ad ad

राजनीति


एमाले सांसदलाई पूर्वमन्त्री पुनको प्रश्नः संसदमा ठूला कुरा गर्न लाज लाग्दैन!

एमाले सांसदलाई पूर्वमन्त्री पुनको प्रश्नः संसदमा ठूला कुरा गर्न लाज लाग्दैन!

फाइल तस्बिर


नेपालखबर
भदौ ६, २०७८ आइतबार ७:५५, काठमाडौँ

पूर्वमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य वर्षमान पुन ‘अनन्त’ले एमालेका अध्यक्ष केपी शर्मा ओली र उनका सांसदलाई प्रतिनिधि सभामा बस्न र बोल्न लाज हुनुपर्ने टिप्पणी गरेका छन्। 

दुई–दुईपटक प्रतिनिधि सभाको हत्या गरेका पूर्वप्रधानमन्त्री ओली र उनका समर्थक सांसदलाई पूर्वमन्त्री पुनले प्रश्न गरे, ‘तपाईंहरूलाई संसदमा बस्न र बोल्न लाज लाग्दैन!’ 

शनिबार बेलुका भक्तपुरमा आयोजित वाईसीएलको सूर्यविनायक नगर भेलालाई सम्बोधन गर्दै नेता पुनले पूर्वप्रधानमन्त्री ओली र उनका समर्थक सांसदलाई पदबाट राजीनामा दिएर नैतिकता देखाउन सुझाव समेत दिए। 

प्रतिनिधि सभा विघटन गरी आफैंले आफूलाई मारेका एमाले सांसदले नयाँ निर्वाचनबाट निर्वाचित नहुँदासम्म प्रतिनिधि सभाको सदस्य हुनु बेसर्मीको विषय भएको भन्दै पूर्वमन्त्री पुनले तुरुन्तै पद त्याग गर्न र तलब–भत्ता नलिने घोषणा गरी राजनीतिक नैतिकता प्रदर्शन गर्न आग्रह गरे।

‘हामीले ब्युँत्याएको संसदमा ठूलठूला कुरा गरी हामीलाई नै उपदेश दिने कहाँको नैतिकता हो,’ उनले भने।

तर एमाले अध्यक्ष ओलीबाट नैतिकताको आश गर्नु बेकार भएको उनले बताए।

उनले भने, ‘आज राजनीतिमा अनैतिकता मात्र भएको र इमान्दारिताको कुनै सानो अंश पनि नभएको प्रवृत्ति केपी ओली प्रवृत्तिका रूपमा देखापरेको छ।’

ओलीलाई ‘बा’ भन्दै उनको मूर्ति बोकेर हिँड्नेहरू विचार–शून्य व्यक्तिहरू पराजित र राजनीतिमा इमान्दारिता र विचारको विजय भएको जिकिर उनले गरे। 

लोकतन्त्रमा कोही शासक नहुने भन्दै नेता पुनले जनताको मालिक बन्न खोज्दा ओली प्रवृत्ति पराजित भएको र यसलाई राजनीतिमा पाठका रूपमा सबैले ग्रहण गर्नुपर्ने सुझावसमेत दिए।

सांसद भनेका जनताका वारेस मात्र भएकाले जे मन लाग्यो त्यही गर्न पाउने अर्थमा बुझ्न नहुने उनले बताए।

‘जनता सचेत छन्, जनप्रतिनिधि राजा–रानी बन्न खोजे, त्यो दुई दिन पनि टिक्दैन,’ उनले भने। 

सामन्ती सोच, व्यक्तिवादी चिन्तन, दम्भ र घमण्डले ७ वटामध्ये ६ वटा प्रदेशमा आफ्नो सरकार र संघमा दुईतिहाइ बहुमतको सरकार नेतृत्व गरेका ओली अहिले प्रमुख प्रतिपक्षी नेतासमेत नरहने स्थितिमा टिप्पणी नेता पुनले गरे। 

यस क्रममा नेता पुनले परिवर्तन र अग्रगमनको नेतृत्व आफ्नो पार्टी नेकपा माओवादी केन्द्रले गरिरहेको जिकिर पनि गरे।

देशको मात्र नभई पार्टीभित्रका पनि विकृति÷विसंगति हटाउन इमान्दार नेता÷कार्यकर्ताको कर्तव्य भएको उल्लेख गर्दैै उनले यसको अभिभारा युवाको काँधमा आएको बताए। 

युवाको क्रान्तिकारी विचार र जोशले मात्र पार्टी, समाज र देश समृद्ध बन्ने बताउँदै उनले युवा वर्गलाई राजनीतिमा अगाडि आह्वान पनि गरे। 

साथै देशैभरका युवाको आकर्षण माओवादी केन्द्रमा देखिएको दाबी पनि उनले गरे। जसले गर्दा आगामी निर्वाचनमा माओवादी केन्द्र पहिलो पार्टी बन्ने दाबी पनि उनले गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .