स्थानीय तह निर्वाचनका क्रममा मधेश प्रदेशका केही जिल्लामा हिंसात्मक झडप भएका छन्।
केही स्थानमा मतदान अधिकृतले नै धाँधली गर्ने लागेपछि पदबाटै बर्खास्त गरिएको छ।
यसैबीच रौतहटको यमुनामाई गाउँपालिका वडा नं. २ भिडियाही टोलमा स्थानीयले मतपेटिका नै लुटेर हिँडेका छन्।
त्यहाँका स्थानीयबासिन्दाले श्री मावि मतदान केन्द्रको मतपेटिका लुटेका हुन्। उनीहरुले त्यहाँबाट तीनवटा मतपेटिका लिएर खेतैखेत भागेका हुन्।
यमुनामाई गाउँपालिकाका मतदान अधिकृत हरिप्रसाद शर्माले मतपेटिका लिएर हिँडेपछि अहिले अवस्था सामान्य गर्न लागिएको बताए।
'प्रहरी प्रशासनले पनि नियन्त्रण गर्न सकेन। २ देखि ३ वटा मतपेटिका लगिएको छ', उनले भने, 'मतदान गरिएका मतपेटिका नै स्थानीय लुटेर सडकमा लगेर फुटाइदिएका छन्।'
यो स्थानमा शुक्रबार मतपेटिका च्यात्नेदेखि झडपसम्मका गतिविधि भएका थिए। त्यहाँ दिउँसो प्रहरीले दर्जनौँ राउन्ड अश्रुग्यास हानेको थियो।
यो केन्द्रमा माओवादी केन्द्र तथा नेपाली कांग्रेस र जसपाबीचको गठबन्धनका दलहरुबीच दिनभर तनाव भएको छ।
Shares
प्रतिक्रिया