नेपाली कांग्रेसको सभापतिदेखि महामन्त्रीसम्मका पाँचैजना पदाधिकारी फरक फरक प्रदेशबाट आएका छन्।
यसले कांग्रेसलाई भौगोलिक रुपमा पनि समावेशी बनाएको छ । सभापति शेरबहादुर देउवा सुदूरपश्चिम प्रदेश, उपसभापति पूर्णबहादुर खड्का कर्णाली प्रदेश, अर्का उपसभापति धनराज गुरुङ गण्डकी प्रदेशका हुन् ।
त्यसै गरि महामन्त्री गगनकुमार थापा बागमती प्रदेश र विश्वप्रकाश शर्मा प्रदेश १ का हुन्।
प्रदेश २ र लुम्बिनी प्रदेश भने पदाधिकारीको शीर्ष पाँचमा अटाउन सकेनन्। तर सहमहामन्त्रीको भाग भने प्रदेश २ र लुम्बिनीले पाएका छन्।
लुम्बिनी प्रदेशबाट गुल्मीका चन्द्र भण्डारी उपसभापतिको उमेदवार बनेका थिए । उनी पराजित हुँदा त्यो पद कर्णाली र गण्डकीतिर गयो।
रुपन्देहीका बालकृष्ण खाँण देउवा समूहबाट महामन्त्री लड्ने चर्चा थियो । तर आकांक्षी धेरै हुँदा उनी पछि परे।
देउवालाई साथ दिएका तेस्रो धारका कृष्ण सिटौलाले प्रदीप पौडेललाई अघि सारेपछि उनले केन्द्रीय सदस्यमै चित्त बुझाउनु पर्यो ।
लुम्बिनीलाई एक सहमहामन्त्री
नेपाली कांग्रेसको आठवटै सहमहामन्त्रीको नतिजा आइसकेको छ । पदाधिकारीमा शीर्ष पाँचमा अटाउन नसकेको लुम्बिनीले सहमहामन्त्री पाएको छ ।
खसआर्य समूहबाट बर्दियाका किशोरसिंह राठौर सहमहामन्त्रीमा विजयी भएका छन्। उनले देउवा समूहबाट उम्मेदवार बनेका थिए। अर्घाखाँचीका मानबहादुर विश्वकर्मा दलिततर्फको सहमहामन्त्रीको उमेदवार बने पनि पराजित भए।
नेपाली कांग्रेस लुम्बिनी प्रदेशका उपसभापति भुवन श्रेष्ठले लुम्बिनीले पदाधिकारी बलियो ठाउँ नपाउँदा केही खल्लो लागेको बताए।
‘चन्द्र दाइ उपसभापतिमा आएको भए धेरै राम्रो हुन्थ्यो, तर आउन सक्नुभएन,’ उनले भने ‘एकजना सहमहामन्त्री भए पनि आउनुभएको छ ।’
लुम्बिनीबाहेक अन्य ६ वटा प्रदेशले भने पदाधिकारीमा राम्रै ठाउँ पाएका छन्।
प्रदेश २ ले पदाधिकारीको शीर्ष पदमा ठाउँ नपाए पनि ३ जना सहमहामन्त्री पाएको छ । धनुषाका महेन्द्र यादव मधेशीतर्फ, बाराका फर्मुल्ला मन्सुर मुस्लिम र बाराकै उमाकान्त चौधरी थारुतर्फको सहमहामन्त्री बनेका छन् ।
शीर्ष पद पाएका कर्णालीबाहेक अरु ४ प्रदेशले एक–एक जना सहमहामन्त्री पाएका छन्।
आदिवासीतर्फका सहमहामन्त्री प्रदेश १ का हुन्। महिला सहमहामन्त्री डिना उपाध्याय बागमती प्रदेशकी हुन्।
दलिततर्फका सहमहामन्त्री जीवन परियार गण्डकी प्रदेशका हुन्। पिछडिएको क्षेत्रबाट सहमहामन्त्री बनेका बद्री पाण्डे सुदूरपश्चिम प्रदेशका हुन्।
Shares
प्रतिक्रिया