ad ad

राजनीति


कास्की २ मा कांग्रेसबाट खेमराज पौडेल उम्मेदवार

कास्की २ मा कांग्रेसबाट खेमराज पौडेल उम्मेदवार

नेपालखबर
कात्तिक २०, २०७६ बुधबार १०:२४,

नेपाली कांग्रेसले प्रतिनिधिसभा अन्तर्गत कास्की २ को उपनिर्वाचनका लागि खेमराज पौडेललाई उम्मेदवार बनाएको छ।

कांग्रेस पदाधिकारीको बुधबार बसेको बैठकले कास्की पुराना नेता पौडेललाई उम्मेदवार सिफारिस गरेको हो।

आकांक्षी धेरै हुँदा कांग्रेसले मनोनयनको अघिल्लो दिन मात्रै उम्मेदवारको टुंगो लगाएको हो। उम्मेदवारका लागि देवराज चालिसे, धनराज गुरुङ र खेमराजको नामलाई लिएर कांग्रेसका तीन समूहबीच रस्साकस्सी चलेको थियो।

गुरुङको नाममा सहमति जुट्नै लाग्दा सभापति देउवा पछि हटेर पौडेलको नाम सिफारिस गरेपछि वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्ण सिटौला बैठक नै छाडेर बाहिरिएका थिए।

पौडेल र सिटौलाको असहमतिबीच नै देउवाले पौडेलाई उम्मेदावार सिफारिस गरेका हुन्। पौडेल कास्कीका पुराना कांग्रेस नेता हुन्।

देउवा पक्षका सहमहामन्त्री प्रकाशरण महतले कांग्रेसले एकजुट भएर उम्मेदवार छानेको दावी गरे। उनले खेमराज पौडेलका नाममा वरिष्ठ नेता पौडेल र सिटौला दुवैको समर्थन रहेको बताए। ‘उम्मेदवार छनौटमा विवाद भएको भन्ने कुरा सत्य होइन’, नेपालखबरसँग कुरा गर्दै महतले भने, ‘पौडेल र सिटौलीजी दुवैजनाले सभापतिलाई तपाईंले छानेको उम्मेदवारमा समर्थन छ भन्दै कार्यक्रमका लागि बाहिरिनु भएको हो, असहमतिका कारण होइन।'

टिकट पाएपछि नेपालखबरसँग कुरा गर्दै पौडेलले आफ्नो नाममा सबैको सहमति भएको दावी गरे।

‘मेरो उम्मेदवारीमा सबैको सहमति छ’, उनले भने, ‘तारानाथ, शुक्रराज लगायतका पुराना साथी र उम्मेदवारका दावेदार रहनुभएका देवराज चालिसेजीले पनि खुसी हुँदै मलाई बधाई दिनुभएको छ।’ उनले कांग्रेस एकजुट भएर चुनावमा होमिने दावी गरे।

उनले आफूले टिकट लिइसकेको र कास्की जाने तयारीमा रहेको जानकारी दिए।

कास्की २ बाट विजयी सांसद रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा निधन भएपछि सो क्षेत्रमा मंसिर १४ गते उपनिर्वाचन तोकिएको छ। उपनिर्वाचनका लागि सत्तारुढ दल नेकपाले अधिकारी पत्नी विद्या भट्टराईलाई र साझा पार्टीले कांग्रेसबाट भर्खरै पार्टी प्रवेश गरेकी रजनी केसीलाई उम्मेदवार घोषणा गरिसकेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .