बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद बिहीबार पोखरा आए। नेपालको चार दिने राजकीय भ्रमणमा आएका राष्ट्रपतिको पोखरा विमानस्थलमा भब्य स्वागत भयो। स्वागत लगत्तै राष्ट्रपति हमिद फेवातालको नौकाविहारको लागि तयार भए।
फेवातालको पुछार फिस्टेल गेटबाट उनी डुंगामा चढे। कात्तिकमा फेवाताल कञ्चन देखिन्छ। हिमाल पनि मज्जाले खुल्छ पोखरामा। राष्ट्रपतिले फेवातालको असली रुप हेर्न पाए। तालमा बसेर हिमालसँग आँखा जुधाउने अवसर भने उनलाई जुरेन। किनकि, बिहीबार हिमाल खुलेको थिएन।
समुद्र किनाराका महामहिमले नेपाल प्रहरीको ‘मोटर बोट’मा बसेर पाहुनलाई दिएको आतिथ्यता भने मज्जाले स्वीकारे। आन्तरिक पर्यटन वर्ष मनाउँदै गरेको गण्डकी प्रदेश र नेपाल भ्रमण वर्षको तयारीमा रहेको नेपाललाई तातो ठाउँका राष्ट्रपतिको भ्रमणले कत्तिको सेक्छ, थाहा छैन। तर, होँचो ठाउँमा खल्खली पसिना बगाउनेहरुलाई चिसो ठाउँमा जान प्रेरित गर्छन् कि भन्ने आशा भने जगाए।
औपचारिक भ्रमणमा आएका राष्ट्रपतिलाई फेवातालको नौकाविहारमा नेपाली पक्षले भने खासै महत्व दिएको देखिएन। उनीसँग न त समकक्षी राष्ट्रपति विद्या भण्डारी थिइन् न त गण्डकी प्रदेशका प्रदेश प्रमुख नै। गण्डकी प्रदेशका प्रदेश प्रमुख र कार्यवाहक मुख्यमन्त्री नौका बिहारमा सामेल भएनन्। नौका बिहारमा जाने राष्ट्रपतिलाई बिदाई गरेर उनीहरु फिस्टेल होटलमै प्रतीक्षामा बसे।
राष्ट्रपति हमिजजस्तै २०१७ सालको वैशाखमा चिनियाँ प्रधानमन्त्री चाउ एनले पनि फेवातालको नौकाविहार गरेका थिए। छिमेमी राष्ट्रको उच्चस्तरीय सो भ्रमणमा चाउ एन लाइलाई तत्कालीन प्रधानमन्त्री बीपी कोइरालाले नै साथ दिएका थिए।
चाउले नौकाविहार गर्दा फेवातालको पुछारमा बाँध बन्दै थियो। त्यो बेला चाउ एन लाइले प्रधानमन्त्री बीपीलाई यस्ता संरचना बनाउँदा आफ्नै देशमा पाइने सामान प्रयोग गर्न सुझाएका थिए। चाउले त्यो बेला करिब १ घण्टा फेवातालमा डुंगा सयर गरेका थिए। अहिले बंगलादेशका राष्ट्रपतिजस्तै उनी पनि तालको बीचमा रहेको बाराही मन्दिर पुगे पनि पूजा भने गरेका थिएनन्। आफ्नो निमन्त्रणामा आएका चाउबारे बीपीले आत्मवृत्तान्तमा पनि उल्लेख गरेका छन्।
‘चाउ एन लाइले करिब एक डेढ घण्टा डुंगा सयर गरे होलान्’, तत्कालीन कांग्रेस सभापति लीलाभक्त आचार्यले त्यो क्षण सम्झँदै भने, ‘उनी तालबाराही मन्दिर पनि गए, हेरे तर पूजाचाहिँ गरेनन्।’
फेवाताल घुम्दै गर्दा त्यहाँ शक्तिशाली प्रधानमन्त्री बीपी, तत्कालीन गृहमन्त्री सूर्यप्रसाद उपाध्याय पनि सँगै थिए। त्यो समय फेवातालको पुछारमा नयाँ बाँध (ड्याम) बन्दै थियो।
‘तपाईंहरुलाई सिमेन्ट बाहिरबाट मगाउनुपर्छ, यत्रो खर्च गरेर प्लेनबाट ल्याउनुपर्छ, ढुवानी गर्ने बाटो छैन, यसो गरेर किन बनाउनु हुन्छ? माटोले नै किन बनाउनु हुन्न?’, चाउ एन लाइको भनाई उधृत गर्दै बिपीले भनेका छन्, ‘त्यसले बढ्ता समात्छ, पहाडको माटोसँग मिल्ने किसिमको हुँदा माटोको बाँधको पकड ज्यादा हुन्छ, सिमेण्टको भयो भने ठूलो बाढी आयो भने टुट्छ।’
बिपीले भनेका छन्, ‘आखिर त्यो प्रमाणित नै भयो, ठूलो बाढी आयो र बाँध टुट्यो, चाउ एन लाइको कुराले मलाई प्रभावित गर्यो, सिमेन्टको औचित्य कायम हुन सकेन।’
बंगलादेशका राष्ट्रपति हमिद भने फेवातालमा मात्र सीमित रहेनन्। उनी फेवातालमा नौकाबिहारपछि हिमाल हेर्न रुपाकोट गए। कास्कीको रुपाकोटबाट यस आसपासका हिमाल राम्रो देखिन्छन्।
हिमाल हेर्दै राष्ट्रपति हमिदले रुपकोट रिसोर्टमा झण्डै डेढघण्टा बिताएका थिए। सो अवसरमा संघीय सरकारका भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठ, गण्डकी प्रदेशका भौतिक पूर्वाधारमन्त्री रामशरण बस्नेत, आन्तरिक मामिलामन्त्री हरिबहादुर चुमान लगायतको उपस्थिथि थियो।
प्रतिक्रिया