प्रगतिशील पत्रकार संघले संसदमा विचाराधीन नेपाल मिडिया काउन्सिल विधेयक खारेज गर्न माग गरेको छ।
हालै दाङको भालुवाङमा बसेको संघको बैठकले सो विधेयकका कतिपय प्रावधानले वाक तथा प्रकाशन स्वतन्त्रता हनन् गरेको भन्दै खारेज गर्न माग गरेको छ।
संयोजक श्यामलाल पोखरेलले आज (असोज ४ गते) विज्ञप्ति जारी गरी मिडिया काउन्सिल विधेयक खारेजीको माग गरेका हुन्।
सो विधेयक गत भदौ १८ गते प्रतिनिधिसभामा टेबुल भएको थियो। २७ वैशाख ०७६ मा दर्ता भएको विधेयक राष्ट्रिय सभाले पारित गरेर प्रतिनिधिसभामा पठाएको थियो।
तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटाले मिडिया काउन्सिल विधेयक संसदमा दर्ता गर्दा व्यापक विरोध भएको थियो। जसका कारण राष्ट्रिय सभाले परिमार्जनसहित विधेयक पारित गरेको थियो।
‘बैठकले राष्ट्रियसभाले पारित गरेर प्रतिनिधि सभामा पठाएको मिडिया काउन्सिल विधेयकको विरोध गर्ने गरेको छ। समाचार लेखेकै कारणमा अपराधीलाई झैँ लामो अवधिको सजाय प्रस्तावित गरिएको उक्त विधेयक गलत छ’ विज्ञप्तिमा भनिएको छ, ‘त्यस्तै, विधेयकमा प्रेस स्वतन्त्रता विरुद्ध कैयौँ गम्भीर आपत्तिजनक विषयहरू समावेश गरिएका छन्। हाम्रो सङ्गठन उक्त विधेयक खारेजीको माग गर्दछ।’
भौतिक उपस्थितिसहित भर्चुअल दुवै माध्यमबाट बसेको सो बैठकले संघको राष्ट्रिय सम्मेलन आगामी फागुनमा गर्ने लगायतका महत्वपूर्ण निर्णय गरेको संयोजक पोखरेलले बताएका छन्।
Shares
प्रतिक्रिया