मंसिर ४ मा हुने चुनावका लागि टिकट वितरणप्रति असन्तुष्टि जनाउँदै मोरङमा एमाले छाड्नेको लर्को लागेको छ। टिकट वितरणप्रति असहमति प्रकट गर्दै शनिबार बिहान एमाले मोरङ सचिव रुपेश खतिवडाले राजीनामा दिए भने साँझ नेकपा एमाले प्रदेश १ सचिवालय सदस्य डिल्लीराम शर्मा अधिकारीले पार्टीबाट राजीनामा दिएका छन्।
शर्माले राजीनामा दिएसँगै केराबारी र लेटाङका तल्ला कमिटीहरूले सामूहिक राजीनामा बुझाउन थालेका छन्। मोरङको केराबारी गाउँपालिका वडा नम्बर २ को एमालेको वडा कमिटी नै पार्टीबाट राजीनामा दिएको छ। केराबारी गाउँकमिटीलाई सामूहिक राजीनामा बुझाउँदै वडा कमिटीले मोरङ क्षेत्र नम्बर १ (ख) को टिकट वितरणमा एकलौटी र मनोमानी ढंगले जनभावनाविपरीत उम्मेदवारलाई टिकट दिइएको आरोप लगाएका छन्।
वडाध्यक्ष देवीलाल लिम्बु, उपाध्यक्ष पृतबहादुर लिम्बु, सचिव शेरबहादुर लिम्बु, उपसचिव लक्ष्मी राई, विपिन राईसहित १९ जनाले एमालेबाट राजीनामा दिएका हुन्।
डिल्ली राम शर्माले बुझाएको राजीनामापत्रमा आगामी मंसिर ४ गते हुने निर्वाचनमा मोरङ क्षेत्र नम्बर १ (ख) बाट प्रदेश सभा सदस्यमा उम्मेदवारीका लागि स्थानीय पार्टी कमिटीबाट सिफारिस भएकोमा पार्टीका केही व्यक्तिको व्यक्तिगत स्वार्थका कारण टिकट वितरण पूर्वाग्रही ढंगले गरिएको आरोप लगाइएको छ।
उनले राजीनामा दिँदै स्थानीय पार्टी कमिटी, नेता/कार्यकर्ताका सल्लाह, सुझाव र आग्रहविपरीत टिकट वितरण गरिएकाले स्वीकार गर्न नसकिने उल्लेख गरेका छन्।
शर्मा मोरङ क्षेत्र नम्बर १ बाट प्रदेश सभा सदस्यका लागि उम्मेदवारीको आकांक्षी थिए। उनको ठाँउमा पार्टीले खड्गबहादुर बस्नेतलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
Shares
प्रतिक्रिया