प्रधानमन्त्री शेरबहादुर देउवा अमेरिकी सहायता परियोजना एमसीसी पारितका लागि प्रमुख प्रतिपक्षी नेकपा एमालेका माग सम्बोधन गर्न सकारात्मक देखिएका छन्।
बिहीबार बस्ने भनिएको प्रतिनिधिसभा बैठक स्थगित भएलगत्तै संघीय संसद भवनमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भएको छलफलमा प्रधानमन्त्री देउवा प्रमुख प्रतिपक्षीका माग सम्बोधन गर्न सकारात्मक देखिएका हुन्।
उनले छलफलका क्रममा एमाले अध्यक्ष ओलीसँग एमसीसी पारितका लागि सरकारको साथमा उभिए आफूले चाल्नुपर्ने कदमबारे छलफल गर्न तयार रहेको बताएका हुन्।
कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले अहिले आफ्ना लागि सत्ता जोगाउने अंक गणितसँग कुनै सरोकार नभएको छलफलमा बताएका छन्।
एमसीसी संसदबाट पारित गराउने विषय नेपालको अन्तराष्ट्रिय सम्बन्ध र विश्वसनीयताको कुरा भएको पनि उनले वार्तामा जोड दिएका छन्।
‘यो बेलामा नेपाली कांग्रेसको लागि अहिलेको सरकार, भोलिको सरकार वा आजको दिनमा के हुन्छ, भोलिको दिनमा के हुन्छ भन्ने अंकगणितसँग हामीलाई अब कुनै पनि सरोकार छैन। यो नेपालको अन्तराष्ट्रिय सम्बन्ध, विश्वसनियताको कुरो हो,’ छलफलका क्रममा देउवाको भनाइ उद्धृत गर्दै कांग्रेस महामन्त्री गगन थापाले भने, ‘तपाईंले गर्नुभएको प्रस्तावलाई मैले निर्णयार्थ प्रस्तुत गर्दैगर्दा तपाईंको मत अपेक्षा गर्नु स्वाभाविक हो। तपाईंलाई संसदमा आएर मत जाहेर गर्न सजिलो बनाउन हामीले गर्न सक्ने सबै प्रबन्धहरुमा छलफल गरौँ, कुराकानी गरौँ, एकै ठाउँमा उभिएर यसालई अगाडि बढाऔँ।’
छलफलका क्रममा प्रधानमन्त्री देउवाले एमाले अध्यक्ष ओलीसँग एमसीसी पारितका लागि कांग्रेस सबै विषयमा खुला छलफल गर्न पनि तयार रहेको बताए।
‘यो कुनै एउटा दलको, सरकारको, गठबन्धनको विषय नै होइन। सिंगो देश, अन्तर्राष्ट्रिय सम्बन्ध र हाम्रो विश्वसनीयताको विषय हो,’ थापाले देउवाको भनाइ उद्धृत गर्दै भने, ‘तपाईं आफैँले दर्ता गर्नुभएको प्रस्ताव हो। यो विषयमा नेपाली कांग्रेस प्रमुख प्रतिपक्षी दलसँग सवै विषयमा खुला छलफल गर्न तयार छ।’
प्रधानमन्त्री देउवाले पूर्वप्रधानमन्त्री ओलीलाई कांग्रेस प्रतिपक्षमा रहँदा पनि एमसीसी सम्झौतामा समर्थन गरेको पनि स्मरण गराए।
‘तपाईं सरकारमा हुँदै गर्दा पनि हामीले समर्थन गरेको हो,’ उनले ओलीसँग भने, ‘हामी सरकारमा हुँदा पनि तपाईंको समर्थनको अपेक्षा गर्छौं। छलफल गरौं। यसलाई अगाडि बढाऔँ।’
संसदमा एमसीसी सम्झौता अगाडि बढाउने क्रममा सदनको अवरोध खुलाए एमालेसँग सबै विकल्पमा छलफल गर्ने पनि प्रधानमन्त्रीको भनाइ थियो।
‘सदनको अवरोध हटाउँदा सबै खालका विकल्पमा छलफल गरौँ भन्ने कुरा प्रधानमन्त्रीले राख्नुभयो,’ कांग्रेस महामन्त्री थापाले भने।
जवाफमा ओलीले पार्टीभित्र आन्तरिक छलफल गरेर आजै बेलुकी फेरि वार्ता गर्ने आश्वासन दिएका छन्।
‘उहाँ (ओली) ले यसबारे आफ्नो पार्टीभित्र आन्तरिक छलफल गरेर साँझ कुराकानी गर्छु भन्नुभएको छ,’ थापाले भने।
उनका अनुसार प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच बेलुकी ७ बजे बालुवाटारमा फेरि छलफल हुने तयारी छ।
Shares
प्रतिक्रिया