ad ad

राजनीति


कास्की २ मा २२ जनाको मनोनयन, नेकपा र कांग्रेसबीच नै मुख्य प्रतिस्पर्धा

कास्की २ मा २२ जनाको मनोनयन, नेकपा र कांग्रेसबीच नै मुख्य प्रतिस्पर्धा

वाशुदेव मिश्र
कात्तिक २१, २०७६ बिहिबार ११:४७,

कास्की क्षेत्र नम्बर २ को उपनिर्वाचनको लागि २२ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन्। मनोनयन दिएकामध्ये ११ जना विभिन्न पार्टीसँग आवद्ध छन् भने बाँकी स्वतन्त्र हुन्।

निर्वाचन आयोगले सुरुमै ३ जना उम्मेदवार नाम समानुपातिको सूचीमा रहेको भन्दै हटाएपछि २२ जनाको मनोनयनपत्र मात्रै वैधानिक बनेको हो।

उम्मेदवारको दावी विरोधलगायतका प्रक्रियापछि कात्तिक २४ गते मात्रै उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ। मनोनयन झिक्ने छुटको अधिकार पनि उम्मेदवारसँग रहेको छ।

मनोनय दर्ता गर्न जाँनुअघि नेकपा उम्मेदवार विद्या भट्टराई

मंसिर १४ गते हुने उपनिर्वाचनको लागि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) ले विद्या भट्टराईलाई उम्मेदवार बनाएको छ। स्वर्गीय रवीन्द्र अधिकारीकी धर्मपत्नी विद्याले बिहान साढे १० बजे उम्मेदवारी दर्ता गराएकी हुन्। उनको उम्मेदवारीमा नेकपा कास्कीका अध्यक्ष कृष्ण थापा प्रस्तावक र नेकपाको तर्फबाट प्रदेशसभा सदस्य प्रभा कोइराला समर्थक रहेका छन्।

यता, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पुराना नेता खेमराज पौडेललाई चुनावी मैदानमा ओरालेको छ। खेमराजको प्रस्तावकमा कांग्रेस नेता सोभियतबहादुर अधिकारी र समर्थकमा नेता देवराज चालिसे रहेका छन्। यी दुबै नेता खेमराजसँगै टिकटको दौडमा थिए। तर, अन्तिममा कांग्रेसले खेमराजलाई टिकट दिएको थियो।

समाजवादी पार्टीले सो क्षेत्रबाट धर्मराज गुरुङलाई उम्मेदवार बनाएको छ। यसैगरि राष्ट्रिय प्रजातन्त्र पार्टीले रोमबहादुर भण्डारी, साझाले रजनी केसी, नेपाल कम्युनिस्ट पार्टी (माले)ले टेकनाथ भण्डारी, राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)ले गंगा मल्ल, राष्ट्रिय जनमुक्ति पार्टीले पूर्णबहादुर राना, नेपाली कांग्रेस (बीपी)ले चन्द्रबहादुर रानाभाट, मंगोल नेपाल अर्गनाइजेसनले रियाज गुरुङ र देशभक्त समाजबाट वीरबहादुर विश्वकर्माले उम्मेदवारी दिएका छन्।

  राप्रपाका उम्मेदवारसँग अध्यक्ष कमल थापा

विवेकशील पार्टीले कास्कीमा पत्रकार सम्मेलन नै गरि उम्मेदवारी घोषणा गरे पनि पार्टी दर्ता नभएकाले स्वतन्त्रबाट मनोनयन दिन बाध्य भयो। सो पार्टीको तर्फबाट जमुना शर्मा उम्मेदवार बनेकी छन्। यसैगरी स्वतन्त्रबाट उमानाथ गौतम, कमलजंग कुवर, दीपक रेग्मी, नवराज बास्तोला, पुरुषोत्तम खनाल, यज्ञप्रसाद पंगेनी, रनबहादुर दमै, लक्ष्मीकुमारी भुजेल, सुनिलबहादुर कोइराला, सुनिल भुसालले उमेदवारी दर्ता गरेका छन्।

यस्तै संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट गजेन्द्र संबो लिम्बु, राष्ट्रिय नागरिक पार्टीबाट नवराज घले र राष्ट्रिय मुक्ति आन्दोलन नेपालबाट जयवन्त विक्रम शाहले उमेदवारी दर्ता गर्न गएपनि उनीहरुको नाम समानुपातिक सूचीमा भेटिएपछि उम्मेदवारको लिष्टमा समावेश नगरिएको कार्यालयले जनाएको छ। उम्मेदवारी दर्ता गरेकामध्ये ६ जना कास्कीभन्दा बाहिरका हुन्।

