नेकपा (एमाले) को जिल्ला अधिवेशनमा कोरोनालाई बेवास्ता गर्दै सयौं नेता कार्यकर्ता जम्मा भएका छन्। संक्रमणको जोखिम भुलेका नेता कार्यकर्ताहरूले न मास्क लगाएका छन् न त, सामाजिक दूरी नै कायम राखिएको छ।
एमालेको कञ्चनपुर जिल्ला अधिवेशनले सदरमुकाम महेन्द्रनगरमा चहलपहल बढेको छ। महेन्द्रनगरस्थित एमाले पार्टी कार्यालयमा नेता कार्यकर्ता तथा प्रतिनिधिहरूको बाक्लो उपस्थिती रहेको छ।
शुक्रबारदेखि सुरु भएको ८ औँ जिल्ला अधिवेशन नयाँ नेतृत्व छान्नका लागि निर्वाचनमा गएको छ।
वर्तमान अध्यक्ष वीरबहादुर थापा (पातल) र सचिव सुरेन्द्र विष्ट प्यानलसहित चुनाव लडिरहेका छन्। त्यसैले उनीहरु निकट नेताहरु आफ्नो पक्षमा मत माग्न सक्रिय छन्।
मतदानस्थल आउने प्रतिनिधिहरूसँग भेटघाट गर्दै आफ्नो नेताका लागि मत मागिरहेका दृश्य त्यहाँ देख्न सकिन्छ। तर एमाले पार्टी कार्यालयमा जम्मा भएकाहरुले कोरोना संक्रमणको जोखिमलाई भने फिटिक्कै भुलेका छन्।
कोरोनाको जोखिम भुलेर नेता कार्यकर्ता चुनावी रौनकमा डुबेका छन्। कोरोना संक्रमण तीब्र रुपमा फैलिरहेको भए पनि नेताहरुले कोरोनालाई बेवास्ता गर्दै स्वास्थ्य मापदण्ड नै पालना गरेका छैनन्।
त्यहाँ उनीहरुले न त सामाजिक दूरी कायम गरेका छन्। अधिकांशले मास्कको प्रयोग पनि गरेका छैनन्। केहीले मात्रै मास्कको प्रयोग गरेका छन्। कञ्चनपुरमा मात्रै होइन कोरोनाको त्रासकैबीच देशभरका ६१ जिल्लामा एमालेले अधिवेशन गरिरहेको छ। तीमध्ये ५० जिल्लामा अधिवेशन टुंग्याइसकेको छ।
भीडभाड हुने ठाउँमा स्वास्थ्य मापदण्डको पालना नगर्दा संक्रमण तीब्र रुपमा फैलिन सक्ने स्वास्थ्य कार्यालय (कञ्चनपुर) का कोभिड फोकल पर्सन सिद्धराज भट्ट बताउँछन्।
‘केही दिन यता कोरोना संक्रमण बढिरहेको छ। संक्रमण तीब्र भइरहेको बेला भारतबाट गड्डाचौकी नाका भएर मानिसहरु आउने क्रम पनि बढेको छ,’ उनले नेपालखबरसँग भने, ‘यस्तो अवस्थामा अनावश्यक भीडभाड तथा स्वास्थ्य मापदण्ड नअपनाए संक्रमण फैलिन सक्ने जोखिम छ।’
उनका अनुसार कञ्चनपुरमा दैनिक ५०/६० जना कोरोनाका बिरामी फेला परिरहेका छन्। मंगलबार मात्रै कञ्चनपुरका ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो सँगै कञ्चनपुरमा कोरोना संक्रमणका सक्रिय संक्रमितको संख्या ३३० पुगेको छ।
भारतमा संक्रमण तीब्र भइरहेकोले कामको खोजीमा गएका नेपाली नागरिक स्वदेश फर्किंदा त्यससँगै कोरोना पनि भित्रिरहेको भट्टको भनाइ छ।
‘ओमिक्रोन भेरियन्ट तीब्र संक्रामक छ। भारतबाट आउने मानिससँगै कोरोना संक्रमण देखापरेको छ’ फोकल पर्सन भट्टले भने, ‘त्यसैले हामीले सावधानी अपनाउनु आवश्यक छ।’
कोरोना संक्रमण बढेसँगै कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को सिफारिसमा शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयले जाडो बिदाका रुपमा आगामी १५ माघसम्म देशभरका शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको छ।
यस्तै, कोरोनाको तेस्रो लहरलाई मध्यनजर गर्दै सीसीएमसीले विभिन्न निषेधात्मक सिफारिस गरेको छ गृह मन्त्रालयले सूचना निकालेरै सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी मानिस भेला हुन नपाउने भनेको छ।
गृहले होटल, रेस्टुरेन्ट, सिनेमा हल, रंगशाला र विमानस्थल र पार्कसहितका सार्वजनिक स्थानमा प्रवेश गर्न कोभिडविरुद्धको खोप लगाएको कार्ड देखाउनु पर्ने निर्णय गरेको छ।
सार्वजनिक स्थानमा कडाइ गर्दै गृह मन्त्रालयले दलहरूलाई सभा, सम्मेलन रोक्न भनेको छ।
तर एमाले अधिवेशनमा न सरकारकाे आदेश पालना गरिएकाे छ न त कुनै सावधानी नै अपनाएकाे देखिन्छ।
Shares
प्रतिक्रिया