ad ad

विचार


कोरोना तेस्रो चरणमा गए थेग्न सकिन्न, रोक्न यसो गरौं

कोरोना तेस्रो चरणमा गए थेग्न सकिन्न, रोक्न यसो गरौं

डा. सन्तोष थापा
चैत २६, २०७६ बुधबार १६:५,

चीनको उहान सहरबाट सन् २०१९ डिसेम्बरमा सुरु श्वासप्रश्वाससम्बन्धी नयाँ रोग कोभिड-१९ (कोरोना भाइरस डिजिज-२०१९) को महामारीबाट हाल सबैभन्दा बढी आक्रान्त देशको सूचीमा संयुक्त राज्य अमेरिका, इटली, स्पेन, फ्रान्स, संयुक्त अधिराज्य (यूके)लगायत विकसित पश्चिमा मुलुक छन्।

यो आलेख तयार पार्दा (बुधबार बेलुका नेपाली समयअनुसार ७ः४१) सम्म नेपालसहित २०९ राष्ट्रमा कोभिड–१९ गराउने यो सार्स-कोरोनाभाइरस-२ फैलिसकेको छ भने संक्रमितको संख्या १४ लाख ५० हजार ९२ पुगेको छ। यसैगरी यसबाट ८२ हजार ४ सय ७४ जनाको मृत्यु भइसकेको छ।

गत जनवरी २४ मा पहिलो कोरोना संक्रमित फेला परेको नेपालमा बुधबारसम्म संक्रमितको संख्या ९ छ। यसअघि विदेशबाट आएकामा मात्रै कोभिड-१९ देखिएकामा विदेशबाट आएका संक्रमितबाट उनको घरमै रहेका परिवारका एक सदस्यलाई पनि कोरोना भाइरस सरेको पुष्टि भएसँगै नेपालमा कोभिड-१९ दोस्रो चरण (लोकल ट्रान्समिसन) मा प्रवेश गरेको छ।

मुख्य रूपमा कोभिड-१९ संक्रमित व्यक्तिले खोक्दा वा हाछ्युँ गर्दा बन्ने ‘रेस्पिरेटरी ड्रपलेट’का माध्यमबाट अर्कामा सर्ने यो कोरोना भाइरस संक्रमणका लक्षणमा खासगरी ज्वरो आउने, खोकी लाग्ने र सास फेर्न गाह्रो हुने समस्या देखिन्छ।

कुनै लक्षणै नदेखिईकन कोभिड-१९ भएको पाइएको नेपालको पछिल्लो घटनाले आम नेपालीमा थप चिन्ता उत्पन्न गराएको छ। तर विश्वव्यापी अवस्था हेर्दा अमेरिकालगायत धेरै देशका कोरोना पोजिटिभ भएका तर कुनै लक्षण नदेखिएका (एसिम्पटोम्याटिक) वा पछि देखिएका (प्रि सिम्पटोम्याटिक) मानिसको संख्या उल्लेखनीय रूपमा पाइएको र त्यस्ता व्यक्तिले बोल्दा, खोक्दा वा हाछ्युँ गर्दा कोरोना भाइरस सार्न सक्ने देखिएको छ।

यही तथ्यलाई आधार मानेर भर्खरै मात्र अमेरिकाको सेन्टर्स फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) ले सार्वजानिक स्थानमा हिँडडुल गर्ने सबै सर्वसाधारणलाई मुख छोप्ने कपडा प्रयोग गर्न सिफारिस गरेको छ।

अमेरिकी फेडेरल ड्रग एडमिनिस्ट्रेसन (एफडीए) ले हालसम्म कोभिड-१९ विरुद्धको खोप आम मानिसमा प्रयोग गर्न सिफारिस नगरिसकेको र मलेरियाविरुद्ध प्रयोग गरिने औषधि (क्लोरोक्विन र हाइड्रोअक्सिक्लोरोक्विन) बाहेक कोभिड-१९ रोगका लागि कुनै औषधि सिफारिस गरिनसकेको अवस्थामा यो प्रकोप न्यूनीकरण गर्ने उपाय भनेको समयमै सबै संक्रमितको पहिचान गर्दै क्वारेन्टिन एवं आइसोलेसनमा राखेर उपचार गर्नु नै हो। यससँगै हामी सबैले व्यक्तिगत सरसफाइमा ध्यान दिने, लकडाउन नियम पालना गर्ने, सामाजिक दूरीमा रहनेजस्ता कुरा पनि उत्तिकै महत्वपूर्ण छ।

कोभिड-१९ महामारीले विश्वका शक्तिशाली र विकसित देशलाई समेत घुँडा टेकाएको वर्तमान सन्दर्भमा नेपालजस्तो मुलुकले गरेको संक्रमणको चक्र सुस्त बनाउने कार्य (देशव्यापी लकडाउनदेखि एक स्थानीय तहबाट अर्कामा समेत आवतजावत रोक्ने निर्णय, सीमा नाका बन्द एवं अन्तर्राष्ट्रिय उडान स्थगन, अत्यावश्यकीय सेवाबाहेक सबै कार्यालय, स्कुल/कलेज बन्द) लगायत रोकथामका अन्य उपायलाई सराहनीय मान्नैपर्छ।