उम्मेदवारको संख्या धेरै भए पनि कास्कीमा सत्तारुढ दल नेकपा र नेपाली कांग्रेसबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ। यस अघि यो क्षेत्रमा अहिले तत्कालीन नेकपा एमालेबाट रवीन्द्र अधिकारी विजयी भएका थिए। उनको हेलिकोप्टर दुर्घटनामा निधन भएपछि हुन लागेको उपनिर्वाचनमा उनकी पत्नी विद्या नेकपाबाट उम्मेदवार बनेकी हुन्।

मनोनय दर्ता गर्दै कांग्रेस उम्मेदवार खेमराज पौडेल

प्रमुख प्रतिपक्षी कांग्रेसले पनि दुई समूहबीच विवाद देखिएपछि कास्कीका पुराना र कम विवादित नेता खेमराज पौडेललाई मैदानमा उतारको हो। यो उपनिर्वाचनमा मुख्यगरी नेकपा र कांग्रेसबीच नै प्रतिस्पर्धा हुने देखिन्छ।

बागलुङमा स्वतन्त्रसहित १० उम्मेदवार

आगामी मंसिर १४ गते हुने उप–निर्वाचनको लागि बागलुङमा २ स्वतन्त्र उम्मेदवार र ८ वटा पार्टीले मनोनयन दर्ता गराएका छन्। निर्वाचन क्षेत्र नं २ को (ख) प्रदेशसभा सदस्यको लागि हुन लागेको उप–निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय जनमोर्चाले संयुक्त रुपमा साझा बाम उम्मेदवार खडा गरेका छन् भने नेपाली कांग्रेसले यसअघिको निर्वाचनमा पनि पराजित बनेका उम्मेदवारलाई नै चुनावी मैदानमा उतार्ने गरी मनोनयन दर्ता गराएको छ।

समाजवादी, राष्ट्रिय प्रजातन्त्र, राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्त र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, राष्ट्रिय जनमुक्ति पार्टी र मंगोल नेशनल अर्गनाईजेशनले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

साझा वाम उम्मेदवारको रुपमा राष्ट्रिय जनमोर्चाका नेता खिमबिक्रम साहीको मनोनयन दर्ता भएको छ। नेपाली कांग्रेसका जीत शेरचनले उम्मेदवारी दर्ता गराएका छन्। उनी सोही क्षेत्रमा भएको यसअघिको निर्वाचनमा पराजित बनेका थिए। राप्रपा संयुक्तबाट निमबहादुर भण्डारी उम्मेदवार बनेका छन्। समाजवादी पार्टीबाट अशोककुमार बिकले मनोनयन दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

  बागलुङमा बाम गठबन्धनका उम्मेदवार खिमविक्रम शाही बायाँबाट दोस्रो। साथमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी

त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीले गणेशबहादुर कँवरलाई उम्मेदवार बनाएको छ। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट अनिलकुमार राई उम्मेदवार बनेका छन्। राष्ट्रिय जनमुक्ति पार्टीका यामबहादुर मगर, मंगोल नेसनल अर्गनाईजेसनका मित्रबहादुर मगरले उम्मेदवारी दताए गरेका छन्।

संयुक्त वाम उम्मेदवारको मनोनयन दर्ताका लागि नेकपाका स्थायी कमिटी सदस्य देवेन्द्र पौडेल र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए। राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय उपाध्यक्ष भीमप्रसाद शेरचन पनि उम्मेदवारी दर्ताको लागि निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए। मनोनयन दर्तापछि बोल्दै नेताहरुले आ–आफ्नै उम्मेदवारले जित्ने दाबी गरे।

विवेकशील नेपाली दलको समर्थनमा ढोरपाटन नगरपालिका १ का सन्तोष भण्डारीले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् भने नेकपामा असन्तुष्ट बनेका शेरमान घर्तीको पनि स्वतन्त्र उम्मेदवारी दर्ता भएको छ।

बाममा बागी

नेपाल कम्युनिष्ट पार्टीले उम्मेदवारका लागि प्रदेश कमिटीलाई गरेको सिफारिसमा ६ जनाको लिष्टमा परेका सेरमान घर्तिले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्।

  नेकपाबाट बागी उम्मेदवार बनेका शेरमान घर्ती मगर

लामो समय पार्टीमा रहेर काम गरेको भएपनि मूल्यांकन नगरेको भन्दै उम्मेदवारी दर्ता गराएको सेरचनले संक्षिप्त प्रतिक्रिया दिएका छन्। ‘नेताका नजिक अरु रहेछन्, जनताका नजिकै बसेर मैले काम गरिरहेको छु’ घर्तीले भने ‘चुनावी परिणाम जनताका पक्षमा आउँछ त्यसैको लागि मेरो उम्मेदवारी हो।’

नेकपा केन्द्रले राष्ट्रिय जनमोर्चासँग चुनावी तालमेल गर्ने निणर्य गरेपछि बागलुङमा राजमोका खिमबिक्रम मात्रै साझा उम्मेदवार थिए। नेकपामा असन्तुष्ट पक्षले बागी उम्मेदवारी दर्ताका लागि घर्तीलाई सघाएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .