टाढाबाट म आज नाना पाटेकरको त्यो संवाद सम्झिरहेको छु– एक मच्छड, आदमीको हिजडा बना देता हे।
ठिक त्यस्तै, समय आज यस्तो आएको छ जहाँ, एक भाइरसले संसारभरका मान्छेको जिन्दगी हल्लाइदिएको छ।
दुई महिनाअघि र, अझ खासगरी एक महिनासम्म पनि हामी ठिकठाक नै थियौं। काम चलिरहेको थियो। स्कुलहरू खुलिरहेकै थिए। बजारमा सामानको कमी थिएन। शहरहरूमा चहल पहल भैरहकै थियो। बार र कफी हाउसहरूमा मान्छेहरू चुस्की लिइरहेकै थिए। जहाजहरू उडिरहेकै थिए। आवत जावत चलिरहेकै थियो। सामाजिक रंग रमाइलोहरू भैरहेकै थिए।
औकात, सोच, बानी र परिस्थति अनुसार मान्छेका दिनहरू बितिरहेकै थिए। दौडधुप चलिरहेकै थियो।
अहिले?
अहँ, त्यस्तो छैन।
अहिले मान्छेको दौडधुपमा एक्कासी ‘ब्रेक’ लागेको छ, नियमित आकस्मिकता झैं गरी।
मान्छेका भोगाइ बदलिएको छ। जीवनशैली बदलिएको छ।
बजारमा सामान छैन। स्कुलहरू बन्द छन्। बार र कफी हाउसहरूमा ताला लागेको छ। जहाजहरू उड्न छोडेका छन्। आवत जावत रोकिएको छ। समाजिक रंग रमाइलाहरू बन्द छन्।
औकात, सोच, बानी र परिस्थति अनुसार दिनहरू बिताउन पनि आज मुस्किल छ। कल्पना गरौं त, आफ्नै देशका नागरिकलाई समेत ‘नआउ’ भन्नुपर्ने दिन आएका छन्। देशले नै देश बन्द गर्नु पर्ने दिन आएको छ। यस्तो इतिहासमा वीरलै हुन्छ।
संसार आज ‘कोरोना पीडा’ मा छ।
एउटा भाइरस, जसले मान्छेका फाइँफुट्टी, शैली, बानी र अहंमलाई हल्लाइदिएको छ।
क्वारेन्टाइन र आइसोलेशनमा बसेर मान्छे आफैं लुक्नु पर्ने दिनहरू आएका छन्। मान्छे, समाज र बजारबाट भाग्नुपर्ने दिनहरू आएका छन्।
आजको दुनियाँ कस्तो हो भने मान्छेले बजार चलाउँछ। र, बजारले मान्छे चलाउँछ। दुबैले अर्थतन्त्र चलाउँछन्। र, अर्थतन्त्रले देश चलाउँछ।
जब मान्छे बजार जान सक्दैन। र, जब बजारले मान्छेलाई ‘आउ’ भन्न वा तान्न सक्दैन, तब न मान्छे चल्न सक्छ न बजार। मान्छे र बजार दुबै नचलेपछि अर्थतन्त्र चलोस कसरी? देश चलोस कसरी? बजारमा टिकेका देशहरूमा बढी संकटहरू देखिएका छन्। देखिँदै जानेछन्।
जतिसुकै विकसित र ठूला भनेपनि देश र मान्छेहरू बजारको तत्कालीन माग र त्यही अनुसारको सिमिततामा चलेका रहेछन्। अलिकति दायाँ बायाँ भयो भने धान्न नसक्ने बजार रहेछ।
आज न अस्पतालहरूमा पर्याप्त बेड छन्, न भ्यान्टिलेटरहरू पर्याप्त छन्, न ह्यान्ड स्यानीटाइजर पर्याप्त छ, न मास्क छ।
आफु आफु लड्ने र तानातानी गर्ने ताकत बटुलेका राष्ट्रहरूले पनि एकैचोटी लडनु पर्ने ‘कोरोना युद्ध’ जस्तो ‘तेस्रो विश्व युद्ध’ को तयारी गरेकै रहेनछन्।
अक्सर म सोच्छु र भन्ने गर्छु– मान्छे ‘च्वाइस’ मा होइन, ‘चान्स’ मा बढी बाँचिरहेको छ। कोरोना भाइरसले आज त्यही प्रमाणित गरिदिएको छ। ‘च्यावइस’ मा बाँचेको भए कहाँ जाबो कोरोनाले यत्तिसारो हल्लाउँदो हो र?
