कहिले असाध्यै प्रिय, कहिले कता कता अप्रियजस्तो पनि लाग्ने मित्र– देवेन्द्र भट्टराईले केही दिनअघि एउटा गीत र त्यससँग सम्बन्धित गज्जबको कथासहितको एउटा लिंक पठाए।
सुनें। हेरें।
जुन कथा बुनेका हुन्, मोहन मैनालीले।
गीतको शीर्षक हो– केन्जिङ कति दूर?
मोहन मैनालीले ढाँटेनन्। र, भने– गीत, हिमाञ्चलको ‘चम्बा कितना दूर हे’ को नक्कल हो। नक्कल गर्दाको कथा जसरी मैनालीले बुने, त्यसबाट म प्रभावित भएँ। जहाँ असामी गायक भूपेन हजारिकादेखि अमेरिकी गायक पउल रोबेसनसम्मका कुरा छन्।
किन किन, नदी, पहाड र हिमाल भनेपछि म हुरुक्क हुन्छु। मलाई गंगा मन पर्छ। मलाई ब्रह्मपुत्र मन पर्छ। मलाई इन्दुज, जेलम, चेनाभ मन पर्छन्। मलाई किन किन नारायणी, त्रिशूली, मादी नदी मन पर्छन् (मन परेको त्यहाँका माछा खान पाएरचाहिँ होइन है)।
फोहोरी त मान्छेले बनाएको हो, बागमती शब्दै प्रिय लाग्छ, मलाई। पोखराको सेती नदीछेउछाउ हुर्केको मान्छे म। सेती नदी मन पर्छ।
नदी वा पहाडमा के ताकत हुन्छ कुन्नि, जान्दिनँ। तर म तानिन्छु अथवा तिनले मलाई तान्छन्।
मलाई नदी, पहाड र हिमाल चुम्बकजस्तै लाग्छन्। यसो भनौं, नदी, पहाड र हिमालले मलाई आकर्षित गर्छन्।
म मात्र होइन, अरूहरू पनि यसैगरी तानिँदा हुन् अथवा अरूहरू धेरैलाई पनि तान्दा हुन्– नदी, पहाड र हिमालहरूले।
किन किन मलाई ती भगवानका घरजस्ता लाग्छन्, तर म भगवान् भनेर हुरुक्क हुने मान्छे होइन। मलाई किन किन त्यहाँभित्र हाम्रा आत्मा छन् जस्तो लाग्छ।
यो मेरो अति भावुकता पनि हुन सक्छ। हो, यही भावुकताले त हो– अक्सर मलाई गलाउने।
अहिले म केही गलेजस्तो छु। किनकि मलाई यतिबेला ‘चम्बा कति दूर छ’ वा ‘केजिङ कति दूर छ?’ प्रति त्यति चासो छैन।
मलाई त यतिबेला नेपालकी मेरी आमालाई सोध्न मन छ– ‘आमा ! मृत्यु कति दूर छ?’
मेरी आमा, जो ७० वर्ष कटिसक्नुभएको छ र तीन वर्षदेखि ओछ्यानमा लडिरहनुभएका मेरा बा र बिरामी हजुरआमाहरूको सकिनसकी स्याहार गरिरहनुभएको छ।
सबैलाइ सम्झेर, यो कोरोना कहरमा मलाइ यत्ति सोध्न मन छ– ‘आमा ! मृत्यु कति टाढा छ?’
आमाको मुखबाट मलाई यत्ति सुन्न मन छ– ‘तँ ढुक्क भएस्, प्रधानमन्त्री ओलीले भनेजस्तै सबै नियन्त्रणमा छ। र, मृत्यु पनि। मृत्यु, काठमान्डौंबाट केन्जिङजस्तै टाढा छ। मृत्यु दिल्लीबाट चम्बाजस्तै टाढा छ।’
तर मेरी आमा अर्कै कुरा भनिरहनुभएको छ। उहाँ सुनाउनहुन्छ– ‘हिजोआज काठामाडौंको आफ्नै घरवरिपरि मृत्यु खुलमखुला डुलिरहेको छ।’
आमाको कुरा सुनेर म डराइरहेको छु। आमाले भने पनि, नभने पनि नेपाल सरकार, त्यसका संयन्त्र र र काम गर्ने तरिकासँग म राम्ररी परिचित छु। यसैले मेरो डर झन् बढेको छ।
सन् २०२० यसै समय, जतिबेला अमेरिकामा कोरोना त्रासदी व्यापक थियो। म फोनमा आमासँग पिलपिल गर्थें। र, आमा मलाई कवयित्री रीता पोखरेल र वाचक सरु गुरागाईंको भावमा सम्झाउनुहुन्थ्यो–
आमाको मुटु दुख्छ बाबु, त्यसरी आँखा भिजायौ भने
आधा रोग निदान हुन्छ, मनको हाँसो सुनायौ भने
