नेकपा (एमाले)ले गरेको गठबन्धन अपवित्र भएको नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले बताएका छन्।
अध्यक्ष नेपालले गणतन्त्र र संविधान जोगाउने काम गरेकाले सत्तारुढ गठबन्धन भने पवित्र भएको दाबी गरे। सत्तारुढ गठबन्धनले मंगलबार ललितपुरमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा बोल्दै उनले एमालेले बनाएको विपक्ष गठबन्धन भने अप्राकृतिक तथा अपवित्र दुवै भएको जिकीर गरे।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान कुल्चिने र लोकतन्त्र मास्ने कामलाई रोक्नका लागि गठन भएकाले सत्तारुढ गठबन्धन प्राकृतिक र पवित्र रहेको अध्यक्ष नेपालको तर्क थियो। उनले जहानिँया राणा शासनको अन्त्य गर्ने, पञ्चायती निरंकुशता अन्त्य गर्न सफल काँग्रेस र कम्युनिष्टहरुबीचको गठबन्धन अव पनि सफलताको विन्दुमा पुगी छाड्ने बताए।
अध्यक्ष नेपालले भने, ‘पहिलो कुरा गठबन्धनको बारेमा प्रश्नहरु उठलान्। यो गठबन्धन प्राकृतिक हो कि अप्राकृतिक? यो प्रश्न खडा हुन्छ। अर्को विपक्ष जुन गठबन्धन बनाएका छन्। त्यो पवित्र गठबन्धन होकी अपवित्र गठबन्धन? यहाँ प्राकृतिक, अप्राकृतिक मात्र होइन। यो नेचुरल पनि हो र पवित्र पनि हो। अर्को हाम्रो जुन विपक्षको गठबन्धन छ। त्यो अननेचुरल पनि हो। र, अपवित्र पनि हो। पहिलो हाम्रो गठबन्धन गणतन्त्र र संविधान जोगाउनका लागि भएको हो।’
उनले दुई दुई पटक संविधान कुल्चने काम भएको भन्दै मुलुकलाई अस्थिरतातर्फ लैजाने प्रयत्नविरुद्ध पाँचदलीय गठबन्धन बनेकाे र त्यसले संविधान जाेगाएकाे बताए।
नेपालले भने, ‘जबर्जस्ती समयभन्दा पहिले नै अधिकार मागेर प्रधानमन्त्रीले प्रतिनिधिसभा भंग गर्ने काम गरेको थिए तत्कालीन प्रधानमन्त्रीले। त्यसको विपक्षमा हामी उभियौं। देशको संविधान जोगायौं। संविधान मात्रै जोगाएको होइन, लोकतन्त्र पनि जोगायौं। जुन हिसावबाट मुलुक अधिनायकवादको बाटोमा जाँदै थियो। संविधानको आफूखुशी व्याख्या गर्दै, तोडमरोड गर्दै, अपब्याख्या गर्दै जाने प्रवृत्ति देखिएको थियो। त्यसलाई हामीले ठिक लिगमा बसाल्यौं। गणतन्त्र पनि मास्ने अभियान सुरु हुन खोज्दै थियो। त्यसलाई पनि जोगाउने काम हामीले गर्यौं। अस्थिरताको अवस्थाबाट देशलाई जोगाएर स्थिरताको बाटोमा लग्यौं।’
उनले थपे, ‘यसरी पवित्र उद्देश्यका साथ यस्ता पार्टीहरुसँग हामीले गठबन्धन गर्यौं। जुन पार्टीबीच एकताको लामो परम्परा रहँदै आएको छ। राणाशाहीको विरुद्धमा नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी मिलेपछि मात्रै हामीले राणाशासनलाई धराशायी बनाउन सक्यौं। पञ्चायती निरंकुशतालाई पनि यी दुईटा पार्टी नमिलेसम्म हामीले पराजित गर्न सकेका थिएनौं। जुन दिन हामीले मिलेर, एकतावद्ध भएर आन्दोलन सुरु गर्यौं। यो सफलताको शिखरमा पुग्यो।’
अध्यक्ष नेपालले सत्तारुढ गठबन्धनलाई विजयी गराउनका लागि एकतावद्ध भएर अगाडि बढ्न पनि गठबन्धनमा आवद्ध दलका नेता, कार्यकर्तालाई निर्देशन दिए। गठबन्धनको तर्फबाट आगामी निर्वाचनका लागि साझा प्रतिवद्धता पत्र कात्तिक २ गते (भोलि) सार्वजनिक हुने भन्दै उनले जनताको घरदैलोमा पुगेर त्यसको प्रचार अभियानलाई तीव्रता दिनुपर्ने बताए।
अध्यक्ष नेपालले भने, ‘गठबन्धनका उम्मेदवारहरुलाई विजयी गराउनका लागि तपाईहरु एकतावद्ध भएर, योजनावद्ध भएर अवश्य पनि सफलताको विन्दुमा पुर्याउनु हुनेछ भन्ने मैले आशा र विश्वास लिएको छु। हाम्रो सहकार्य जति सशक्त हुँदै जानेछ, जति धेरै हामी समन्वय गर्दै जानेछौं। जति धेरै हामी जनताको माझमा पुग्नेछौं। हाम्रो विजय त्यति सुनिश्चित हुनेछ।’
अध्यक्ष नेपालले मुलुकको शासन संचालनमा त्रुटी, कमीरहेको औंल्याउँदै त्यसलाई सुधार गरेर अघि बढन पनि सरकारलाई सुझाव दिए।
Shares
प्रतिक्रिया