ad ad

विचार


चीनलाई सुत्न देऊ

चीनलाई सुत्न देऊ

किशोर महबुबानी
असोज ६, २०७७ मंगलबार ११:३६,

एक्काइसौँ शताब्दीको दुई दशक बितिसकेको छ। यससँगै पश्चिमा विश्वको मुख्य चुनौती पनि स्पष्ट भएको छ। त्यो हो– विश्वमञ्चको केन्द्रमा चीनको पुनरागमन। सन् १९८० देखि २०२० सम्म चीनको सुधारको पहिलो चरणलाई पश्चिमले राम्रोसँग व्यवस्थापन गर्न सक्यो। यो अवधिमा चीनले कुनै युद्ध लडेन। तर, सुधारको दोस्रो चरणमा पश्चिमले आफूलाई असफल बनाउँदैछ।

यो असफलता पश्चिमको तीन वटा गलत मान्यताहरुको नतिजा हो। पश्चिमको पहिलो गलत मान्यता होे– जबसम्म चीनमा कम्युनिस्ट पार्टीको शासन रहन्छ, तबसम्म ऊ असल साझेदार बन्न सक्दैन। यो धारणा पश्चिमाहरुको दिमागमा गहिरोसँग बसेको छ। उनीहरुका अनुसार १९८० को दशकको अन्त्यमा सोभियत संघको पतनसँगै कम्युनिज्म इतिहासको नालीमा बग्नुपर्थ्यो। त्यसैले उनीहरुको तर्क छ– चिनियाँ जनताको बुद्धिमत्ताविरुद्ध दमन गरेर शासन चलाउने पार्टीसँग विश्वले कसरी सहकार्य गर्न सक्छ?

तर, धेरैजसो चिनियाँ जनता कम्युनिस्ट पार्टीलाई दमनकारी मान्दैनन्। यसका अनेक प्रमाण छन्। वास्तवमा पछिल्लो एडेलम्यान ट्रस्ट ब्यारोमिटरको तथ्यांकअनुसार त संसारमा सरकारलाई सबैभन्दा बढी नागरिकको समर्थन रहेको मुलुक हो चीन। स्ट्यानफोर्ड युनिभर्सिटीकी मनोविज्ञान विषयकी अनुसन्धानकर्ता जिन फ्यानले सन् २०१९ मा चीनको भ्रमणपछि लेखेकी थिइन्, ‘चीन तीव्र गतिमा परिवर्तन भइरहेको छ। यो यसरी परिवर्तन भइरहेको छ, जसलाई आफ्नै आँखाले नदेखी बुझ्न सकिन्न। अमेरिकामा गतिरोध छ तर चीनको संस्कृति, आत्मचेत र मनोबल तीव्र गतिमा बदलिरहेको छ। र, त्यस्तो परिवर्तन सकारात्मक छ।’

यति हुँदाहुँदै पनि पश्चिमाहरु अर्को गलत मान्यता राख्न पुग्छन्। त्यो हो– अहिले चिनियाँ कम्युनिस्ट पार्टीसँग चिनियाँ जनता खुसी भए पनि चीन तुरुन्तै लोकतान्त्रिक प्रणालीमा जाने हो भने उनीहरुका साथै बाँकी विश्वको पनि भलो हुने हुनेछ।

सोभियत संघको पतनअघिसम्म सायद केही चिनियाँहरु तत्काल लोकतन्त्रमा जाने विषयलाई सम्भव ठान्थे। तर सोभियत पतनपछि रुसी जनताको जीवनस्तरमा गएको पहिरो देखेका उनीहरु अहिले यसलाई विश्वास गर्दैनन्। केन्द्र सरकार कमजोर हुने हो भने भयंकर भद्रगोल र जनताको दुर्दशा हुनेमा कसैलाई शंका छैन। प्रमाणका लागि चिनियाँ जनता आफ्नो ४ हजार वर्ष लामो इतिहासलाई हेर्छन्। र, खासगरी सन् १८४२ देखि १९४९ सम्म चीनले भोगेको ‘अपमानको शताब्दी’लाई नियाल्ने गर्छन्।

त्यसमाथि लोकतान्त्रिक तवरले चुनिएको सरकार उदार नै हुन्छ भन्ने कुनै ग्यारेन्टी छैन। लोकतान्त्रिक चुनावबाट निर्वाचित भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरुले १९६१ मा अमेरिकी राष्ट्रपति जोन एफ केनेडी र बेलायती प्रधानमन्त्री ह्यारोल्ड म्याकमिलनको विरोधका बाबजूद पोर्चुगलको उपनिवेश रहेको गोवा कब्जा गरे। सम्भवतः लोकतान्त्रिक चीन पनि हङकङ र ताइवानको मुद्दामा अझ बढी अधीर बन्न सक्छ।