ठीक उल्टो आज मलाई आमालाई सुनाउन मन छ–
छोराको मुटु दुख्छ आमा, त्यसरी आँखा भिजायौ भने
आधा रोग निदान हुन्छ, मनको हाँसो सुनायौ भने
नेपालकी मेरी आमा यतिबेला हाँसो सुनाउने अवस्थामा हुनुहुन्न। डरमा हुनहुन्छ। त्रासमा हुनुहुन्छ। हाहाकारजस्तो त्रासदी। म टाढाबाट देखिरहेको छु।
महामारीले कसरी मान्छेलाई उपायविहीन बनाउँछ, म राम्ररी जान्दछु। तर राज्य, सरकार र उसको अव्यवस्थाका कारण मेरी आमाको त्रास झनझन् बढिरहेको छ।
आमा मलाई सोध्नुहुन्छ– तँ ठीक छस् नि? उत्तर दिन्छु– आमा ! म ठीक छु। दुवै डोज भ्याक्सिन लिइसकें। यहाँ त्यस्तो केही छैन।
उता आमा भने दोस्रो डोज भ्याक्सिनको अनिश्चयमा हुनुहुुन्छ। चीनले दिन्छ कि भारतले? अहिले दिन्छ कि कहिले? जसरी माग्नेलाई आफ्नो ग्राहकको पत्तो हुँदैन, उही हाल छ, मेरो मातृदेशको, मेरी आमाको।
सरकारका प्रमुख भने अघाएर डुक्राएको भैंसीजस्ता छन्, जो भनिरहेका छन्– सब ठिकठाक छन्।
मान्छे मरिरहेका छन् ! स्थिति उपायविहीन छ ! मृत्यु घरघर नाचिरहेको छ ! मृत्युको ताण्डव छ ! सरकार प्रमुख भनिररहेका छन्– नियन्त्रणमा छ !
यस्तो लाग्छ– सरकार प्रमुख ओली, यमराज हुन्, मृत्युको बहिखाता पनि उनैसँग छ।
मलाई उडेर गएर, यहाँको फालाफाल भ्याक्सिन मेरा आमा, बा, भाइ तथा सम्पूर्ण बाआमा, दाजुभाइ वा दिदीबहिनीहरूलाई दिन मन छ।
मलाई थाहा छ- उता मेरो सरकार, कसरी सत्ता जोगाउने भन्ने चक्करमा छ। यता म, त्यहाँ रहेका मेरा आमा, बा, भाइ र आफन्त कसरी जोगाउने भन्ने चिन्तामा छु।
उता अर्थात् नेपालका स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले केही दिनअघि भनेको सुनिरहेको थिएँ– महामारीमा यस्तै हुन्छ। अमेरिकमा पनि यस्तै भएको थियो।
तिनको भनाइ सुनेर म अवाक् भएँ।
हो, अमेरिकामा पनि त्यस्तै भएको हो। तर अमेरिकाले के गर्यो, थाहा छ? अमेरिकाले के गर्न सक्छ, थाहा छ?
अमेरिकाले आफैं औषधि बनाउन सक्छ। ऊसँग फाइजर छ र मोडर्ना छन्। अमेरिकाले समुद्रबीचमा रातारात पानीजहाजमा अस्पताल खडा गर्न सक्छ। मोटर कारखानालाई अक्सिजन र भेन्टिलेटर कारखानामा बदल्न सक्छ।आफ्ना नागरिकलाई ३/३ चोटि पैसा बाँड्न सक्छ।
अमेरिकाले राज्यका तर्फबाट एउटा नागरिकप्रति भएको गल्तीप्रति करोडौं क्षतिपूर्ति दिन्छ।
त्रिपाठीजी, तपाईं बडो धाक लगाएर बोल्नुहुन्छ। सिक्नै परे राम्रा कुरा सिक्नुसन् न।
नसक्दा, अमेरिकाले पनि सकेन भन्ने ! अनि सक्ने कुरामा, अमेरिकाले जस्तो हामीले पनि सक्छौंचाहिँ भन्न नसक्ने !
झन्डै ३० वर्षदेखि सत्तावरिपरि बसेको तपाईंले कहिले यी कुरा ख्याल गर्नुभएको छ? यही प्रश्न प्रधानमन्त्री खड्गप्रसाद ओलीलाई पनि। विचरा उनलाई पनि भन्नु के छ र !
नेपाल देश, जो आज सत्ता र मृत्युको खग्रास ग्रहणमा छ। प्रधानमन्त्री मिर्गाैला रोगी, देश कोरानाबाट बिरामी !
मेरी आमालाई कसले बचाउँछ?
टाढाबाट मैले नेपालको जुन चित्र देखिरहेको छु र कुरा सुनिरहेको छु, आँखाभरि आँशु बोकेर आमालाई यत्ति सोध्न मन छ– आमा ! मृत्यु कति दूर छ?
प्रतिक्रिया