ad ad

विचार


कोरोनाबाट बच्न अनलाइन किनमेल, दशैँमा गाउँ जाँदा क्वारेन्टिन

कोरोनाबाट बच्न अनलाइन किनमेल, दशैँमा गाउँ जाँदा क्वारेन्टिन

डा.सुरेश तिवारी
भदौ ३१, २०७७ बुधबार १५:४,

यतिबेला कोरोना संक्रमण कुनै न कुनै रुपमा समुदायमा फैलिसकेको छ। तथापि व्यवहारिक रुपमा हेर्दा जनताको चासो र देशको अर्थतन्त्रलाई ध्यान दिएर पनि अब सबै क्षेत्र खोल्नुपर्ने अवस्था छ। आवश्यक औषधि उत्पादन गर्न, वितरण गर्न पनि मानिसको चहलपहल हुनुपर्‍यो, बजार खोल्नुपर्‍यो।

लकडाउन खोल्दा के फरक भयो त भनेर हामीले हेर्नुपर्छ। हाम्रा गतिविधिलाई व्यवस्थित गर्दै जनजीवन खुला गर्ने हो भने क्षति कम गर्न सकिन्छ। खोल्दा अनुशासित भएर खोल्यौं, जनस्वास्थ्यका नियम पालना गर्‍यौं भने ठूलो महामारीलाई रोक्न सक्छौँ।

सार्वजनिक यातायातलाई ‘कोटेड डिस्इन्फेक्टेन्ट’ 
सबै क्षेत्र पहिलेजस्तै खोल्दा सबैभन्दा ठूलो चुनौती सार्वजनिक यातायातको क्षेत्रमा हुने देखिन्छ। यद्यपि संक्रमण फैलिन नदिन केही उपायहरु अपनाउन सकिन्छ।

सार्वजनिक यातायात सञ्चालनको प्राथमिक सर्त नै डिस्इन्फेक्सन हो। चीनको वुहान, जापान, कोरिया र भारतमा पनि सार्वजनिक स्थान, साधनहरुलाई डिस्इन्फेक्ट गरेर मात्र सञ्चालनमा ल्याइएको थियो। अब हामीले त्यही गर्नुपर्छ।

प्लेन, बस, सार्वजनिक स्थानलाई डिस्इन्फेक्ट गरौं। यो काम गरेर मात्र तिनलाई सञ्चालन गरौँ। एयरपोर्ट, बसपार्क, सार्वजनिक सवारी साधन डिस्इन्फेक्ट हुनुपर्‍यो। त्यो भनेको क्लोरिन लगेर छर्किने होइन। नयाँ प्रविधि विकास भएको छ, त्यसलाई ‘कोटेड डिस्इन्फेक्टेन्ट’ भनिन्छ र यसलाई विश्व स्वास्थ्य संगठनले पनि मान्यता दिएको छ। यो प्रयोग गरेको खण्डमा सतहमा भएको भाइरस मर्छ। विभिन्न मुलुकमा भएका प्रयोगलाई हेर्दा यो प्रयोग गरियो भने १ सय ८० दिनसम्म भ्यालिडिटी रहने र त्यसले भाइरस र ब्याक्टेरियालगायतलाई मारेको देखिन्छ।

सार्वजनिक स्थल, सवारी साधन (काठमाडौं उपत्यकामा चल्ने, माइक्रो, टेम्पो, बस देखि लामो दूरीका यातायात) विमान, एयरपोर्ट सबैमा त्यो प्रयोग गरौं। अनि मात्र चलाउन उपयुक्त हुन्छ। जोखिम कम हुन्छ। भएका भाइरस मर्ने भएपछि तत्काल सर्ने सम्भावना पनि कम हुन्छ।

तीनपत्रे मास्कको प्रयोग 
त्यस्तै, सबै क्षेत्रमा मास्कको प्रयोग अनिवार्य गर्नुपर्छ। त्यसमा पनि एन ९५ मास्क प्रयोगमा रोक लगाउनुपर्‍यो। कटनको तीनपत्रे मास्क प्रयोग गरौं। एन ९५ मास्कले लगाउनेलाई रोक्छ तर अरुलाई सार्ने सम्भावना बढी हुन्छ। त्यसमा सास फेर्न सजिलो बनाइएको छ। त्यो फिल्टर नगरी सीधै बाहिर जान्छ। त्यसैले हामीले बरु कटन वा मेडिकल मास्क लगाऔं, त्यसले अरुलाई सार्न पनि दिँदैन।