म संसारको एउटा शक्तिशाली राष्ट्रमा बसेर यो भनिरहेको छु– हामी जीवनको एउटा अनिश्चयको भूमरीमा छौं। देश, मान्छे र अर्थतन्त्रमा आज एकैचोटी भूमरी आएको छ। आजको एक सातापछि म वा तपाईं कस्तो अवस्थामा हुने छौं, थाहा छैन।
स्वास, बास र गाँस जोगाउन मुश्किल पर्दै गैरहेको छ। आर्थिक संकट र मान्छेको जीवनको जोखिमको हिसाबले यस्तो लाग्छ– अहिले विश्व तेस्रो युद्धमा छ। एउटा यस्तो युद्ध, जो विश्व एकातिर छ र, अदृश्य भाइरस अर्कोतिर।
कतिपय अमेरिकी विश्लेषकहरू अमेरिकाको अहिलेको अवस्थालाई आर्थिक दृष्टिले सेप्टेम्बर एघारको हमलासँग दाँजिरहेका छन्। उनीहरु भन्छन्, ‘फरक यत्ति हो कि त्यतिबेला आतकंकारीहरूले हमला गरेका थिए, अहिले भाइरसले।’
कतिपयले यसलाई सन् २००८ को आर्थिक संकटसँग दाँजिरहेका छन्। कतिपयले, त्यो भन्दा पनि चर्को र फरक खालको संकटका रुपमा कोरोना संकटलाई अथ्र्याइरहेका छन्।
अमेरिका जस्तो महाशक्ति राष्ट्रलाई पनि आज कोरोना भाइरससँग युद्ध लड्न हम्मे हम्मे परिरहेको छ। पसिना छुटाइदिएको छ– महाशक्ति राष्ट्रको पनि।
सारा शक्ति लगाउँदा पनि कोरोना भाइरसबाट संक्रमित र मृत्यु हुनेहरूको संख्या बढेको बढ्यै छ। यतिसम्म कि कोरोना भाइरस, उपराष्ट्रपति माइक पेन्सकै कार्यालयसम्म छिरेको छ। उपराष्ट्रपति पेन्सको कार्यालयका एक जना सदस्य कोरोनाको संक्रमणमा परिसकेका छन्। धन्य, राष्ट्रपति डोनाल्ड ट्रम्पको रिजल्ट ‘नेगेटिभ’ आयो।
हलिउडका सेलीब्रेटीदेखि बास्केटबल खेलाडीसम्म, कंग्रेसम्यानदेखि सुरक्षा अधिकारीसम्म, कोरोनाको चपेटामा परेका छन्।
अमेरिकाका ५० राज्य मध्ये ‘लकडाउन’ गर्ने राज्यहरूको संख्या दिन दिनै थपिँदो छ। राष्ट्रपति ट्रम्प र उपराष्ट्रपति पेन्स स्वयंले प्रत्येक दिन मिडिया ब्रिफिङ गर्नु परिरहेको छ।
एकातिर जनताको स्वास्थ्य, अर्कोतिर देशको आर्थिक स्वास्थ्य। यी दुबै ठिकठाक राख्ने र देखाउने कडा चुनौतीको अहिले राष्ट्रपति ट्रम्पले सामना गरिहेका छन्। विश्वसामु अमेरिकाको इज्जत जोगाउने सवाल त छँदै छ।
युद्धमा पनि बंकरका पछाडि ‘बुलेटप्रुफ भेष्ट’ लगाएर रिपोर्टिङ गर्ने सिएनएनका एन्डर्सन कुपर जस्ता पत्रकारहरू आज आफ्नै घरका कोठाहरूबाट रिपोर्टिङ गर्न बाध्य छन्।
सरकार, मिडिया र राज्य संयन्त्रहरूको हल्ला खल्ला र दौडघुप देख्दा र सुन्दा लाग्छ– हामी साँच्चिकै युद्धमा छौं।
अमेरिकी राष्ट्रपतिले पनि यसलाई एउटा ‘युद्ध’ नै भनेका छन्। यस्तो युद्ध जहाँ, बम र बारुदको कुनै काम छैन। अंग्रेजीमा अहिले भनिन थालेको छ, ‘यु क्यान्ट सुट ए भाइरस।’
हो, भाइरसमाथि गोली बर्साउन नसकिंदो रहेछ।
केही साता अघिसम्म पनि राष्ट्रपति ट्रम्पले स्थिति यसरी विकसित होला भन्ने कल्पना गरेका थिएनन्। ट्रम्पकै शब्दमा ‘चाइनिज भाइरस’ लाई उनले हल्का रुपमा लिइरहेका थिए।
आजको स्थिति हेर्दा प्रष्टसँग भन्न सकिन्छ– अमेरिका जस्तो प्रबिधि, ज्ञान र विज्ञताको हिसाबले सम्पन्न राष्ट्रले समयमा नै कोरोना भाइरसको प्रभाव र विस्तारको आँकलन गर्न नसकेकै हो। चीनले बरु यसलाई चाँडै सम्हाल्यो, दक्षिण कोरियाले पनि उल्लेख्य प्रगती गरिरहेको छ। यूरोप र अमेरिकाले समय पाएर पनि अपेक्षाकृत प्रगती गर्न सकेनन् कोरोना भाइरस नियन्त्रणको मामिलामा।
