प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध सोमबार एक कार्यक्रममा नाराबाजी गर्ने तीनजना पक्राउ परेका छन्।
महानगरीय प्रहरी परिसरका अनुसार पक्राउ पर्नेहरुमा सोम शर्मा, अर्जुन पौडेल र दीपक खड्का रहेका छन्।
उनीहरु तीनैजनालाई प्रहरीले अहिले कमल पोखरी प्रहरी वृत्तमा राखेको छ। कुनै दलसँग उनीहरुको संलग्नता खुलिनसकेको प्रहरीले जनाएको छ।
विवादित बनेको नागरिकता विधेयक राष्ट्रियसभामा विचार गरियोस् भनेर प्रस्ताव भइरहँदा देउवा सोमबार राष्ट्रिय विभूति भीमसेन थापा स्मृति प्रतिष्ठानले गरेको एक अन्तरक्रिया कार्यक्रममा सहभागी हुन पुगेका थिए।
प्रज्ञा प्रतिष्ठान कमलादीमा भएको उक्त कार्यक्रममा देउवाले बोल्न मञ्चबाट पोडियममा जानै लाग्दा उनीहरुले नाराबाजी गरेका थिए।
देउवा पोडियमतर्फ अघि बढ्नेबित्तिकै हलको पछिल्लो ढोकातिरबाट 'नागरिकता विधेयक खारेज गर, खारेज गर' भन्दै उनीहरुमध्ये एकजनाले प्लेकार्डसहित नाराबाजी गरेका थिए।
नागरिकता विधेयकविरुद्ध नाराबाजी गरेका युवकलाई त्यहाँ तैनाथ सुरक्षाकर्मी र स्वयंसेवकले तत्कालै नियन्त्रणमा लिएका थिए। तर नियन्त्रणमा लिँदा पनि ती युवकले देउवाविरुद्ध नारा लगाइरहे।
ती युवकलाई नियन्त्रणमा लिइसकेको अवस्थामा हलबाटै अर्का व्यक्ति नाराबाजी गर्दै निस्किए। उनले देउवालाई एमसीसीको मतियार भन्दै आलोचना गर्दै नारा लगाएका थिए।
प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्नेहरु यसअघि पनि विभिन्न आन्दोलनमा सहभागी भइरहने गरेको प्रहरी स्रोतले जनाएको छ।
उनीहरु यसअघि एमसीसीविरुद्धको आन्दोलनमा पनि सहभागी भएका थिए। ती युवकहरू यसअघि विभिन्न आन्दोलनमा देखिइरहने हेमराज थापा नामका युवकसँग सम्वद्ध रहेको प्रहरीले उल्लेख गरेको छ।
Shares
प्रतिक्रिया