सत्ता गठबन्धनमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को प्रवेशसँगै नेकपा एकीकृत समाजवादी पार्टीका नेता रामचन्द्र झाको प्रतिनिधिसभा यात्रा अहिले नै रोकिएको छ।
धनुषा क्षेत्र नम्बर २ बाट निर्वाचन लड्दै आएका झाले गठबन्धनबाट टिकट पाउने सम्भावना नदेखिएपछि धनुषा ३ बाट पनि लड्न तयार भएका थिए।
धनुषा २ नेपाली कांग्रेसले लिने अडान कसेपछि त्यहाँ उनले टिकट पाउने सम्भावना क्षीण भयो। कांग्रेसले त्यहाँबाट पूर्व सांसद रामकृष्ण यादवलाई लडाउने तयारी गरिरहेको छ।
धनुषा ३ मा मजबुत उम्मेदवार खोजीमा रहेको सत्ता गठबन्धनबाट नेकपा एकीकृत समाजवादी पार्टीका नेता एवम् पूर्वमन्त्री झालाई उठाउने तयारी थियो।
यद्यपि जनता समाजवादी पार्टी (जसपा) सत्ता गठबन्धनबाट बाहिरिएपछि लोसपाले सत्ता गठबन्धनमा प्रवेश पाएको थियो।
लोसपाको प्रवेशसँगै धनुषा ३ लोसपालाई नै दिने लगभग सहमति भइसकेको छ। लोसपाले धनुषा ३ बाट वरिष्ठ नेता राजेन्द्र महतो वा अनिलकुमार झामध्ये एकलाई लडाउने तयारी गरिरहेको श्रोतले जनाएको छ।
महतो धनुषा ३ बाट नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिलाई पराजित गर्दै २०७४ सालको निर्वाचनमा प्रतिनिधिसभामा पुगेका थिए।
कुनै पनि क्षेत्रबाट टिकट पाउन नसकेका नेता झा नेकपा एमालेबाट २०५१ सालमा प्रतिनिधि सभाको निर्वाचनमा पहिलो पटक निर्वाचित भएका थिए।
त्यसपछि २०६४ सालको संविधानसभाको चुनावमा समेत नेकपा एमालेबाट निर्वाचित भएका थिए।
संविधान सभामा निर्वाचित भएपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’को नेतृत्वमा बनेको सरकारमा स्थानीय विकास मन्त्री समेत बनेका थिए।
२०७० सालको निर्वाचनमा उनी नेकपा माओवादी केन्द्रबाट चुनाव लडे पनि पराजित भएका थिए। २०७४ सालको चुनावमा फेरि माओवादीबाट चुनाव लडेका उनी पराजित भएका थिए।
नेकपा एमालेबाट राजनीति गरेका झा एमालेको धनुषा जिल्ला सचिव हुँदै केन्द्रीय समितिमा पटक–पटक निर्वाचित हुँदै पोलिटब्युरो सदस्य समेत भएका थिए।
२०४६ सालको जनआन्दोलनमा नेकपा एमालेको ब्यानरमा आन्दोलन नेतृत्व गरेका उनले २०६२/६३ सालको जनआन्दोलनको पनि अगुवाइ गरेका थिए।
धनुषासहित मधेशका विभिन्न जिल्लामा कम्युनिस्टको संगठन बनाउन उनले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन्। पछि एमाले परित्याग गर्दै माओवादी, नयाँ शक्ति, फेरि माओवादी हुँदै अहिले उनी एकीकृत समाजवादीको सचिवालय सदस्य हुन्।
Shares
प्रतिक्रिया