तर अब बिस्तारै राष्ट्रपति ट्रम्पले कोरोना संकटको गहिराइ बुझ्दै गएका छन्। राष्ट्रव्यापी ‘लकडाउन’ नै घोषणा नगरेपनि संकटग्रस्त व्यापार र व्यक्तिगत जीवनलाई आश्वस्त पार्न राष्ट्रपति ट्रम्पले केही दिनदेखि सहयोग प्याकेजका बिलहरूमा धमाधाम हस्ताक्षर गरिरहेका छन्। प्रत्येक व्यक्तिलाई १२ सय डलर नगद दिनेदेखि कर छुट, भाडामा सहुलियतजस्ता कुराहरू आइरहेका छन्।
यी सबैबीच सबैभन्दा डरलाग्दो कुरा के हो भने यो अवस्था कतिन्जेल रहन्छ र कहिलेसम्म रहन्छ ठयाक्कै कसैले भन्न सकिरहेको छैन। एकसाता अघि जम्मा एक हजारको हाराहारीमा कोरोना भाइरस संक्रमितहरू देखिएको अमेरिकामा नेपाली समय अनुसार शनिबार बिहानसम्म अठार हजार भन्दा बढी पुगिसेको छ। मृत्यु हुनेहरुको संख्या पनि दुई सय पचास नाघिसकेको छ।
कोरोनाका धक्काहरू जारी छन्। अहिले तत्कालीन क्षति र असरहरूको हिसाब किताब भैरहेको छ। यसका दीर्घकालीन असरहरू क्रमशः देखिँदै जालान। निश्चय नै अर्थतन्त्रमा यसले पार्ने प्रभावहरू गहिरा र लामा हुनेछन्।
अर्थतन्त्र बाहेक अब मान्छेका जीवनका दैनिक भोगाइ र काम गराईमा पनि यसले फरक पर्नेछ।
जिन्दगी जो क्वारेन्टाइनमा परेको छ। कवि हरिभक्त कटुवाल भएको भए लेख्दा हुन्–
यो जिन्दगी के जिन्दगी?
क्वारेन्टाइन जिन्दगी !
न आफु कतै जानु,
न कसैलाई आफुकहाँ बोलाउनु,
यो जिन्दगी खै के जिन्दगी
क्वारेन्टाइन जिन्दगी !!
खैर, जिन्दगी त चलाउनु नै छ।
अब मिलेसम्म अनलाइन कामहरूको जोहो गरिनेछ। शारिरीक रुपमा नजिकिएर गर्ने कामहरूमा हिचकिचाहट पैदा हुनेछ। विज्ञहरू माथिको आस्था, विश्वास र सम्मान बढेर जानेछ। अहिलेसम्म प्रायः सैनिकहरूलाई मात्र उनीहरूले गरेका सेवाका लागि ‘स्यालुट’ गरिन्थ्यो, अब डाक्टर, नर्स, स्वयंसेवीहरूलाई पनि त्यस्तै गरिनेछ।
राष्ट्रवाद अब कुनै अर्को देशसँगको हार जीतमा होइन, आफ्नै समाज र समुदायको स्वस्थ्य र समृद्ध जीवन शैलीमा खोजिनेछ। कोरोना भाइरसले एक हिसाबले राजनीतिक र भौगोलीक ध्रुबीकरण पनि कम गरेको छ (राष्ट्रपति ट्रम्पको ‘चाइनिज भाइरस’ भनाइका बाजजुद पनि)।
कोरोना भाइरसले हाम्रा भाग्यहरू कति अन्तर सम्बन्धित रहेछन् भन्ने देखाइ दिएको छ।
ठूला सामाजिक तथा धार्मिक जमघटहरूका बारेमा दुई पटक सोच्नु पर्ने बनाइदिएको छ। खासमा अब त भगवानलाई पनि टाढैबाट नमस्कार गर्ने दिनहरू आएका छन्।
अब ‘भच्र्युअल’ दुनियाँ फेरि तात्नेछ। यसो भनौं, अब ‘भच्र्युअल’ समाजको बढता खोजी हुनेछ।
‘टेली–मेडिसिन’ को प्रयोग बढनेछ। कोरोना भाइरसको अन्त्यपछि पनि मान्छेले त्यसको प्रभाव र क्षति बिर्सिएनन् भने साँच्चीकै अबका मान्छेका दिन र शैलीहरू अरु बदलिनेछन्।
अन्त्यमा, टाढाबाट टाढैको कुरा अर्थात नेपालको कुरा। भाग्यवश, नेपाल आजसम्म कोरोनाको कहरमा छैन। खुशीको कुरा।
अमेरिकाको बोष्टनमा रहेका मेरा प्रिय मित्र दिनेश कार्कीले भनेको कुराले भने घत पार्यो। उनी भनिरहेका थिए, ‘दाइ नेपाल त ग्लोबलाइज भएकै रहनेछ।’
यसमाथि लेख्न फेरि हजारौं शब्दहरु खर्चनु पर्नेछ।
प्रतिक्रिया