मास्क प्रयोगमा पनि हामी सचेत हुनुपर्‍यो। टेलरमा बनेको, तीनपत्रे मास्क लगाउन मिल्यो। त्यो उपलब्ध छैन भने मेडिकल मास्क लगाउँदा भयो। जनस्वास्थ्यको मापदण्ड भनेको यही हो। विश्व स्वास्थ्य संगठनको मापदण्डमा पनि यो कुरा स्पष्ट लेखेर आएको छ।

डिटोल साबुन उत्तम 
अर्को विषय, साबुन पानीको सही व्यवस्था गर्नुपर्‍यो। भारतमा साबुनको क्वालिटी पनि परीक्षण भएको थियो, जसमा लाइफबोय साबुनमा क्वालिटी छैन भनेर रिपोर्ट आयो। हामीले डिटोल साबुन प्रयोग गर्दा सबैभन्दा उत्तम हुन्छ। त्यसमा कुनै खराबी अहिलेसम्म देखिएको छैन।

नेपालमा सजिलोको लागि अहिले ‘लिक्विड सप’ पनि प्रयोग भइरहेको देखिन्छ, त्यसमा पनि गुणस्तर छैन। हाम्रो साँघुरो अर्थतन्त्रको पैसा लिक्वड सप खरिदका लागि विदेश पठाउनुभन्दा नेपालमै उत्पादन भएका साबुनहरु प्रयोग गरौं, त्यसमा पनि चक्की साबुन प्रयोग गरौं।

स्यानिटाइजरको प्रयोगलाई धेरै प्रबर्धन नगरौं। समाचारमा आइसकेको छ, चार वटा कम्पनीबाट उत्पादित स्यानिटाइजर हानिकारक छन्।

पटक पटक अल्कोहल प्रयोग गर्दा छालालाई असर त गरिहाल्छ, त्यसमा केमिकल रियाक्सन भयोभने अरु छालाका रोगहरु लाग्नसक्छ। गुणस्तरीय छ भने प्रयोग गर्दा हुन्छ। यातायातका साधनहरुमा पनि गुणस्तर भएका स्यानिटाइजर राखौैैं तर, सार्वजनिक स्थल, एयरपोर्ट, सार्वजनिक चौर, गुम्बा, मन्दिरमा साबुन पानीले हात धुने व्यवस्था मिलाऔं।

बस, प्लेनमा स्टक मास्क अनिवार्य
चौथो कुरा, हामीले दुई मिटर दूरी कायम गर्ने भनेका छौँ। तर, बसमा, प्लेनमा त्यो सम्भव छैन। आधा मानिस राख्दा पनि त्यो दूरी कायम हुँदैन। सार्वजनिक स्थल अनि पसलहरुमा पनि त्यो सम्भव देखिँदैन। बस काठमाडौंबाट इलाम जान्छ, बाटोभरी मानिस हाल्छन्। यसको अनुगमन कसले कसरी गर्ने? त्यसैले अब सुरक्षाका अरु उपायमा जोड दिऊँ। अब सरकारले र सवारी साधन धनी, चालकले के भन्नुपर्‍यो भने, बसमा झ्यालढोका सबै खुला राख्ने, गुणस्तरीय स्यानिटाइजर प्रयोग अनिवार्य गर्ने र मास्क अनिवार्य गर्ने।

अर्काे महत्वपूर्ण, लामो दूरीका बस चलेको एक घण्टामा ५ देखि ७ मिनेट अनिवार्य रुपमा रोकेर यात्रुहरुलाई फ्रेस हावा खाने वातावरण बनाइदिऊँ। हाम्रोमा अहिले त्यसरी रोक्ने चलन छैन, अझ नाइट बस त रोकिँदैन भन्ने छ। भोलिदेखि भने यसलाई कडाइपूर्वक कार्यान्वयन गराउन सुरु गरौं।

त्यस्तै, सार्वजनिक सवारी साधनमा मास्क बोकेर हिँडौं। कोही मानिस बीचबाटोमा चढाउनै पर्ने भयो, उनीसँग मास्क छैन भने बसमै दिन सकियो। बसमा यात्रा गर्ने मानिसले उल्टी गर्न सक्छन्, वा भएको मास्क केहीगरी बिग्रिन सक्छ। यस्तो बेलामा जगेडा मास्क दिँदा संक्रमण रहेछ भनेपनि अरुलाई सर्नबाट ७० प्रतिशत रोक्न मद्दत गर्छ। अब बस कम्पनी, सञ्चालक, हेलिकप्टर, प्लेन सबैलाई मास्क अनिवार्य स्टक बोक्नु भनेर निर्देशन नै दिनुपर्छ।

