जिल्ला अधिवेशनपछि लुम्बिनी प्रदेशमा एमालेभित्र असन्तुष्टि बढेकाे छ। यस क्रममा कतिपय नेताले पार्टी नै परित्याग गरेका छन्। विगतमा माधव नेपालसँग निकट एमाले नेताहरू आफूहरूलाई जिम्मेवारीमा आउन नदिएको भन्दै रुष्ट भएका हुन्।
लुम्बिनी प्रदेशका १२ जिल्लामध्ये १० वटामा जिल्ला अधिवेशनबाट नेतृत्व चयन भइसकेको छ। जसमध्ये ७ जिल्लामा सर्वसम्मत र ३ वटामा निर्वाचनबाट नेतृत्व चयन गरिएको हो। सर्वसम्मत भएको भनिए पनि पुरानालाई पाखा लगाएर जबर्जस्ती नेतृत्व चयन गरिएको आरोप असन्तुष्ट पक्षले लगाएको छ।
रुपन्देहीमा एमाले जिल्ला अध्यक्षका लागि निवर्तमान उपाध्यक्ष पुरुषोत्तम घिमिरेले पनि उमेद्वारी दिएका थिए। अघिल्लो अशिवेशनमा पनि अध्यक्षमा दाबी गरेको तर नेताहरूले अर्कोपटक बनाउने आश्वासन दिएको भन्दै यसपटक उनी अध्यक्षको उम्मेदवारी दर्ता गराएका थिए। तर केन्द्रीय नेताहरूको दबाबमा उम्मेदवारी फिर्ता लिनपर्यो।
‘म अध्यक्षको निर्विकल्प उम्मेदवार थिएँ। पार्टीभित्र लोकतान्त्रिक पद्धति बसाल्ने कुरामा नेताहरू सहमत भएनन्। त्यसकारण गरिखाओ भनेर छाडिदिएँ’, घिमिरेले नेपालखबरसँग असन्तुष्टि पोखे।
घिमिरे विगतमा माधव नेपाल निकट नेता हुन्। नेपालले नयाँ पार्टी खोले पनि उनी घनश्याम भुसालसँगै एमालेमै बसे। पुस ५ (तत्कालीन प्रधानमन्त्री एमाले अध्यक्ष केपी ओलीद्वारा प्रतिनिधि सभा विघटन) कदमलाई बेठीक भन्नेलाई आउन दिनहुन्न भन्ने एमाले नेतृत्वको नीति भएको घिमिरेको आरोप छ।
‘पुस ५ को कदमलाई समर्थन गर्न सकिएन त्यो जगजाहेर भएको कुरा हो। हिजोको योगदान, त्याग तपस्या सबै भुलेर अहिले नेतृत्वले नयाँलाई भित्र्याउने पूर्वपञ्च सबैलाई भित्र्याउने’, उनले भने, ‘अलि सैद्धान्तिक हिसाबले कुरा गर्ने, यो ठीक, यो बेठीक भन्नेलाई किनारा लगाउने अहिलेको नेतृत्वको पोलिसी हो। त्यहीअन्तर्गत मलाई बाहिर राखएिको हो।’
रुपन्देही, एमालेका केन्द्रीय उपाध्यक्ष विष्णु पौडेल, उपाध्यक्षको उम्मेदवार बनेर हारेका घनश्याम भुसाल, सचिव छविलाल विश्वकर्माको जिल्ला हो। तर यहाँ विष्णु पौडेलको प्रभाव बढी छ। वडा र पालिका तहका अधिवेशनमा पनि भुसाल पक्ष नेतृत्वमा आउन सकेन।
जिल्ला अधिवेशनपछि एमाले दाङका निवर्तमान अध्यक्ष टीकाराम खड्काले सामाजिक सञ्जालमा आराम गर्ने अवसर पाएको र अब सांगठनिक जिम्मेवारीबाट विश्राम लिने मनस्थितिमा रहेको उल्लेख गरेका छन्।
