२०४६ सालको जनआन्दोलनताका घनश्याम भुसाल अनेरास्वियूको महासचिव थिए। त्यसबेला युवा, विद्याथीलाई मात्रै नभइ पाका पुस्तालाई पनि उनको भाषणले तान्थ्यो।
२०४४ देखि ०४८ सम्म विद्यार्थी संगठनको महासचिव रहेका भुसाल २०५० सालदेखि ०५४ सालसम्म एमाले रुपन्देहीको सचिव भए।
पार्टीको जिल्ला प्रमुख भएकै बेलामा २०५१ को चुनावमार्फत पहिलो पटक संसदीय यात्राको लागि प्रयास गरे।
जिल्लाको पूर्वी भेग पर्ने रुपन्देही क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभाको लागि उम्मेदवार बनेका भुसाल कांग्रेसका दुर्योधनसिंह चौधरीसँग पराजित भए।
तर संसद प्रवेश गर्न उनलाई ५ वर्ष पर्खनु परेन। २०५३ सालमा तत्कालीन रुपन्देही क्षेत्र नम्बर २ का एमाले सांसद धनपति उपाध्यायको निधन भयो।
उपाध्यायको निधनपछि भएको उपचुनाव लड्न एमालेले भुसाललाई टिकट दियो। भैरहवा र आसपासको क्षेत्र समेटिएको तत्कालीन रुपन्देही २ बाट चुनाव जितेर झण्डै २ वर्षका लागि सांसद बन्न पाए।
उनको सांसदको पहिलो कार्यकाल सकिँदा एमाले दुई चिरा भइसकेको थियो। उनी सहाना प्रधान र वामदेव गौतम नेतृत्वको नेकपा मालेमा थिए।
२०५६ सालको चुनावमा रुपन्देही २ बाटै मालेका उम्मेदवार बनेका भुसाल कांग्रेसका रामकृष्ण ताम्राकारसँग पराजित भए। तारा चुनाव चिन्ह लिएका मालेका उम्मेदवारले त्यसबेला देशभरमा एक सिट पनि जितेनन्।
०५६ मा भुसालले पहिलो पटक सूर्य चिन्ह छोडेर चुनाव लड्नुपरेको थियो। पछि एमाले र माले एक भए।
२०६४ सालको संविधान सभाको चुनावमा भुसाल प्रत्यक्षतर्फ उम्मेद्वार बनेनन्। समानुपातिकबाट सभासद भएका उनी केही समय झलनाथ खनाल नेतृत्वको प्रधानमन्त्रीकालमा विनाविभागीय मन्त्री भए।
२०६५ सालको आठौ महाधिवेशनबाट एमालेको केन्द्रीय सदस्यमा निर्वाचित उनी हालसम्म पार्टीको केन्द्रमा थिए। २०७० सालको चुनावमा तत्कालीन रुपन्देहीको क्षेत्र नम्बर ३ बाट उम्मेदवार बनेका थिए।
यो क्षेत्र बुटवल र भैरहवाको विच भागमा पर्दथ्यो। त्यसबेला कांग्रेसका बालकृष्ण खाणसँग कडा प्रतिस्प्रधा गरेका उनी ८७ मतले पराजित भएका थिए।
२०७१ सालमा भएको नवौं महाधिवेसनबाट उनी पार्टीको उपमहासचिवमा निर्वाचित भए।
भुसाल माधव नेपाल खेमाबाट उपमहासचिवमा निर्वाचित हुँदा केपी शर्मा ओली पक्षबाट रुपन्देहीकै विष्णु पौडेल पनि त्यही पदमा निर्वाचित भएका थिए।
रुपन्देहीमा २ जना एमाले उपमहासचिव भए पनि जिल्लाको पार्टी संगठनमा घनश्यामको भन्दा विष्णुकै प्रभाव बढी थियो।
जिल्लामा निर्वाचन क्षेत्र घटेपछि २०७४ सालको चुनावमा पुनः उनी भैरहवा र आसपासको ठाउँ समेटिएको अहिलेको रुपन्देही ३ बाट उम्मेदवार बने।
कांग्रेसको समर्थनमा उम्मेदवार बनेका राप्रपाका दीपक बोहोरालाई हराउँदै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भए।
केही समय केपी ओली नेतृत्वको सरकारमा कृषिमन्त्री बने। २०७७ पुसमा ओलीले संसद विघटन गरेपछि मन्त्रीबाट राजीनामा दिएर ओलीको कदमविरुद्धको आन्दोलनमा लागेका थिए।
सर्वोच्च अदालतको आदेशबाट प्रतिनिधि सभा पुनस्थापना भएपछि माधवकुमार नेपालले पार्टी विभाजन गरि एकीकृत समाजवादी गठन गरे।
विभाजनअघि निरन्तर साथ दिएका भुसाल माधवसँग समाजवादीमा नगई एमालेमै बसे। तर ओली र पार्टी नेतृत्वको आलोचना भने गर्न छोडेनन्।
अघिल्लो वर्ष भएको नेकपा एमालेको महाधिवेशनमा ओलीको इच्छाविपरित उपाध्यक्षमा उम्मेदवारी दिए।
विजयी हुन नसके पनि अध्यक्षमा उम्मेद्वारी दिएका भिम रावल र उपाध्यक्षमा उम्मेद्वार बनेका भुसालले एमालेमा लोकतान्त्रीक प्रक्रियालाई बचाएको टिप्पणी गरिएको थियो।
दसौं महाधिवेशनपछि पार्टीमा स्थायी कमिटी सदस्य रहेका भुसालले नेतृत्वको आलोचना गर्न भने छोडेनन्। ओलीको आलोचना गरेकाले अघिल्लो पटक आफूले जितेको क्षेत्रबाट टिकट पाएनन्।
पाँच वर्षअघि आफूले पराजित गरेका राप्रपाका दीपक बोहोरालाई एमालेले सहयोग गरेपछि अन्ततः भुसालले पार्टी परित्याग गरेका छन्।
हुन त घनश्याम भुसालले २ नम्बर नभई आफ्नो गृहक्षेत्र रहेको रुपन्देही १ बाट चुनाव लड्न चाहन्थे।
दुवै क्षेत्रीय कमिटीले भुसालको नाम सिफारिस गरका थिए। पछि जिल्ला र प्रदेश कमिटीले २ नम्बर क्षेत्रमा मात्रै सिफारिस कायम गरेका थिए।
१ नम्बर क्षेत्र छविलाल विश्वकर्मा नै उम्मेदवार बने। तर उनले क्षेत्र नम्बर २ का लागि पनि टिकट पाएनन्।
शनिवार एमाले पार्टी छोडेको घोषणा गरेका घनश्याम आफूले चाहेको रुपन्देही १ बाट स्वतन्त्र उम्मेदवार बन्ने बताएका छन्।
अर्कोतर्फ माओवादी केन्द्रले आफ्नो चुनाव चिन्हबाट लड्न आग्रह गरेको छ।
माओवादीको चिन्ह लिएर होस वा स्वतन्त्र जे भएपनि उनी रुपन्देही १ बाट चुनाव लड्ने छन्। जुन क्षेत्रमा २०५१ को संसदीय चुनावमा उनी उम्मेदवार बनेका थिए।
एमाले छोडेर २८ वर्षपछि चुनाव लड्न भुसाल पूर्वतिर फर्किँदै छन्। २०५६ सालमा मालेमा रहँदा पहिलो पटक सूर्य चिन्ह छोडेर चुनाव लडेका घनश्याम भुसाल दोस्रो पटक यो चिन्ह छोड्दै छन्।
Shares
प्रतिक्रिया