ad ad

राजनीति


‘प्रदेश ३ को राजधानी तोक्न मुख्यमन्त्री मुख्य बाधक’

‘प्रदेश ३ को राजधानी तोक्न मुख्यमन्त्री मुख्य बाधक’

सागर न्यौपाने
कात्तिक १८, २०७६ सोमबार ११:५५,

संविधानअनुसार प्रदेश गठन भएको ६ महिनाभित्र प्रदेशको स्थायी राजधानी र नामाकरण टुंग्याउनुपर्ने व्यवस्था छ। तर, देशकै राजधानी समेत रहेको प्रदेश ३ ले भने दुई वर्ष पुग्नलाग्दा समेत नाम र स्थायी राजधानी तोक्न सकेको छैन।

काठमाडौं उपत्यकासहित १३ जिल्ला रहेको प्रदेश ३ को स्थायी राजधानी र नामाकरण मुख्यमन्त्री डोरमणि पौडेलका कारण रोकिएको प्रदेश सांसदहरुको ठहर छ।

२०७४ साल माघ ३ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले प्रदेशको अस्थायी मुकाम हेटौँडालाई तोकेको थियो।

तत्कालीन क्षेत्रीय प्रशासनिक कार्यालय हेटौँडामै भएकाले सरकारको अस्थायी राजधानी तोकेको प्रष्ट पारेको थियो। त्यसपछि स्थायी राजधानी तोक्ने जिम्मेवारी प्रदेशसभाको थियो। तर, प्रदेशसभाले अहिलेसम्म त्यसको प्रक्रिया नै अघि बढाएको छैन। जबकि गठन भएयता प्रदेशसभाको पाँच वटा अधिवेशन बसिसकेको छ।

प्रदेश सांसदहरु अधिवेसन चालु रहँदा हेटौँडा जाने गर्छन्। सकिएपछि काठमाडौँ फर्किन्छन्। कतिपय सांसद त प्रदेश सभा बसेकै दिन काठमाडौंबाट हेटौँडा पुगेर त्यही दिन काठमाडौं फर्कने गरेको बताउँछन्।

कर्णाली, सुदुरपश्चिम र गण्डकी प्रदेशले स्थायी राजधानी तोकेर नामाकरण समेत गरिसकेको छ। प्रदेशले ३ ले भने दुई वर्षसम्म पनि राजधानी तोक्न नसक्नुमा मुख्यमन्त्री नै जिम्मेवार रहेको सत्तारुढ नेकपाका सांसदहरुको आरोप छ।

मुख्यमन्त्री पौडेल आफैँ हेटौँडा निवासी भएकाले स्थायी राजधानी त्यहीँ राख्न उनले अनावश्यक चलखेल गरेको काभ्रेका सांसद रत्न ढकाल बताउँछन्। ढकालका अनुसार प्रदेश सरकार बनेको दुई वर्षसम्म पनि राजधानी नै तोक्न नसक्नुको मुख्य बाधक मुख्यमन्त्री आफैं हुन्।

मुख्यमन्त्री आफैँ विभिन्न दलका प्रमुखहरुलाई भेटेर हेटौँडालाई राजधानी बनाउन सहयोग माग्दै हिँडेको ललितपुरका एक सांसदले बताए। मुख्यमन्त्री पौडेलले एक महिनाअघि मात्र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड) देखि राप्रपाका अध्यक्ष कमल थापासम्मलाई भेटेका थिए।

स्थायी राजधानी कहाँ बनाउने भन्ने विषयमा प्रदेशसभाका सांसदहरु नै विभाजित छन्। चितवन र मकवानपुरका सांसदहरुले हेटौँडालाई राजधानी बनाउन माग गरेका छन्। बाँकी ११ जिल्लाका सांसद तत्काल हेटौँडाबाट सार्नुपर्ने अडानमा छन्। सत्तारुढ पार्टीभित्रै यो मतभेद रहेको थाहा पाएपछि मुख्यमन्त्री पौडेलले राजधानीको विषय नै संसदमा टेबुल नगराएको सांसद ढकालको भनाइ छ।

प्रक्रिया अघि बढाउँदा मुख्यमन्त्री अल्पमतमा पर्ने भएकोले उनी संसदमा त्यसलाई टेबल गर्नै नदिने रणनीतिमा रहेर वर्षे अधिवेशन सकाएको धादिङका प्रदेश सांसद तथा नेकपा नेता राजेन्द्र पाण्डेले दाबी गरे।

हेटौँडा अपायक भएकाले तत्काल राजधानी माग गर्दै सांसदहरुले २०७४ चैत १४ गते प्रदेश सभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका थिए। त्यसलाई प्रदेश सभाको बैठकमा निर्णयार्थ पेस नै नगरिएको ढकालको गुनासो छ। त्यसपछि राजधानी निर्धारणका लागि सम्भाव्यता अध्ययन गर्न २०७४ साल वैशाख १४ गते पाँच सदस्यीय समिति गठन गरिएको थियो।

उक्त समितिले काभ्रे, मकवानपुर, चितवन, भक्तपुर र नुवाकोटमध्ये एक ठाउँमा तोक्न सिफारिस गर्दै प्रतिवेदन बुझाइसकेको छ। तर, वर्षे अधिवेसनमा उक्त प्रतिवेदनलाई प्रदेशसभामा पेस गर्ने प्रक्रिया नबढाइएपछि सांसदहरु आक्रोशित छन्।

२०७४ साल माघ २८ गते मुख्यमन्त्रीमा नियुक्त भएर २९ गतेदेखि कार्यभार सम्हालेका पौडेलले सोही दिन प्रदेशको राजधानी तत्काल तोक्न पहल गर्ने बताएका थिए। त्यसपछि प्रायः सबै कार्यक्रममा उनले प्रदेशको राजधानी छिटो तोकिने बताएपनि व्यवहारमा भने त्यसो नगरेको प्रदेश सांसद चन्द्रबहादुर लामाले बताए।

तर, मुख्यमन्त्री पौडेल भने सहमतिका आधारमा स्थायी राजधानी टुंगो लगाउन छलफलमै रहेको दाबी गर्छन्।

‘स्थायी राजधानी तोक्ने विषय हतारमा, मतदानबाट गरिनु वैज्ञानिक हुँदैन, सबै दलसँगको परामर्शमा तोक्दा त्यसले विवाद ल्याउँदैन र दीर्घकालिन हुन्छ,’ उनले भने।

पौडेलले राजधानी हेटौँडामै हुनुपर्ने पक्षमा आफू नरहेको बताए।

तर, मुख्यमन्त्री पौडेलको भनाइमा विश्वास गर्न नसकिने सांसद पाण्डेले बताए। मुख्यमन्त्री हेटौँडालाई स्थायी राजधानी बनाउने अभियानमा सक्रिय रहेकैले अहिलेसम्म टुंगो नलागेको दाबी उनले गरे।

‘मुख्यमन्त्रीले राजधानी तोक्छु भनेर एक वर्षदेखि संसदलाई पटक–पटक ढाँटेका छन्,’ पाण्डेले नेपालखबरसँग भने, ‘आफूले बोलेको कुरा कार्यान्वयनमा ल्याउन मुख्यमन्त्रीलाई के ले छेकेको छ ? हाउसलाई ढाँट्ने मान्छे बेइमान मान्छे हो, बेइमानहरुकै कारण प्रदेश तीनको राजधानी र नामाकरण नतोकिएको हो।’

सांसद ढकाल पनि यसमा सहमत छन्। भन्छन्, ‘प्रदेशको राजधानी वर्षे अधिवेशनमै तोक्ने प्रक्रिया मुख्यमन्त्रीकै कारण रोकिएको हो। उहाँ हेटौंडामै राजधानी राख्ने प्रयासमा विभिन्न नेताहरूलाई भेटिरहनुभएको छ तर संसदमा प्रस्ताव ल्याउनु भएको छैन।’

मतदानबाट भएपनि प्रदेशको स्थायी राजधानी टुंगो लगाउन पनि सांसदहरुले माग गरेका थिए। मुख्यमन्त्री नै फलानो ठाउँमा राजधानी चाहियो भन्दै हिँड्नु अस्वभाविक भएको पाण्डेको आरोप छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .