नेकपा(एमाले)को सोमबार बसेको बैठकले पार्टीको ह्वीप विपरित प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ जना सांसदहरुलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ। प्रवक्ता प्रदीपकुमार ज्ञवालीका अनुसार २४ घण्टा भित्रमा सांसदहरूले दिएको जवाफको आधारमा पार्टीले कारबाही प्रक्रिया अगाडि बढाउनेछ।
मंगलबार बस्ने केन्द्रीय कमिटी बैठकले फ्लोर क्रस गरेर प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने सांसदहरूलाई सम्भवत कारबाही प्रक्रिया अगाडि बढाउने छ। बैठकले लामो समयदेखि विवादमा रहेको पार्टी संस्थापन पक्ष र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीचको विवादलाई वारपार गर्नसक्ने आँकलन गरिएको छ।
बैठकमा उपस्थित केन्द्रीय कमिटी सदस्यहरुले फ्लोर क्रस गर्ने सांसदहरूलाई पार्टीले कारबाही गर्न ढिलो गर्नु नहुने मत राखेका छन्। बढीभन्दा बढी केन्द्रीय सदस्यहरूले माधव नेपाल पक्षले अक्षम्य राजनीतिक अपराध गरेको भन्दै माफी दिन नसकिने बताएका छन्।
एमाले केन्द्रीय सदस्यहरूले माधवकुमार नेपाल पक्षधरलाई एमालेमा स्वीकार गर्न नसकिने बताएका छन्।
केन्द्रीय कमिटी सदस्य मना केसीले माधव कुमार नेपाल पक्षले फ्लोर क्रस गर्नुलाई इतिहासले क्षम्य नगर्ने बताइन्। सो समुहले कम्युनिष्ट आन्दोलन प्रति समर्पित सबैको निम्ति घातक निर्णय गरेको बताइन्।
केन्द्रीय कमिटी सदस्य बद्रीप्रसाद न्यौपानेले एकताका निम्ति गठित कार्यदलले गरेको १० बुँदे सहमतिलाई पार्टीले ग्रहण गरिसकेको भन्दै माधवकुमार नेपाल बाहेकका नेताहरूलाई आत्मालोचनासहित पार्टीमा फर्किदा ठाउँ रहेको बताए। यसरी फर्किनेलाई पार्टीमा उचित जिम्मेवारी दिने प्रतिवद्धता ओलीले गरेको उनले बताए।
केन्द्रीय कमिटी सदस्य उमा कोईरालाले विपक्षीलाई विश्वासको मत दिएर गद्धारी गरेको बताइन्। सो समूहलाई पार्टीबाट निष्काशन गर्नुपर्ने उनले बताइन्। स्पष्टीकरण सोधेर प्रक्रिया पुर्याई पार्टीबाट निष्काशन गरिने उनको भनाइ छ। आफूहरु जनतामा लोकप्रिय भएको भन्दै उनले माधव समूहलाई कारबाही गरेर हटाउँदा संगठन कमजोर नहुने पनि उनले जिकिर गरिन्।
केन्द्रीय कमिटी सदस्य कर्णबहादुर थापाले विश्वासको मत दिएर असंसदीय, पार्टी र कम्युनिष्ट आन्दोलन विरोधी गतिविधि गरिएको बताए। नेपाल पक्षले जनता र मतदातालाई धोका दिएको भन्दै उनीहरु आफैँले स्वघोषणा गरेर एमाले परित्याग गरेको धारणा राखे।
केन्द्रीय कमिटी सदस्य विष्णु रिजालले संसदमा विकृत रुप देखिएको बताए। जति छिटो पार्टीलाई एकतावद्ध बनाउन सकिन्छ त्यति छिटो यस्ता विकृत कदम रोकिने भन्दै उनले पार्टी एकतामा जोड दिए। पार्टीको आइतबारको केन्द्रीय कमिटी बैठकले कार्यदलको १० बुँदे सहमतिको स्वामित्व ग्रहण गरेको उनको भनाई छ। अब एमालेमा कुनैपनि नेता, कार्यकर्ता प्रणालीभन्दा बाहिर जानु नपर्ने तथा सबैको दायित्व, जिम्मेवारी र अधिकार एमालेमा स्थापित छ भन्ने स्थापित भएको उनले उल्लेख गरे।
केन्द्रीय कमिटी सदस्य लिला गिरीले फ्लोर क्रसलाई घातक तथा कालो दिनको रुपमा चित्रण गर्दै यसले मुलुकको संसदीय र प्रजातान्त्रिक व्यवस्थालाई नोक्सान पुर्याएको बताइन्। यसको असर इतिहासमा देखिने उनको भनाइ छ। पार्टी विरुद्धको जघन्य अपराध भएकाले अपराध गर्नेहरु विरुद्ध कारबाही गरिनुपर्ने उनको मत छ।
केन्द्रीय कमिटी सदस्य मोहन बाँनियाले आफ्नै पार्टीको प्रधानमन्त्रीलाई अपदस्त गराउनको लागि राजनीतिक अपराध भएको बताए। यसले पार्टीलाई मात्र नभई स्वयं व्यक्तिहरूलाई पनि घाटा हुने उनको तर्क छ। वरिष्ठ नेता माधवकुमार नेपाल पक्षसँग पार्टी एकताको सम्भावना नभएको उनले स्पष्ट पारे।
(न्युज एजेनसी नेपालले गरेको कुराकानी।)
Shares
प्रतिक्रिया