भीडभाड, भागदौड अनि व्यस्त जिन्दगी– काठमाडौंको दिनचर्या। आरामका लागि फुर्सद निकाल्ने कुरा राजधानीवासीका लागि दुर्लभ छ। जहिल्यै र जताततै कामै कामको चाप। त्यही कारण होला– एक सहरियाले अर्को सहरियालाई चिन्दैन र वास्ता गर्दैन।
तर यही व्यस्त सहरमा समय निकाल्ने हो भने मस्त हुन सकिन्छ। साँझपख कौसीमा टहलिने मात्र हो भने पनि गोधुली साँझको भरपुर मज्जा लिन सकिन्छ। भरियाको दिनभरको थकान मेटाउने बेला, सबै पेसा व्यवसायीको विश्राम लिने बेला, बालबालिकाहरु खेल्दै र रमाउँदै गल्लीहरूमा हसिलो अनुहार देखिने बेला, मठमन्दिरमा आरती, पूजापाठ र दियोको उज्यालो र गोधुली साँझमा रमाउँदाको मज्जा नै बेग्लै हुन्छ।
यो बेला केही समय निकालेर टहलिने हो भने छुट्टै आनन्द हुन्छ। जब दिन ढल्दै जान्छ, राजधानीको आकाश पनि रंगीन बन्छ। नीलो आकाशमा रातो अनि पहेंलो रङ भरिन्छ। चराचुरुङ्गीका मधुर आवाज पनि कहीँकतै सुन्न सकिन्छ, सडक छेउका बस्तीबाहेक।
हिजोआज सूर्यास्तसँगै राजधानीका गोधुली साँझ रंगीन देखिन्छन्। सूर्योदय र सूर्यास्त हेर्न नगरकोट र सराङकोट धाउने राजधानीवासीले फुर्सद निकालेर कौसीमा बस्ने मौका निकाल्न हो भने भरपुर आनन्द लिन सकिन्छ। हल्का बादल भएको बखत दक्षिणी क्ष्तििज पहेंलो अनि रातो हुन्छ। बादल फाटेको साँझ सूर्यास्त हेर्न रमाइलो हुन्छ। पछिल्लो समय निरन्तरको झरिका कारण प्रदूषण हटेको छ। सहरका अग्ला भूभाग भक्तपुर, कपनजस्ता ठाँउबाट साँझको सूर्यास्त हेर्न लालयित बन्छन् हरेक नयन। दिउँसोको उज्यालो त सबैले हेर्छन् तर साँझको गोधुली उज्यालोमा पनि काठमाडौं उपत्यका त्यत्तिकै सुन्दर देखिन्छ।
हेर्नुहोस्, न्युज एजेन्सी नेपालले तयार पारेको फोटो फिचर–
Shares
प्रतिक्रिया