भट्टराईले १२ हजार ८७५ मत ल्याएका थिए।
प्रधान काठमाडौं–६ बाट तेस्रो जीत निकालेर ‘ह्याट्रिक’ गर्ने दाउमा छन्। उनको दाउमा एमालेले प्रतिनिधिसभा सदस्य उम्मेदवार बनाएका नेपाल प्रहरीका पूर्व एआईजी सर्वेन्द्र खनालले कस्तो चुनौती दिन्छन् भन्ने बारे जान्न मंसिर ४ कुर्नै पर्ने हुन्छ।
स्थानीय तह निर्वाचन परिणामले यहाँ कांग्रेसलाई पहिलो देखाएको छ। काठमाडौं–६ मा कांग्रेसको पक्षमा १४ हजार ४०३ र एमालेको पक्षमा १२ हजार ६६५ मत खसेको छ।
यो निर्वाचन क्षेत्रमा काठमाडौँ महानगरपालिकाका २६, २७ र २८ नम्बर वडाहरु समेटिएका छन्। साथै, तारकेश्वर नगरपालिकाका १, २, ६, ७, ८, ९, १० र ११ नं. वडा यो निर्वाचन क्षेत्रमा पर्छन्। टोखाका १, ८, ९, १० र ११ नम्बर वडाहरु पनि यही निर्वाचन क्षेत्रमा पर्छन्।
राजेन्द्रकुमार केसी
काठमाडौं जिल्लाबाट लगातार तेस्रो जीत निकालेर ‘ह्याट्रिक’ गर्ने दाउमा रहेका कांग्रेसका तेस्रो नेता हुन्– राजेन्द्रकुमार केसी। उनी काठमाडौं–१० बाट २०७० देखि लगातार निर्वाचन जित्दै आएका छन्।
२०७० मा एमालेका सुरेन्द्र मानन्धरलाई पराजित गर्दै केसीले पहिलो पटक संसदीय यात्रा तय गरेका थिए। उनी २० हजार ३९२ मतसहित संविधानसभा सदस्यमा निर्वाचित हुँदा मानन्धरले १३ हजार ६१९ मत पाएका थिए।
केसी २०७४ को प्रतिनिधिसभा निर्वाचनमा यही क्षेत्रबाट दोस्रो पटक विजयी भएका थिए। २०७४ को निर्वाचनमा केसी २४ हजार १९० मतसहित प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुँदा निकटतम् प्रतिद्वन्द्वी माओवादीका हितमान शाक्यले २१ हजार ९०७ मत प्राप्त गरेका थिए।
काठमाडौं–१० मा चन्द्रागिरी नगरपालिकाका २, ३, ४, ५, ६, ७, ८, ९, १०, ११, दक्षिणकाली नगरपालिका र कीर्तिपुर नगरपालिकाको भूगोल समेटिएको छ। कांग्रेस नेता केसी यिनै वडाका मतदाताको जनमत लिएर ‘ह्याट्रिक’ गर्ने सोचमा छन्।
तर, यहाँ उनको ‘ह्याट्रिक’ मा सत्ता गठबन्धनमै रहेका माओवादी नेतृ अञ्जना बिशंखे अवरोधका रुपमा देखिएकी छन्। बिशंखेले पनि काठमाडौं–१० मा माओवादीका तर्फबाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवारी दिएकी छन्।
स्थानीय तह निर्वाचन २०७९ मा वडाध्यक्षका उम्मेदवारले पाएको मतका आधारमा काठमाडौं–१० मा कांग्रेस एमालेभन्दा चार हजारभन्दा बढी मतले अगाडि देखिन्छ।
आयोगका अनुसार स्थानीय तह निर्वाचनमा यो क्षेत्रमा पर्ने वडाका वडाध्यक्षका उम्मेदवारले पाएको मतका आधारमा कांग्रेसको २४ हजार ६७५, एमालेको १८ हजार ८३८, माओवादीको ४ हजार ९४२, राप्रपाको २ हजार ४९६, एकीकृत समाजवादीको १ हजार ३४२ मत छ।
ह्याट्रिक गर्ने दाउमा रहेका कांग्रेस नेताहरुका लागि मुख्य चुनौतीका रुपमा एमालेका उम्मेदवार एवं कतिपय क्षेत्रमा स्वतन्त्रहरु समेत देखा परेका छन्। क्षेत्र नम्बर १ मा राप्रपामा रविन्द्र मिश्र र १० नम्बरमा माओवादीकी बागी उम्मेदवार अञ्जना बिसंखे पनि कांग्रेसका लागि चुनौती हुन्।
नेकपा एमालेले काठमाडौं १ मा किरण पौडेल, २ मा मणिराम फुँयाल, ३ मा कृष्णकुमार राई, ४ मा डा. राजन भट्टराई, ५ मा ईश्वर पोखरेल, ६ मा सर्वेन्द्र खनाल, ७ मा श्याम घिमिरे, ८ मा शिवराज वैद्य, ९ मा कृष्णगोपाल श्रेष्ठ र क्षेत्र नम्बर १० मा हिमेष केसीलाई उठाएको छ।
Shares
प्रतिक्रिया