धनुषा र सिरहामा आज नेपाली कांग्रेसको जिल्ला अधिवेशन जारी छ। धनुषा जिल्ला अधिवेशन जनकपुरधाम स्थित तिरहुतिया गाछीमा भइरहेको छ।
सर्वसहमति हुन नसकेपछि विहानैदेखि निर्वाचन प्रक्रिया अन्तर्गत पहिलो चरणको मतदान हुँदै छ।
धनुषामा तीनवटा प्यानल चुनावी प्रतिष्पर्धामा छन्। सभापतिमा धनुषाका वर्तमान उपसभापति सन्तोष यादव, संविधानसभा सदस्य दिनेश प्रसाद यादव प्रसैला र क्षिरेश्वरनाथ नगरपालिकाका मेयर योगेन्द्र पजियारको उम्मेदवारी परेको छ।
सन्तोष यादव संस्थापन पक्षका उम्मेदवार छन् भने शेखर कोइराला समूहबाट प्रसैला र विमलेन्द्र निधि समूहबाट योगेन्द्र पजियार छन्।
विहान ९ बजेदेखि जारी मतदान अझै चलिरहेको छ। मतदाताहरुको लामो लाम लागेको छ। साँझ ५ बजेसम्म मतदान हुने निर्वाचन समितिले जनाएको छ। सम्भव नभए अझै समय थप गर्न सक्ने जनाइएको छ।
विद्यालय बन्द गरेर सिरहामा मतदान जारी, पत्रकारलाई समाचार संकलनमा निषेध
सिरहामा विद्यालयको पठनपाठन बन्द गरी नेपाली कांग्रेसको नयाँ नेतृत्वका लागि निर्वाचन भइरहेको छ। १४ औं जिल्ला अधिवेशन अन्तर्गत सिरहाको गोलबजारमा अहिले मतदान जारी छ।
विद्यालय बन्द गरी भइरहेको मतदान सम्बन्धमा समाचार संकलन गर्न पुगेका पत्रकारहरुलाई अवरोध गरिएको छ।
समाचार संकलन गर्न पुगेका पत्रकारलाई मतदानको रिपोर्टिङमा प्रहरीले अवरोध गरेपछि सञ्चारकर्मीहरु आन्दोलनमा उत्रेका छन्। समाचार संकलनमा अवरोध भएपछि पत्रकारहरुले क्यामेरा लगायतका सञ्चार सामग्री राखेर आन्दोलनमा उत्रेका हुन्।
अवरोधको विषयमा प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले सुरक्षा निकायले सुरक्षा प्रदान गरिरहेको र पत्रकारले विद्यालय परिसर बाहिरैबाट समाचार संकलन गर्न सक्ने बताएको पत्रकार विनय यादवले बताए।
नेपाल पत्रकार महासंघ सिरहाका सदस्य सुरेन्द्र कुमार कामतिको नेतृत्वमा विभिन्न संचारमाध्याममा आबद्ध पत्रकारहरू अहिले धर्नामा बसेका छन्। नेपाल पत्रकार मधेश प्रदेश समितिले एक विज्ञप्ति जारी गर्दै समाचार संकलनमा रोक लगाएको प्रति खेद व्यक्त गरेको छ।
विवादका कारण सर्लाहीमा अनिश्चित समयका लागि स्थगित
सर्लाहीमा कांग्रेसको जिल्ला अधिवेशन अन्तर्गत निर्वाचन अनिश्चितकालका लागि स्थगित भएको छ।
दुई पक्षबीचको विवादका कारण सोमबारका लागि तय भएको निर्वाचन पुनः अनिश्चित समयका लागि निर्वाचन समितिले स्थागित गरेको हो।
निर्वाचन अधिकृत नागेश्वर प्रसाद सिंहले एक सूचना जारी गर्दै निर्वाचन स्थगित भएको जानकारी गराएका हुन्।
उनले विशेष परिस्थितिका कारण निर्वाचन गराउन नसकिएको र अर्को सूचना प्रकाशित नभएसम्मका लागि निर्वाचन स्थगित गरिएको जनाएका छन्।
सोमबार विहान ९ बजेदेखि सुरु हुने भनिएको निर्वाचन दिउँसो १ः १५ बजे सूचना टाँसेर स्थगित गरिएको जानकारी गराइएको हो।
निर्वाचन समितिले निर्वाचन स्थगित गरेपछि मतदान स्थल बाहिर कार्यकर्ताहरूले नाराबाजी गरेका छन्।
Shares
प्रतिक्रिया