दशैँमा मास्क नै उपहार
मास्कलाई अझै प्रमोट गर्नैपर्ने देखिएको छ किनभने बेथिति बढ्न थालेको छ। त्यसका लागि अब हरेक बजार, सपिङ मल, साना ठूला व्यवसायी, कपडा पसल सबैले मास्क दिन थालौँ।

दशैँको अवसरमा कपडा बेच्दा कपडामा मिल्ने रंगको मास्क दिन सुरु गरौं। जनस्वास्थ्यसँग व्यापार र समुदाय जोडौं। मास्क हाम्रो जीवनशैलीका लागि अपरिहार्य छ भन्ने सन्देश दिनेगरी यसको बिक्री गरौँ। मिठाइ पसलले पनि उपहारस्वरुप मास्क दिने प्रचलन चलाऊँ। दशैँमा केही उपहार दिँदा मास्क नै दिऔं। गाउँपालिका, नगरपालिकाले जनतालाई उपहार दिने योजना बनाएका छन् भने मास्कलाई प्राथमिकता दिऔं। जनस्वास्थ्यलाई व्यक्ति व्यक्तिसम्म पुर्‍याऔं। कसैलाई छुट्न नदिऔं। अनि सबैले मास्क जगेडा बाकेर हिँडौं। यसलाई व्यापक जनस्वास्थ्य अभियानमा लैजाऔं।

यसलाई महाअभियानका रुपमा लैजान सक्यौँ भने अहिले जुन ह्वात्तै बढ्ने क्रम छ नि, त्यसलाई जापानकै तहमा रोक्न सक्छौं। यसो गर्न सक्यौ भने दशैँ मनाउँदै गर्दा मृत्युका खबर, संक्रमण भएका खबरहरुले हाम्रो मन अमिलो बनाउने छैन।

अनलाइन किनमेल 
अहिले हामीलाई एउटा अवसर पनि छ अनलाइन सपिङको संस्कृतिलाई बढाउने। यसलाई विश्वसनीय बनाऔँ। सबै खालका व्यापार व्यवसायलाई सकभर अनलाइनमा लैजाऔं र पसलमा हुने भीड रोकौं।

व्यापार गर्नेहरुले पनि होम डेलिभरीलाई विश्वास गर्न सक्ने बनाउनुपर्‍यो। ठगी हुन दिनु भएन। व्यापार संघहरुले अबको दिनमा होेम डेलिभरी हुनेगरी व्यापार सञ्चालन गर्न निर्देशन दिऊँ। कुनै पसलका सामानहरु कहाँ कसरी छान्न सकिन्छ? त्यसलाई ग्राहकको पहुँचमा पुर्‍याउने र किन्न सक्ने वातावरण बनाइदिऔं।

यसमा स्टकमा राखेका सामान कसरी बेच्ने? फ्रेस सामान कसरी बेच्ने, नयाँ सामान कसरी बेच्ने भन्ने कुरा ग्राहक नठगिनेगरी अनलाइनमै बेच्ने प्रबन्ध मिलाऔं, जसले गर्दा मानिसलाई केही कपडा, सामान, आवश्यक परेको भएपनि बजारमा जानुपर्ने बाध्यता नपरोस्। अर्डर गरेको सामानको गुणस्तर, मूल्य, त्यसको ग्यारेन्टी, वारेन्टी सबैको जिम्मा हामी लिन्छौं भनेर पसल सञ्चालकले जिम्मा लिनुपर्छ। नेपालमा अहिले केही अनलाइनले ठगी गरेको, देखाएभन्दा गुणस्तर नभएको सामान बेचेको, मूल्य मनलाग्दी लिएको गुनासो बढेको छ, यस्तो नहुने ग्यारेन्टी हुनुपर्‍यो।

