रुपन्देहीको तिलोत्तमामा केही दिनदेखि देखिएको विवाद सहमतितर्फ उन्मुख भएको छ।
सोमबार साँझ दुवै पक्ष बसेपछि विवाद मिल्ने दिशातर्फ गएको हाे। प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा लागेको ताला पनि हिजै खुलाइएको छ।
आज बिहान ११ बजे बस्ने नगरसभा बैठकबाट बजेट पारित गर्ने सहमति भएको छ।
याे खबर लेखिरहँदा नगरसभाको कार्यसूची बनाउन नगर कार्यपालिकाको बैठक बसिरहेको छ।
तिलोत्तमा नगरपालिकामा कांग्रेस र एमालेबीच विवादले बजेट पारित हुन सकेको थिएन। नाराबाजी, झडपसम्मको अवस्था आएको थियो।
आइतबार नगरप्रमुख रामकृष्ण खाँणले गणपूरक संख्या नपुगेको भन्दै नगरसभा बैठक स्थगन गरेका थिए।
एमालेका जनप्रतिनिधिले आफूहरु उपस्थित भए पनि हाजिर गर्न नदिएर बैठक स्थगन गरिएको भन्दै विराेध प्रदर्शन गरेका थिए।
उनीहरुले प्रमुख प्रशासकिय अधिकृत जीवन ज्ञवालीले आफूहरुलाई हाजिर गर्न नदिएको आरोप लगाउँदै हलभित्र थुन्न खोज्दा प्रहरीले हस्तक्षेप गरेको थियो।
त्यस क्रममा तिलोत्तमा ४ का वडाध्यक्ष हरिबहादुर क्षेत्रीलाई प्रहरीले स्विमिङ पुलमा धकेलेका थिए। स्विमिङ पुलमा धकेलेको भिडिओ सार्वजनिक भएपछि चौतर्फी आलोचना भएको थियो।
आइतबार एमालेका जनप्रतिनिधिले प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला लगाएका थिए।
हिजो वडाध्यक्षलाई स्विमिङ पुलमा धकेल्ने बुटवलका डीएसपी ठगबहादुर केसीलाई कारबाही माग गर्दै प्रदर्शन गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाइएको थियाे।
असार ३१ बसेको नगर सभा पनि गणपूरक संख्या नपुगेको भन्दै नगरप्रमुख खाणले स्थगन गरेका थिए।
कांग्रेसले न्यायिक समितिका ३ सदस्यमध्ये एक सदस्य आफूले पाउनुपर्ने बताएको थियो।
एमालेले नगरसभाबाट निर्णय गराएर तीनै सदस्य आफूले राख्न चाहेको थियो
तिलोत्तमामा मेयर कांग्रेसले जिते पनि नगरसभामा एमालेको बहुमत छ। न्यायिक समितिको एक सदस्यको विवाद नमिल्दा बजेट पारित हुन नसकी झडपसम्मको अवस्था आएको थियो।
सहमतिपछि कांग्रेसले न्यायिक समितिको एक सदस्य पाउने भएको छ।
Shares
प्रतिक्रिया