नेपाल खबरसँग कुरा गर्दै उनले अहिले जिम्मेवारीमा नरहेकाले आफूले त्यो कुरा जानकारी गराएको बताए। आफैंले गराएको जिल्ला अधिवेशनमा केन्द्रको हस्तक्षेपबारे भने उनी खुलेनन्। आफूलाई पार्टीमा जिम्मेवारी नदिएकोबारे मात्र असन्तुष्टि पोखे।
‘जिल्ला अधिवेशन त मेरै प्रयासमा सर्वसम्मत गराएँ, त्यसमा केही छैन। म केन्द्रीय कमिटीको सदस्य बन्न चाहन्थेँ, नेताहरूले आआफ्ना मान्छे भर्ती गरे, मलाई बनाएनन्’, उनले भने, ‘संगठनमा नभएपछि त खाली बस्नैपर्यो। आज म सक्रिय राजनीतिमा छैन।’
दाङ, एमालेका महासचिव शंकर पोखरेलको गृहजिल्ला हो। खड्का विगतमा माधव नेपाल निकट नेता हुन्। ३५ वर्षभन्दा बढी समयदेखि राजनीतिमा संलग्न उनी विद्यार्थी संगठन हुँदै पार्टीको जिल्ला कमिटीमा पुगेका थिए। तर अब प्रदेश कमिटीमा नजाने उनले बताए। केन्द्रीय सदस्यको जिम्मेवारी नपाए राजनीतिक विश्राम लिने उनको भनाइ छ।
‘अब म जिल्ला कमिटी र प्रदेश कमिटीको सदस्य बन्दिनँ। एक महिनाअघि तोकिएका प्रदेशका पदाधिकारी चेन्ज गरेर मलाई त्यहाँ राख्नुस् भन्ने मेरो माग पनि छैन’, उनले भने, ‘पार्टी केन्द्रले उपयुक्त जिम्मेवारी नदिए राजनीतिक विश्राम लिने निश्चित छ।’
खड्का प्रदेश अधिवेशनअघि नै पदाधिकारी तोकिएकामा पनि असन्तुष्ट छन्।
‘एक महिनाअघि केपी ओलीले पदाधिकारी घोषणा गरे, जुन कुरा गर्नै पाइँदैन थियो’, उनले भने, ‘अहिले अनुमोदनका लागि प्रदेश अधिवेशन बोलाएको त हो।’
अर्घाखाँची एमालेका पुराना नेता खुबीराम आचार्यले पनि असन्तुष्टि पोखेका छन्। पार्टीको जिल्ला सहसचिव पदका दाबेदार उनले आफूलाई उम्मेदवारी दर्ता गर्न नदिएको गुनासो केही दिनअघि सामाजिक सञ्जालमार्फत गरेका थिए।
राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सचिव तथा अर्घाखाँची जिल्लाको इन्चार्जसमेत रहेका गोविन्दप्रसाद भुसालले एमाले परित्याग गरेको घोषणा गरेका छन्।
‘पार्टीभित्र चरम गुटबन्दी, मनोमानी, अवसरबाद, नेतृत्वमा देखिएको निरंकुश प्रवृतिबाट इमान्दार र निष्ठावान् कार्यकर्ताहरूले पार्टीमा काम गर्न सक्ने अवस्था नरहेको’ भन्दै सामाजिक सञ्जालमार्फत उनले साधारण सदस्यसमेत नरहने गरी एमाले छाडेको घोषणा गरेका हुन्।
एमाले पाल्पाका निवर्तमान जिल्ला उपाध्यक्ष मोहन थापा मगरले पनि पार्टीबाट अलग रहेको घोषणा गरेका छन्।
जिल्ला अधिवेशनमा थापाले अध्यक्षमा दाबी गरेका थिए। तर नपाएपछि पार्टीबाट अलग भएको र अब सामाजिक क्षेत्रमा क्रियाशील रहने कुरा उनले पनि सामाजिक सञ्जालमार्फत नै बताएका हुन्।
नेतृत्वमा आफ्नै मान्छे राख्नेगरी निर्वाचन प्रक्रिया अघि बढाइएको उनको आरोप छ।
Shares
प्रतिक्रिया