पसलमा गएर किन्नेले पनि मास्क लगाऔं र बेच्नेले पनि अनिवार्य मास्क लगाऔं। सकभर पैसाको कारोबार नगरौं, कार्डको प्रयोग गरौं, कार्ड प्रयोगपछि स्यानिटाइज गरौं। नगद नै प्रयोग गर्नैपर्ने भए दिइसकेपछि दिने लिने दुवैले स्यानिटाइज गरौं। दुवै पक्षले मास्क लगाएको छ, खोक्ने, हाच्छिउँ गरेको छैन भने ६, ७ इन्च नजिकै भएपनि सर्ने सम्भावना कमै हुन्छ। नेपालका पसलमा २ मिटर दूरी राख्न सम्भव नै छैन, किनभने त्यसो हुँदा जम्मा ५ जना मात्र अट्छन्। त्यही भएर कम्तीमा १ मिटर दुरी कायम गरौं।

पछिल्लो दिन ठुल्ठूला स्टोर, मार्केटहरुमा भीड बढ्न थालेको छ। उनीहरुले नियम पालना गरेका छैनन्। यसले जोखिम बढाउँछ।

यदि हामीले जता पनि हिँड्ने, मेरो परिवार हो केही हुँदैन, भनेर बेवास्ता गर्‍यौं भने भुसको आगो भित्रभित्र सल्किइसकेको छ। र, यो अझ तीव्र रुपमा फैलिन्छ।

अब काठमाडौंबाट जिल्ला जिल्लामा कोरोना 
अबको मुख्य चुनौती उपत्यकामा छ। देशभर र उपत्यकाका संक्रमित हेर्दा उपत्यका मै बढी देखिन्छ।

यस्तो बेलामा हामी लामो दुरीका बस, प्लेन खोल्दैछौं। यहीँबाट सबै जिल्ला जाने हो। कोरोना संक्रमणको हटस्पट रहेको उपत्यकाबाट मानिस गाउँगाउँ पुग्छन्। अनि त्यसले गाउँमा जोखिम बढाउँछ। त्यही भएर यहाँबाट गाउँ जाने मानिस कम्तीमा १४ दिन सुरक्षित रुपमा होम क्वारेन्टिमा बसौं। १४ दिन बस्दा कुनै लक्षण देखिएन भने राम्रैसँग दशैँ मनाए भइगयो। यो कुरा अहिलेदेखि जनतामा लगौं। दशैँ, तिहार, छठ लगायतका चाड मनाउँदाखेरी पनि बाहिर हिँडडुल गर्ने, साथीभाइ जम्मा हुने, रमाइलो गर्ने र तास खेल्ने काम अब नगरौं। यस्ता गतिविधि कडाइका साथ रोकौं।

हटस्पटबाट गाउँ गएको छ, सेकुवा खाने, तास खेल्ने, रमाइलो गर्ने, रातभरी भेन्टिलेटर नभएको एउटै कोठामा बस्ने, दुरी कायम नगर्ने भयो भने त्यसले संक्रमण सबैमा सार्छ यस्तो अवस्था आउनै नदिऔं, स्थानीय सरकारले निगरानी गरौं।

किनभने अब उपत्यकाबाहेकका ७४ जिल्लामा पनि संक्रमण मुख्यरुपमा बढ्ने खतरा देखिन्छ। अहिले यहाँबाट गाउँ गएका मानिसको काम हुँदैन, समूहमा हिँड्ने, रमाइलो गर्ने गर्दा यदि संक्रमित रहेछ भने बाबुआमालाई सार्छन्। अनि दशैँको खुसी रुवाइको कारक बन्नसक्छ। त्यहीभएर काठमाडौं, ललितपुर र भक्तपुर बसेर गाउँ जाने मानिस १४ दिन क्वारेन्टिनमा बस्नैपर्छ। त्यो कुरा वडाले निगरानी राखौं।

नत्र त हटस्पटबाट ७४ जिल्ला हुँदै गाउँ जाने फेरि त्यहाँ संक्रमण फैलाउने र हटस्पट हुने, फेरि उनीहरु काठमाडौं आउने यता पनि संक्रमण बढाउने खतरा रहिरहन्छ। यसले देश चाहिँ जेरी हुने भयो। त्यो बन्नबाट जोगाउने हाम्रो दायित्व हो। चाडबाड नमनाउने होइन, आफू बच्ने र अरुलाई बचाउने चेतना र जिम्मेवारीका साथ, हात धोएर मास्क लगाएर, दूरी कायम गरेर हामी अगाडि बढ्यौं भने यो भाइरस आफैँ सर्ने होइन। बच्न र बचाउन सकिन्छ।

(सागर न्यौपानेसँगको कुराकानीमा आधारित। जनस्वास्थ्य वैज्ञानिक डा. तिवारी स्वास्थ्य मन्त्रालयका सल्लाहकार हुन्)

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .