नेपाली कांग्रेसको प्रदेश अधिवेशन अन्तर्गत शुक्रबार मनोनयन दर्ता हुँदै छ।
लुम्बिनी प्रदेशका लागि भैरहवाको गणतान्त्रिक सभा हलमा चुनावी कार्यक्रम चलिरहेको छ।
विहान ८ बजेदेखि ११ बजेसम्म उम्मेदवार मनोनयन दर्ता गर्ने तालिका बनाए पनि समय सारेर १२ बजेदेखि २ बजेसम्म कायम गरिएको छ।
सहमतिको लागि समय माग गरेकाले चुनावी तालिका केही सारेको प्रदेशका निर्वाचन अधिकृत डा. बुद्धबहादुर थापाले बताए।
उमेदवारको टुंगो दुई दिन अघि नै लागिसके पनि संस्थापन इतर अर्थात अमर पुनको प्यानलले अहिले मनोनयनको मुखमा उम्मेदवारी घोषणा कार्यक्रम राखेको छ।
यसअघि संस्थापन पक्ष अर्थात भरतकुमार शाहको प्यानलले बिहीबार बेलुका उम्मेदवारी घोषणा गरेको छ।
कांग्रेसको लुम्बिनी प्रदेश पदाधिकारीमा उम्मेदवार बनेकाहरू अधिकांश जिल्ला सभापति र सांसद भइसकेकाहरु रहेका छन्।
संस्थापन इतरबाट प्रदेश सभापतिका उम्मेदवार अमर पुन कांग्रेसको रोल्पाका निवर्तमान सभापति हुन्।
उनीसहित यो प्यानलमा ४ जना निवर्तमान सभापति पदाधिकारीका उम्मेदवार रहेका छन्।
उपसभापतिका उम्मेदवार भुवन श्रेष्ठ गुल्मीका निवर्तमान सभापति हुन्। महामन्त्रीका उमेदवार सुरेन्द्रराज आचार्य कपिलवस्तुमा दुई कार्यकाल सभापति चलाइसकेका छन्। सहमहामन्त्रीका उम्मेदवार विष्णु मुस्कान अर्घाखाँचीका निवर्तमान सभापति हुन्।
यीमध्ये अमर पुन र सुरेन्द्र आचार्य संविधान सभा सदस्य भएर राज्य मन्त्रीसमेत भइसकेका छन्।
अर्का उपसभापति अष्टभुजा पाठक अहिले प्रदेश सभा सदस्य छन्। उनी अघिल्लो अधिवेशनमा जिल्ला सभापतिमा हारेका थिए।
महामन्त्रीका उमेदवार विक्रम खनाल पनि संविधान सभा सदस्य हुन्। संस्थापन इतरबाट सहमहामन्त्रीमा खगराज पाण्डे र निमा गिरि रहेका छन्।
संस्थापन समूहबाट सभापति भएका भरतकुमार शाह अहिलेसँगै तीन कार्यकाल सांसद भएका छन्। उनी विगतमा अर्थ राज्यमन्त्री पनि भए।
उपसभापतिका उम्मेदवार सुधाकर पाण्डे कपिलवस्तुका पूर्व जिल्ला सभापति हुन्। उपसभापतिकै अर्का उम्मेदवार राजु खनाल संविधान सभा सदस्य भइसकेका छन्।
२०७४ को प्रतिनिधि सभाको निर्वाचनमा उनी माओवादी केन्द्रका कृष्णबहादुर महरासँग पराजित भएका थिए।
महामन्त्रीका उम्मेदवार जन्मजय तिमिल्सिना तरुण दलको कार्यवाहक केन्द्रीय सभापति भएका थिए।
अर्का महामन्त्रीका उमेदवार खिमानसिंह रायमाझी पनि तरुण दलमै आवद्ध नेता हुन् ।
त्यसबाहेक सहमहामन्त्रीमा लक्ष्मीनारायण चौधरी, माया पुन र सरिता चौधरी दौडमा छन्।
Shares
प्रतिक्रिया