सुदूरपश्चिम प्रदेशमा प्रतिनिधिसभाका १६ सिट छन्। २०७४ मा सम्पन्न निर्वाचनमा १६ मध्ये नेकपा एमालेले एक्लै ११ सिट जितेको थियो। उसँग सहवरण गरेको नेकपा माओवादी केन्द्रले ३ सिट जितेको थियो। १ सिट तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) का रेशम चौधरीले जिते। १ सिट जितेर नेपाली कांग्रेसको बीउ जोगाउने जिम्मा पार्टी सभापति शेरबहादुर देउवाको भागमा पर्यो।
२०७४ यता ५ वर्षको अवधिमा महाकालीमा धेरै पानी बगिसकेको छ। हालै सम्पन्न स्थानीय तह निर्वाचनकाे परिणाम हेर्दा २०७४ को ठीक उल्टो परिदृश्य देखा परेकाे छ।
गत बैशाखमा सम्पन्न स्थानीय निर्वाचनको मत परिणाम हेर्दा कांग्रेसको भागमा पासा पल्टिएको छ। पार्टी सभापति देउवाले बीउ जोगाएको कांग्रेस एकाएक शक्तिशाली भएर देखापरेको छ। अन्तत: नेपाली कांग्रेस अत्याधिक सिटका साथ पहिलो पार्टी बन्न पुगेको छ।
२०७४ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा सुदूरपश्चिमका १६ सिट मध्ये डोटी, बझाङ, बाजुरा, अछाम १ र २, दार्चुला, बैतडी, कञ्चनपुर २ र ३, कैलाली २ र ५ मा एमालेले जित हासिल गरेको थियो। एमालेसँग गठबन्धन गरेकाे माओवादी केन्द्र कैलाली ३, ४ र कञ्चनपुर १ मा विजयी भएको थियो।
डोटीबाट प्रेम आले, बझाङबाट भैरव बहादुर सिंह, अछाम–१ बाट भीम रावल, २ बाट यज्ञ बहादुर बोगटी, दार्चुलाबाट गणेश ठगुन्ना, बैतडीबाट दामोदर भण्डारी, कञ्चनपुर–२ बाट नरबहादुर धामी, ३ बाट डा. दीपकप्रकाश भट्ट, कैलाली २ बाट झपटबहादुर रावल र ५ बाट नारदमुनि राना विजयी भएका थिए।
यस्तै कञ्चनपुर–१ मा बिना मगर, कैलाली–३ मा गौरीशंकर चौधरी र कैलाली–४ बाट लेखराज भट्ट माओवादी केन्द्रका तर्फबाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए। जसमध्ये डोटीबाट विजयी आले हाल एमालेबाट चोइटिएर स्थापना भएको नेकपा एकीकृत समाजवादीमा लागेका छन् । माओवादीबाट विजयी भट्ट र चौधरी एमालेमा छन्।
प्रधानमन्त्री एवम् कांग्रेस सभापति देउवा पत्नी डा. आरजु राणा गत निर्वाचनमा कैलाली–५ मा एमाले नेता नारदमुनि रानासँग झण्डै ५ हजार मतले पराजित भएकी थिइन्।
पूर्वप्रधानमन्त्री एवम् माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की बुहारी बिना मगरले कञ्चनपुर–१ मा कांग्रेस नेता दिवानसिंह विष्टलाई दोब्बर मतले पराजित गरेकी थिइन्। बीनाले कुल खसेको मतमध्ये ३८ हजार ४६७ मत पाउँदा दिवानले १९ हजार २१९ मत पाएका थिए।
कांग्रेस सभापति देउवाले गृहजिल्ला डडेल्धुराबाट निर्वाचन जितेर सुदूरपश्चिममा पार्टीको बिउ जोगाएका थिए। उनले माओवादी नेता खगराज भट्टलाई झण्डै ७ हजार मतले हराएका थिए। २८ हजार ४४ मतसहित देउवा विजयी हुँदा उनका चिरपरिचित प्रतिद्वन्द्वी भट्टले २१ हजार ११५ मत ल्याएका थिए।
२०७४ को प्रतिनिधिसभा निर्वाचनमा सभापति देउवाका विश्वासपात्रहरु एनपी साउद कञ्चनपुर–२, रमेश लेखक कञ्चनपुर–३ र वीरबहादुर बलायर डोटीबाट पराजित भएका थिए। उक्त निर्वाचनमा कम्युनिस्ट पार्टीहरुले चुनावी तालमेल गर्दा कांग्रेसका प्रभावशाली नेताहरु ठाउँ–ठाउँमा पराजित भएका थिए।
गत स्थानीय चुनावमा प्राप्त परिणामका आधारमा सुदूरपश्चिमका समग्र वडाको नतिजा हेर्दा कांग्रेस एक्लै ३०७ वडामा विजयी भएको छ। सुदूरपश्चिममा एमालेले २५० वडामा जित निकाल्दा माओवादीले ९८ वडामा चित्त बुझाउनु परेको छ। यहाँ एकीकृत समाजवादीले २८ वडा जितेको छ।
राजनीतिक दल | जितेको वडा |
नेपाली कांग्रेस | ३०७ |
नेकपा एमाले | २५० |
माओवादी केन्द्र | ९८ |
एकीकृत समाजवादी | २८ |
नागरिक उन्मुक्ति पार्टी | १४ |
राप्रपा | ५ |
जसपा | २ |
नेका वीपी | २ |
स्वतन्त्र | २३ |
जम्मा | ७२९ |
नागरिक उन्मुक्ति पार्टीले १४ वडा जित्दा २३ जना स्वतन्त्र उम्मेदवार विभिन्न वडाबाट विजयी भएका छन्। राजतन्त्रको वकालत गर्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ५ र जनता समाजवादी पार्टी (जसपा) नेपाल २ वडामा निर्वाचित भएको छ।
प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति देउवाको गृहजिल्ला डडेल्धुरामा नेपाली कांग्रेस बीपीले २ वडा जितेको छ। कांग्रेस बीपीले देउवाको मतदाता नामावली रहेको वडा गन्यापधुरा गाउँपालिका–१ र सदरमुकाम रहेको अमरगढी नगरपालिका–८ मा वडाध्यक्ष जितेको हो।
गन्यापधुरा–१ कांग्रेस बीपीका नरेशराज भण्डारी ६७३ मतसहित वडाध्यक्षमा विजयी हुँदा कांग्रेसका चन्द्रबहादुर देउवाले ५४४ मत पाएका थिए। यस्तै अमरगढी–८ मा बीपीका नरबहादुर साँकी ३५० मतले निर्वाचित हुँदा कांग्रेसका सुरेन्द्रबहादुर साँकी ३१६ मत ल्याएका थिए।
कांग्रेस डडेल्धुराका निवर्तमान सभापति कर्णबहादुर मल्लले प्रधानमन्त्री देउवासँग आन्तरिक द्वन्द्व चर्किदै गएपछि एमालेसँग चुनावी तालमेल गरेको कांग्रेस बीपीसँग सहकार्य गरेर विभिन्न स्थानीय तहहरुमा उम्मेदवार खडा गरेका थिए ।
गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनको मतपरिणाम विश्लेषण गर्दा कांग्रेस सुदूरपश्चिममा निकै शक्तिशाली देखिन्छ। २०७४ को निर्वाचनमा १ सिटमा चित्त बुझाएको कांग्रेस स्थानीय तह निर्वाचनको परिणाम हेर्दा ११ सिटमा अगाडि देखिएको छ ।
स्थानीय तह निर्वाचनको मतपरिणामको वडागत रुपमा विश्लेषण गर्दा कांग्रेस कैलाली निर्वाचन क्षेत्र नम्बर १ बाहेक चार वटै निर्वाचन क्षेत्र, कञ्चनपुरका तीन वटै निर्वाचन क्षेत्रमा अगाडि छ । त्यस्तै अछाम–१, डोटी, डडेल्धुरा र बझाङमा कांग्रेस पहिलो स्थानमा देखिएको छ।
वडागत रुपमा मत विश्लेषण गर्दा कांग्रेस कैलाली–२ का २६ वडामध्ये ९ मा, कैलाली–३ का २६ मध्ये १७, कैलाली–४ का ३० मध्ये १५ र कैलाली–५ का २१ मध्ये ११ वडा जितेको छ।
कैलाली–१ मा भने नागरिक उन्मुक्ति पार्टीले २३ मध्ये ११ वडामा जित हासिल गर्दै पहिलो देखिएको छ। टीकापुर घटनाका मुख्य अभियुक्त भनिएका रेशम चौधरीले कारागारबाटै खोलेको नागरिक उन्मुक्ति पार्टी स्थानीय तह निर्वाचनमा होमिएको थियो।
कञ्चनपुर–१ का ३२ मध्ये ११, कञ्चनपुर–२ का ३० मध्ये १५ र कञ्चनपुर–३ का ३० मध्ये १४ वडामा विजयी भएर कांग्रेस तीन वटै निर्वाचन क्षेत्रमा बलियो देखिएको छ।
कञ्चनपुर–१ मा एमालेले १० र माओवादीले ८, कञ्चनपुर–२ मा एमालेले ६ र माओवादीले ८ तथा कञ्चनपुर–३ मा एमालेले ९ र माओवादीले ३ वडा जितेको छ।
अछाम–१ का ३९ मध्ये कांग्रेसले १९, एमालेले १३, माओवादीले २, एकीकृत समाजवादीले ३ र अन्य दलले ३ वडामा जितेको स्थानीय तह निर्वाचनको तथ्यांकले देखाएको छ। डोटीका ६५ वडामध्ये कांग्रेस ३९, एमाले १८, माओवादी ५, एकीकृत समाजवादी १ र अन्य २ वडामा विजयी भएका छन्।