त्यस्तै, लोकतान्त्रिक रुपमा चुनिएको चिनियाँ सरकार सिन्झियाङको पृथकतावादी आन्दोलनलाई दबाउने मामिलामा कमजोर देखिन पक्कै नचाहला। उदाहरणका लागि कस्मिरमा भारत सरकारको दमनलाई हामी हेर्न सक्छौँ।

चीनका कुनै पनि छिमेकी बेइजिङमा सत्ता परिवर्तन गर्न जोड दिइरहेका छैनन्। एसियाका सबभन्दा ठूला लोकतन्त्रले पनि चिनियाँ सत्ता परिवर्तनको आवाज उठाएका छैनन्। पहिलेको तुलनामा आक्रामक बन्दै गएपनि अन्य विकल्पभन्दा स्थिर चीन नै उनीहरुका लागि हितकारी हुन्छ।

पश्चिमाहरुको तेस्रो गलत मान्यता चाहिँ सबैभन्दा खतरनाक हुन सक्छ। चीन लोकतान्त्रिक भए उसले अन्ततः पश्चिमा मूल्यमान्यता र अभ्यासलाई स्वीकार्नेछ। र, खुसीसाथ जापानजस्तै ‘पश्चिम–प्लस क्लब’ को सदस्य बन्ने छ।

तर, एसियामा यसको बिल्कुल उल्टो सांस्कृतिक लहर चलिरहेको छ। टर्की र भारत दुवै पश्चिमका मित्र हुन्। तथापि टर्की मुस्तफा कमल अतातुर्कको धर्मनिरपेक्ष विचारधारालाई त्यागेर रेसेप तैयप एर्दोगानको इस्लामिक विचारधारालाई अपनाउन पुगेको छ। भारतले पनि बेलायत–प्रशंसक नेहरुको विचारधाराबाट हिन्दुभक्त नरेन्द्र मोदीको विचारधारामा फड्को हानेको छ।

अहिले पश्चिमीकरणलाई परित्याग गर्ने लहर नै चलेको छ। यो तथ्यलाई हामीले स्वीकार्नै पर्छ। त्यसभन्दा महत्वपूर्ण विषय, एर्दोगानले हागिया सोफिया संग्राहालयलाई मस्जिदमा बदल्ने घोषणा गर्दा र मोदीले विवादित भूमिमा राममन्दिर स्थापना गर्दा पनि उनीहरुले पश्चिमाहरुको प्रभाव विस्तार हुनुअघिको सांस्कृतिक जगमा फर्किने चाहना व्यक्त गरेका छन्।

नेपोलियनले पश्चिमाहरुलाई चेताएका थिए, ‘चीनलाई सुत्न देऊ। चीन उठ्यो भने उसले दुनियाँ हल्लाउँछ।’ नेपोलियन सही थिए। टर्की र भारतमा भन्दा बढी चीनमा पश्चिमविरोधी भावना गुम्सिएको छ। जुन ज्वालामुखीका रुपमा विस्फोट हुनसक्छ। अहिले चिनियाँ राष्ट्रवादको त्यस्तो शक्तिलाई दबाएर राख्न सक्ने एउटै शक्ति भनेको चिनियाँ कम्युनिस्ट पार्टी हो।

चिनियाँ कम्युनिस्ट पार्टीको उत्तराधिकारी त्योभन्दा निकै कम विवेकशील हुनसक्छ। पश्चिमाहरुको चीनलक्षित वर्तमान नीतिहरुलाई बेलगाम छाड्नुअघि यो तथ्यलाई मनन गर्न आवश्यक छ। पश्चिमाहरुले चीनसम्बन्धी आफ्ना सबै आधारभूत बुझाइलाई पूर्ण रुपमा बदल्न आवश्यक छ। तसर्थ चीनलाई बदल्ने इच्छा व्यक्त गर्नुभन्दा पश्चिमा मुलुकहरुले चिनियाँ नेतृत्वसँगै बाँच्न र मिलेर काम गर्न सिक्नुपर्छ।

(फाइनान्सियल टाइम्सबाट। किशोर महबुबानी नेसनल युनिभर्सिटी अफ सिंगापुरका वरिष्ठ अध्येता हुन्। उनी ‘ह्याज द वेस्ट लस्ट इट?’ र ‘ह्याज चाइना वन?’ पुस्तकका लेखक पनि हुन्।)

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .