रौतहटमा अर्को गौर नरसंहार मच्चाउने धम्की दिएकी भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवलाई लिएर नेकपा एमालेले आक्रोश व्यक्त गरिरहेको छ।
एमाले उपमहासचिव प्रदीप ज्ञवालीले शुक्रबार आफ्नो भनाइ सार्वजनिक गर्दै शान्तिपूर्ण राजनीतिमा उत्रिएको दलका नेताहरुलाई अर्को 'गौर नरसंहार' गराएर हत्या गर्ने खुला धम्की दिनु गम्भीर आपत्तिजनक रहेको बताएका छन्।
ज्ञवालीले यति गम्भीर विषयमा सम्बन्धित दल जनता समाजवादी पार्टी र गठबन्धन सरकारका प्रधानमन्त्री शेरबहादुर देउवाको मौनतामा पनि प्रश्न उठाएका छन्।
'एकजना मन्त्रीले शान्तिपूर्ण विरोधमा उत्रिएका राजनीतिक दलका नेताहरूलाई अर्को 'गौर नरसंहार'गराएर हत्या गर्ने खुला धम्की दिनु जति आपत्तिजनक, आपराधिक र बर्बरतापूर्ण छ', उनले भनेका छन्, 'यति गम्भीर विषयमा सम्बन्धित दल र प्रधानमन्त्रीको मौनता उत्तिकै बिडम्बनापूर्ण छ। अपराधलाई दुरूत्साहन गर्ने सबै गतिविधि बन्द होस्।'
मन्त्री यादवले यही माघ ५ गते गौरमा पुगेर सीके राउतसहितका नेताहरूलाई अर्को गौर हत्याकाण्ड गराएर ज्यान लिइदिने बताएकी थिइन्।
स्मरणीय छ, चर्चित 'गौर हत्या काण्ड' २०६३ चैत ३ गते तत्कालीन मधेसी जनअधिकार फोरमको अग्रसरतामा गराइएको सामूहिक हत्याकाण्ड थियो।
त्यसबेला माओवादी समर्थक २८ जनाले ज्यान गुमाएका थिए। त्यो घटनामा दोषी देखाइएका उपेन्द्र यादवसहित नेताहरुमाथि अझैसम्म कुनै कारबाही भएको छैन।
Shares
प्रतिक्रिया