विश्वव्यापी रूपमा टेस्ट किट नै पर्याप्त नभएको अवस्थामा कैलाली, कञ्चनपुर र बागलुङमा कोरोना भाइरसको र्‍यापिड परीक्षण गर्ने र पोजिटिभ देखिएकालाई पुनः पीसीआर विधिबाट परीक्षण गर्ने नेपाल सरकारको निर्णय स्वागतयोग्य छ।

तर स्मरणीय कुरा के छ भने हालसालै सरकारले कोरोना भाइरसको परीक्षण गर्न भनी किनेर ल्याएको तर विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले मान्यता नदिएको ७५ हजार थान द्रुत परीक्षण किट गोदाममा थन्किएको अवस्थामा कुन किटबाट ती जिल्लामा परीक्षण गर्न लागिएको हो, पारदर्शी गराउन एकदमै जरुरी छ।

विशेषतः किटको ‘सेन्सिटिभिटी’, ‘स्पेसिफिसिटी’ तथा सैद्धान्तिक पक्षबारे आम नागरिकलाई सुसूचित गर्नु अति आवश्यक छ, किनकि हालसम्म प्रयोग गरिएका कुनै पनि द्रुत टेस्टले सतप्रतिशत नतिजा दिँदैनन्।

मेरो विचारमा मास स्क्रिनिङका लागि सबभन्दा उत्तम भनेको आरटी पीसीआर (पोलिमरेज चेन रिएक्सन) मा आधारित परीक्षण विधि नै हो। किनकि हाल प्रयोग भइरहेका एन्टिबडीमा आधारित र्‍यापिड परीक्षणमा प्रयोग हुने टेस्ट किटले ‘फल्स नेगेटिभ’ (गलत नतिजा) दिने सम्भावना धेरै रहन्छ। त्यसैले आरटी पीसीआरमा आधारित परीक्षण देशभरि बढाउन ढिला गरिनु हुँदैन। कम्तीमा पनि भारतलगायत अन्य देशबाट भर्खरै नेपाल फर्किएका व्यक्ति, तिनका सम्पर्कमा आएका परिवारजन तथा घुलमिल गरेका मानिसको पत्तो लगाई तिनको तत्काल परीक्षण गरिनुपर्छ।

देशका सातै प्रदेशमा र धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयमा कोरोना परीक्षण सुरु गरिनु एकदमै राम्रो कुरो हो। तर स्वास्थ्यकर्मीलगायत प्रयोगशालाकर्मीलाई चाहिने व्यक्तिगत सुरक्षा सामाग्री (पीपीई) का अतिरिक्त प्रयोगशालाका लागि आवश्यक किट तथा केमिकल अभाव हुन नदिनेतर्फ पनि सरोकारवाला निकाय उत्तिकै गम्भीर हुन जरुरी छ। यो कुरामा यथाशक्य ध्यान जान जरुरी छ, किनकि भारतले आफैंलाई आवश्यक पर्ने भन्दै किट निर्यातमा रोक लगाइसकेको छ भने चिनियाँ किटको गुणस्तरबारे धेरै प्रश्न उठ्न थालेपछि उसले पनि निर्यातमा कडाइ गर्न थालिसकेको छ।

अझ महत्वपूर्ण कुरा त हाल सञ्चालनमा ल्याइएका कम क्षमता (लो आउटपुट) का आरटी पीसीआर (पोलिमरेज चेन रिएक्सन) मेसिनको ठाउँमा उच्च क्षमता (हाई आउटपुट) भएका पीसीआर मेसिन नभएसम्म हाम्रो परीक्षण क्षमता कदापि बढ्न सक्तैन। तसर्थ यथाशक्य चाँडो हाई आउटपुट दिने पीसीआर मेसिनको जोहो गर्नु अति जरुरी छ।

सँगसँगै देशका अरू विश्वविद्यालय र निजी प्रयोगशालामा भएका दक्ष जनशक्ति र साधन/स्रोत प्रयोग गरी परीक्षणलाई व्यापक बनाइनुपर्छ। डब्ल्यूएचओका विशेषज्ञको भनाइअनुसार कुनै पनि सरकारले महामारी नियन्त्रण गर्न अपनाउने नीतिभन्दा पनि नीति कार्यान्वयन गर्न लाग्ने समय र गति दुई अत्यन्तै महत्वपूर्ण कुरा हुन्, जसको प्रभावकारितामा महामारीको जोखिम भरपर्छ।

