मधेस प्रदेश सरकारले आज (फागुन १ गते) पहिलोपटक जनयुद्ध दिवस मनाउँदै छ।
तत्कालीन नेकपा माओवादीले २०५२ आजकै दिन अर्थात् फागुन १ गते सशस्त्र विद्रोह सुरु गरेको दिनको सम्झनामा माओवादीहरूले जनयुद्ध दिवस मनाउने गरेका छन्।
तर मधेस सरकारकै तर्फबाट यो दिवस पहिलोपटक मनाउन लागिएको हो। यसका लागि मधेस सरकारले आज प्रदेशभर सार्वजनिक बिदासमेत दिएको छ।
प्रदेश मन्त्रिपरिषदको निर्णयानुसार फागुन १ गते जनयुद्ध दिवस मनाउन लागिएकाे र सार्वजनिक बिदा दिइएको आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले बताए। उनी मधेस सरकारमा नेकपा माओवादी केन्द्रबाट एक मात्र मन्त्री हुन्।
यसअघि मधेस सरकारले ३ वर्षदेखि माघ ५ गते बलिदानी दिवस मनाइरहेको थियो। तर जनयुद्ध दिवस पहिलोपटक मनाउन लागेको हो।
जनयुद्ध दिवसका अवसरमा जनयुद्धका सहिदका परिवारलाई जनही ३ लाख रुपैयाँ सहयोगसमेत मधेस सरकारले उपलब्ध गराउने भएको छ।
नेपालमा गणतन्त्र स्थापना तथा परिवर्तन हुनुमा माओवादी जनयुद्धको ठूलो भूमिका रहेकाले जनयुद्ध दिवस मनाउन लागिएको मुख्यमन्त्री लालबाबु राउत बताउँछन्।
जनयुद्ध दिवसका दिन प्रदेश सरकारले मधेस भवन परिसरस्थित कभर्ड हलमा सहिदका परिवारलाई सम्मान तथा आर्थिक सहयोग वितरण कार्यक्रम गर्ने तयारी गरेको छ। कार्यक्रममा प्रमुख अतिथिका रूपमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड आउने तय भएको मन्त्री साहका प्रमुख स्वकीय सचिव विजय यादवले जानकारी दिए।
उनका अनुसार संघीय सरकारका केही मन्त्री, प्रदेश प्रमुख, मुख्यमन्त्री, मन्त्री तथा माओवादी केन्द्रका केन्द्रीय नेता कार्यक्रममा सहभागी हुने छन्।
पहिलो चरणमा मधेस प्रदेशका आठै जिल्लाबाट जनयुद्धका पाँच–पाँच सहिदका परिवार गरी ४० परिवारलाई जनही एक लाख रुपैयाँ र सम्मानपत्र वितरण गरिने स्वकीय सचिव यादवले जानकारी दिए। उक्त ४० परिवारको छनोट मधेसी सहिद प्रतिष्ठानले गरेको छ।
‘पहिलो चरणमा ४० जना र छुटेका जनयुद्धका सहिदका परिवारलाई पहिलो चरणमा १ लाख र दोस्रो चरणमा २–२ लाख रुपैयाँ गरी ३ लाख आर्थिक सहयोग उपलब्ध गराउने निर्णय भएको छ’, स्वकीय सचिव यादवले नेपालखबरसँग भने।
अहिलेसम्म प्रदेशमा ५४३ जना सहिद तथा परिवार पहिचान भएको मन्त्री साह बताउँछन्। प्रदेशमा झन्डै ६ सय जना सहिद रहेको मन्त्री साहको भनाइ छ।
Shares
प्रतिक्रिया