नेपाली कांग्रेसका शीर्ष तीन नेताहरुले आसन्न १४ औं महाधिवेशनमा मिलेर जाने सैद्धान्तिक सहमति जुटाएका छन्।
उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहले १४ औं महाधिवेशनमा मिलेर जाने सैद्धान्तिक सहमति जुटाएका हुन्।
उपसभापति निधिको निवासमा सोमबार दिउँसो भएको छलफलमा नेतात्रयका बीचमा सहमति जुटाएर मिलेर जाने तथा थप छलफल र भेटघाटको दायरा बढाउदै जाने निष्कर्ष निकालेको नेता सिंहका स्वकीय सचिव युपी लामिछानेले बताए।
उनका अनुसार नेतात्रयका बीचमा बाँकी रहेका जिल्लाको क्रियाशील सदस्यता विवाद तत्काल टुंगोमा पुराउनु पर्ने र क्रियाशील सदस्यताका कारण महाधिवेशन कार्यतालिका प्रभावित हुन दिन नहुने विषयमा पनि छलफल भएको छ।
क्रियाशील सदस्यता विवाद टुंग्याएर तोकिएकै समयमा महाधिवेशन सम्पन्न गराउनुपर्नेमा नेताहरु एकमत रहेका लामिछानेको भनाइ छ।
सभापतिका आकांक्षी तीनै नेताहरुले छलफलमा तत्काल सरकारलाई तत्काल पूर्णता दिनुपर्नेबारे पनि कुराकानी भएको बताइएको छ।
यसअघि असोज ८ गते पनि नेतात्रयका बीचमा छलफल भएको थियो। त्यसअघि उनीहरुका बीचमा साउन १६ गते सिंह निवास चाक्सीबारीमा भेट भएको थियो।
आसन्न महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने मनस्थिति बनाएर नेताहरुबीच गत असार पहिलो साता उपसभापति निधिको वैवाहिक वर्षगाँठका अवसर पारेर छलफल सुरु भएको थियो।
Shares
प्रतिक्रिया