डडेल्धुराका ५२ वडामध्ये कांग्रेसले २९, एमालेले ४, माओवादीले १३, एकीकृत समाजवादीले २ र अन्यले ४ वडा जितेका छन्। यस्तै बझाङका ९४ वडामध्ये कांग्रेस ३१, एमाले २८, माओवादी १२, एकीकृत समाजवादी १५ र अन्य ८ वडामा निर्वाचित भएका छन्।
२०७४ मा ११ सिट जितेको एमाले ५ वर्षपछि भएको स्थानीय तह निर्वाचनको मत परिणामअनुसार ४ सिटमा खुम्चिएको छ। स्थानीय तह निर्वाचनको वडागत मत विश्लेषण गर्दा एमाले बैतडी, बाजुरा, दार्चुला र अछाम–२ मा बलियो देखिएको छ।
बैतडीका ८४ वडामध्ये एमाले ३५, कांग्रेस ३३, माओवादी १२ र अन्य ४ वडामा विजयी भएका छन्। बाजुराका ६७ वडामध्ये एमालेले ४२, कांग्रेसले २१ र माओवादीले ४ वडा जितेको छ। दार्चुलाका ६१ वडामध्ये एमाले ३४ वडामा जित निकालेर पहिलो बनेको छ। यहाँ कांग्रेसले १७ र माओवादीले १० वडामा चित्त बुझाएका छन्।
अछाम–२ का ४९ वडामध्ये एमालेले २२ वडामा जित निकाल्दा कांग्रेस २१ वडामा विजयी भएको छ। यहाँ माओवादीले २, एकीकृत समाजवादी ३ र अन्य दल १ वडामा निर्वाचित भएका मत परिणामले देखाएको छ।
गठबन्धनको सकस
आगामी चुनावमा सुदुरपश्चिम प्रदेशका १६ सीटको तालमेल कसरी होला ? यहाँ एमालेले एक्लै चुनाव लड्ने निश्चित छ । तर, यसले रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीसँग तालमेल गर्न सक्ने सम्भावनालाई पनि अस्वीकार गर्न सकिँदैन । त्यसो भएमा एमालेले सो पार्टीलाई कैलाली १ दिएर बाँकी १५ सिटमा आफ्ना उम्मेदवार उठाउने सम्भावना देखिन्छ ।
सत्तारुढ गठबन्धनका तीन घटक कांग्रेस, माओवादी र एकीकृत समाजवादीले सुदूरपश्चिममा १६ सीटको भागवण्डा कसरी गर्लान् ? यो निकै सकसपूर्ण हुने देखिन्छ ।
पहिले एमालेले जितेका ११ र माओवादीका ३ समेत जोड्ने हो भने १४ सिटमा वामपन्थी बर्चश्व थियो । तर, ०७४ को मत आधारलाई बिर्सेर ०७९ को स्थानीय चुनावलाई आधार मान्ने हो भने ११ स्थानमा कांग्रेसको अग्रता देखिन्छ ।
स्थानीय चुनावले कांग्रेसलाई अग्रता दिलाएका चुनाव क्षेत्रहरुमा कैलाली १ बाहेकका ४ वटा निर्वाचन क्षेत्र छन् । त्यस्तै, कञ्चनपुरका तीनवटै क्षेत्रमा कांग्रेसको अग्रता छ । अछाममा भीम रावलको क्षेत्रमा कांग्रेसले सबै भन्दा धेरै वडाहरु जितेको छ । त्यसैगरी डोटी, डडेलधुरा र बझाङमा कांग्रेसले सबैभन्दा धेरै वडाहरु जितेको छ ।
स्थानीय चुनावको वडागत मत परिणामलाई हेर्दा रेशम चौधरीको पार्टी कैलाली १ मा पहिलो पार्टी बन्न सफल भएको छ भने माओवादी, एकीकृत समाजवादी र जसपा १६ मध्ये कुनै पनि निर्वाचन क्षेत्रमा पहिलो दल बनेका छैनन् । एमाले ४ वटा निर्वाचन क्षेत्रमा धेरै वडाहरु जितेर पहिलो दल बनेको छ ।
अब सत्ता गठबन्धनले ०७४ को मत परिणामलाई आधार मानेर गठबन्धन गर्छन् या ०७९ को स्थानीय चुनावलाई ?
स्थानीय चुनावको परिणमलाई आधार मानेर गठबन्धन गर्ने हो भने माओवादी, एकीकृत समाजवादी र जसपाले थोरै सिट पाउने देखिन्छ । तर, ०७४ लाई आधार मान्ने हो भने कांग्रेसले थोरै सिट पाउने देखिन्छ ।
कांग्रेसको सुदूरपश्चिम प्रदेश कार्यसमिति सभापति वीरबहादुर बलायर भन्छन्, ‘तालमेल गर्नैपर्ने हो भने सबैले हैसियत अनुसार माग्नु पर्यो। आफूलाई भन्दा पनि कुन लिडरलाई कहाँ चाहियो, खुलेर भन्नुपर्यो, कोटा मागेर हुन्न। मिलाएर तालमेल गर्यो भने ठीकै हो, नत्र भाग चाहियो भन्ने ढंगबाट तालमेल गरियो भने गठबन्धन कोल्याप्स हुन सक्छ।’
Shares
प्रतिक्रिया