यसका लागि दक्षिण कोरिया र अमेरिका, जसले एकै दिन (जनवरी २०, २०२०) पहिलो कोभिड-१९ संक्रमित केस रिपोर्ट गरेका थिए, बीचको अवस्था तुलना गर्दा सबै कुरा छर्लंग हुन्छ। कोरोना संक्रमित पहिलो व्यक्ति फेला परेको एक हप्तामै कोरियाले २० वटा निजी कम्पनीलाई मेडिकल सामग्री बनाउन आदेश दियो, जसको एक हप्तापछि पहिलो टेस्ट किट स्वीकृत भयो र त्यो प्रयोगमा ल्याइयो। अमेरिका भने आफैं रुमलिइरह्यो ।

विश्वव्यापी रूपमा स्थापित प्रोटोकलअनुसार नाक वा घाँटीको स्वाबको नमुना परीक्षण (आरटी पीसीआर पद्धतिबाट) मा एकपटक नेगेटिभ (भाइरस नदेखिएको) नतिजा आए परीक्षण दोहोर्‍याइनुपर्छ। सीडीसीका अनुसार नाक र घाँटी दुवैको स्वाब संकलन गरेको छ भने त्यसलाई एउटै ट्युबमा राखेर परीक्षण गरिएका खण्डमा जाँचको ‘सेन्सिटिभिटी’ बढ्नाका साथै टेस्टिङ केमिकलको खपत पनि घटाउन सकिन्छ। अनि आवश्यक परे अन्य नमुना जस्तैः खकार, तल्लो श्वासनलीकाे नमुना पनि परीक्षण गर्नुपर्छ।

परीक्षणमा कोरोना नदेखिनुको अर्थ नमुना संकलनका बेला सम्बन्धित व्यक्तिमा संक्रमण नरेहेको भन्ने हो। सीडीसीका अनुसार संक्रमण सुरुको अवस्थामा छ भने पनि नतिजा नेगेटिभ आउने सम्भावना रहन्छ। तसर्थ शंकास्पद बिरामीको नमुना परीक्षण गर्दा एकपटक रिपोर्ट नेगेटिभ आएकै भरमा निर्क्याेल गरिनुहुँदैन। कम्तीमा दोस्रोपटक परीक्षण (आरटी पीसीआर पद्धतिबाट) गरिनुपर्छ।

अझ महत्वपूर्ण कुरा त कुनै पनि शंकास्पद बिरामीमा कोरोना भाइरस छ/छैन भनेर निष्कर्षमा पुग्दा प्रयोगशाला परीक्षणका साथसाथै बिरामीको यात्रा विवरण, सीटी स्क्यान, लक्षणलगायत सम्पूर्ण कुरामा ध्यान दिन जरुरी छ।

साथै महामारीविरुद्ध लड्न सरोकारवाला निकायबीच समन्वय आवश्यक छ। यसैबीच सर्वोच्च अदालतले निजी अस्पतालाई बिनासर्त उपचार व्यवस्था मिलाउन दिएको आदेश एकदमै सराहनीय छ। कुनै पनि निजी अस्पतालले यस विषम परिस्थितिमा बिरामीलाई सेवा दिन अझै पनि आनाकानी गरे सरकारीकरण गर्न पनि राज्य पछि पर्न हुन्न।

समग्रमा सरकारी ढिलासुस्तीलाई तिलाञ्जली दिएर लकडाउनसँगै युद्धस्तरमा देशव्यापी कोरोना परीक्षण गर्दै संक्रमित र तिनका सम्पर्कमा आएका व्यक्ति पहिचान, क्वारेन्टिन र आइसोलेसन गरी उपचार अघि बढाएका खण्डमा ढिला भए पनि अझै हामी कोभिड-१९ को जोखिम न्यूनीकरण गर्न सक्छाैँ।

यसका लागि आवश्यक स्रोत/साधन र जनशक्ति व्यवस्थापन तथा परिचालन गर्न राज्य गम्भीर हुन जरुरी छ। हामीसँग बाँकी रहेको समय सदुपयोग हुन सकेन र महामारी तेस्रो चरण अर्थात् समुदायमा संक्रमण (कम्युनिटी ट्रान्समिसन) को अवस्थामा पुग्यो भने परिणाम भयावह हुने र हाम्रो क्षमताले थेग्न गाह्रो पर्नेमा दुईमत नहोला। आशा गरौं- सरोकारवाला निकाय र आम नागरिकको समन्वयबाट कोभिड-१९ को प्रकोप नेपालमा अर्काे चरणमा प्रवेश गर्न नपाओस्।

(लेखक अमेरिकाको टेक्सासस्थित बेलर कलेज अफ मेडिसिनका माइक्रोबायोलोजी अनुसन्धानकर्ता हुन्। उनी भाइरस नामकरणसम्बन्धी काम गर्ने अन्तर्राष्ट्रिय समिति ‘इन्टरनेसनल कमिटी अन ट्याक्सोनोमी अफ भाइरसेस’मा पनि आबद्ध छन्।)

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .