ad ad

राजनीति


कैलालीमा ओली–रावल पक्ष टक्कर: कसले छानेका महाधिवेशन प्रतिनिधि वैधानिक?

कैलालीमा ओली–रावल पक्ष टक्कर: कसले छानेका महाधिवेशन प्रतिनिधि वैधानिक?

गोकुल जोशी
मंसिर २, २०७८ बिहिबार ९:८, काठमाडौँ

कैलालीमा एमालेको महाधिवेशन प्रतिनिधि छनोटमा जारी विवाद उत्कर्षमा पुगेको छ। संस्थापन पक्षले कैलाली निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधि छनोटमा एकलौटी गरेको आरोप लगाउँदै एमाले उपाध्यक्ष डा. भीम रावलको पक्षले छुट्टै प्रतिनिधि छानेको छ। 

महाधिवेशन प्रतिनिधि छनोटमा असन्तुष्ट भीम रावल पक्षले छान्यो नयाँ प्रतिनिधि

यसपछि कैलालीमा एमालेका संस्थापन र १० बुँदे समर्थक समूह आरोपप्रत्यारोपमा उत्रिएका छन्। निर्वाचन क्षेत्र नम्बर २ मा एक पक्षले छानेका महाधिवेशन प्रतिनिधिलाई अर्का पक्षले ‘अवैध’ भनिरहेका छन्। दुवै पक्षले आफैंले छानेका प्रतिनिधि ‘वैधानिक’ भएको दाबी गरिरहेका छन् र एकअर्कालाई स्वीकार गरिरहेका छैनन्। 

‘विधि र प्रक्रियाअनुसार महाधिवेशन प्रतिनिधि छनोट नगरिएकाले’ आफूहरूले पुनः भेला गरी छानेको एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्य तथा लम्कीचुहा नगरका मेयर महादेव बजगाईंले बताए।

निर्वाचनमा हारिने डरले कोठामा बसेर सर्वसम्मतका नाममा एकलौटी रूपमा प्रतिनिधि छानिएको उनको आरोप छ। 

‘कार्यकर्ताहरूबाट परास्त हुने डरले पार्टीको लेटरप्याडको पनि दुरुपयोग गरेर घोर अलोकतान्त्रिक शैलीमा कोठे बैठकबाट छनोट गरिएका प्रतिनिधि स्वीकार्य छैनन्’, उनले भने, ‘यसरी छानिएका प्रतिनिधि अवैधानिक हुन। त्यसको कुनै अर्थ छैन।’

उता एमाले कैलाली जिल्ला अध्यक्ष रतन थापाले बुधबार घोषणा भएका प्रतिनिधि अवैधानिक भएको दाबी गरेका छन्। 

‘व्यक्तिगत स्वार्थमा लागेर प्रतिनिधि घोषणा गरिएको हो। यसको कुनै अर्थ छैन’, उनले भने, ‘यो अवैधानिक काम हो। ती प्रतिनिधिले वैधता पाउँदैनन्।’

एमाले महाधिवेशनका लागि कैलाली–२ बाट प्रतिनिधिका दुई समूह खडा भएका छन्। यो क्षेत्र भीम रावलनिकट संघीय सांसद झपटबहादुर रावल र एमाले कैलाली अध्यक्ष रतन थापाको क्षेत्र हो।

एमाले कैलाली जिल्ला कमिटीले गरेको प्रतिनिधि छनोटप्रति असन्तुष्ट  रावल पक्षले निर्वाचन क्षेत्र नम्बर २ मा बुधबार छुट्टै भेला गरी ‘सर्वसम्मत’ नयाँ ९ जना प्रतिनिधि छनोट गरेको हो। 

रावल पक्षले यज्ञराज ढुंगाना, मनोज खड्का, रूप रावल, सूर्यबहादुर थापा, वीरेन्द्र रावल, भीम कुँवर, ममता रावल, गंगा थापा र बसुन्धरा भण्डारीलाई महाधिवेशन प्रतिनिधि चुनेको हो।

भेलामा निर्वाचन क्षेत्र नम्बर २ का १ हजार २ सय ८० जना संगठित सदस्यको सहभागीता रहेको एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्य बजगाईंको दाबी छ। उनले कार्यकर्तामाझ आएर प्रतिनिधि छानिएर देखाउन अध्यक्ष रतन थापालाई चुनौती दिएका छन्।

यसअघि कैलाली–२ मा संस्थापन पक्षले एमाले कैलाली अध्यक्ष रतन थापा, नेताहरू डेजी पाण्डे, दलबहादुर विष्ट, नरबहादुर खड्का, कमला ओली, टीका थापा, पदमपुरा साउद, गजेन्द्र स्वाँर र धरमबहादुर थापा मगरलाई महाधिवेशन प्रतिनिधि बनाइसकेको छ। 

प्रतिनिधि छनोट : दुई ठाउँमा चुनाव, अन्यमा सर्वसम्मत
एमालेले १०औं राष्ट्रिय महाधिवेशनका लागि सुदूरपश्चिम प्रदेशबाट कूल १ सय ६४ जना प्रतिनिधि चयन गरेको छ। 

१६ वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्रलाई आधार मानेर प्रदेशका ९ वटै जिल्लाबाट महाधिवेशन प्रतिनिधि छनोट गरिएको एमाले सुदूरपश्चिम प्रदेश कमिटीका अध्यक्ष कर्ण थापाले जानकारी दिए। 

उनका अनुसार दुईवटा क्षेत्रमा निर्वाचन र अन्यमा सर्वसम्मत प्रतिनिधि छनोट गरिएको हो। यही मंसिर १० देखि १२ गतेसम्म चितवनमा एमालेको १०औं महाधिवेशन हुँदै छ। 

कञ्चनपुर–१ र कैलाली–४ मा निर्वाचनमार्फत प्रतिनिधि छनोट गरिएको छ। राष्ट्रिय महाधिवेशनका लागि कञ्चनपुरका तीनवटै क्षेत्रबाट १६ जना प्रतिनिधि चयन गरिएका छन्। 

यस्तै कैलालीमा ४४, दार्चुलामा १२, बझाङमा १६, बैतडीमा १४, डडेल्धुरामा ११, बाजुरामा २१, कञ्चनपुरमा १६, डोटीमा १६ र अछामबाट १४ जना प्रतिनिधि छनोट गरिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .