नेकपा एमालेका अध्यक्ष केपी ओली मंगलबार कपिलबस्तु पुगेका छन्।
कपिलवस्तुको कृष्णनगरका मंगलप्रसाद गुप्तासहितका नेता कार्यकर्तालाई पार्टी प्रवेश गराउन उनी भैरहवा हुँदै कपिलवस्तु आएका हुन्।
सोमबार रुपन्देही आएका ओली लुम्बिनी तौलिहवा हुँदै कृष्णनगर पुगेका हुन्।
कृष्णनगरको बहादुरगञ्जमा आयोजित समारोहमा ओलीले गुप्तासहित कार्यकर्ताहरूलाई पार्टी प्रवेश गराएका छन्।
मंगलबार एमाले प्रवेश गरेका गुप्ता राजनीतिमा अस्थिर र दल फेरिरहनेमा पर्दछन्।
पार्टी परिवर्तन गरेर उम्मेदवार बनिरहे पनि उनले संसदीय चुनाव कहिले जित्न सकेनन्।
तत्कालीन समयमा जिल्ला पञ्चायत सदस्य उनी प्रजातन्त्र पुन:स्थापनापछि २०४७ सालमा कांग्रेस प्रवेश गरेका थिए।
२०४८ सालमा कांग्रेसबाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनेका थिए। तर उनी पराजित भए। २०५६ सालमा फेरि टिकट पाए पनि संसदमा जान सकेनन्।
१२ औँ महाधिवेशनमा कांग्रेसको केन्द्रीय सदस्य बन्ने प्रयास गरेपनि गुप्ता सफल भएनन्।
कांग्रेसको राजनीतिमा सफल हुन नसकेपछि मानवअधिकारको क्षेत्रमा पनि सक्रिय भए। उनी नेपाल मानव अधिकार संगठनको केन्द्रीय सदस्य पनि भएका थिए।
पछि उनी महन्थ ठाकुर नेतृत्वको तराई-मधेस लोकतान्त्रिक पार्टीमा प्रवेश गरे।
त्यहीँबाट २०७० सालको चुनावमा उम्मेदवार बनेपनि पराजित भए।
पार्टी फेरेर २०७४ सालको चुनावमा गुप्ता उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमबाट उम्मेदवार बने।
तर उनी कांग्रेसका अभिषेक प्रताप शाहसँग पराजित भए। शाहले २० हजार मत ल्याउँदा गुप्ताले १६ हजार जति मत प्राप्त गरेका थिए।
तेस्रो भएका एमाले उम्मेदवारले १४ हजार मत ल्याएका थिए।
कपिलवस्तुको कृष्णनगरमा बसेर राजनीति गरेका गुप्ताका समर्थकहरु भने धेरै छन्।
गुप्ता पार्टी प्रवेश गर्दा पश्चिम कपिलबस्तुमा आफ्नो प्रभाव बढाउने सकिने एमालेको अपेक्षा छ।
गुप्ता ठूलो दलबलसहित एमाले प्रवेश गर्ने भएपछि ओली कपिलवस्तु पुगेका थिए।
एमाले प्रदेश सांसद विष्णु पन्थीका अनुसार गुप्तासहित करिब ५ हजार एमालेमा प्रवेश गरे।
गुप्ता स्वयंले सम्बोधनका क्रममा आफूसहित ८ हजार जना एमालेमा आएको पनि दाबी गरे।
Shares
प्रतिक्रिया