भारतीय राष्ट्रिय कंग्रेस विश्वको सबैभन्दा ठूलो लोकतान्त्रिक मुलुकको पुरानो पार्टी हो। यस पार्टीकी अध्यक्ष छिन् ७४ वर्षीया सोनिया गान्धी। जो पूर्व प्रधानमन्त्री राजीव गान्धीकी विधवा हुन्। राजीव पनि प्रधानमन्त्रीकै छोरा र प्रधानमन्त्रीकै नाति थिए। कंग्रेसको वास्तविक नेता भने राजीव र सोनियाकै ५१ वर्षीय छोरा राहुल गान्धी हुन्। उनीहरुकी छोरी ४९ वर्षीया प्रियंका गान्धी पार्टीकी महासचिव छिन्। गएको ४३ वर्षमा ६ वर्षबाहेक अरु सारा समय कंग्रेसलाई गान्धी थरकै व्यक्तिले चलाएका छन्।
त्यसैले स्वाभाविक रुपमा सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)ले कंग्रेसमा परिवारवाद हावी रहेको आरोप लगाउँछ। कंग्रेसलाई भाजपा भ्रष्ट र सामन्ती भन्छ। र, मतदाताले देख्छन् पनि त्यस्तै। यसविपरीत भाजपा आफूलाई योग्यतामा विश्वास गर्ने, आधुनिक र सबैलाई स्वागत गर्न तयार (यदि आगन्तुकहरु हिन्दु राष्ट्रवादी हुन् भने) पार्टीका रुपमा प्रस्तुत गर्छ। आफू गरिब चिया पसलेको छोरा भएको कुरा प्रधानमन्त्री नरेन्द्र मोदी बारम्बार मतदातालाई सम्झाइरहन्छन्।
गान्धीहरु महात्मा गान्धीका वंशज होइनन्। उनीहरु भारतका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरुका सन्तति हुन्। उनीहरुको पार्टी दशकौँसम्म भारतीय राजनीतिमा हाबी रह्यो। भारतमा भएका ठुल्ठूला शक्तिको दुरुपयोग (१९७० को दशकको संकटकाल) र ठुल्ठूला सुधार (१९९१ को आर्थिक उदारीकरण) का लागि यही पार्टी जिम्मेवार थियो।
तर, अहिले यो पार्टी थकित देखिन्छ। २०१४ र २०१९ मा गरी यो पार्टीले दुई पटक आम चुनावमा नराम्रो पराजय भोग्यो। तैपनि कंग्रेसले नयाँ नेतृत्वको खोजी गर्न सकेन। २०१९ को पराजयपछि राहुलले पार्टी अध्यक्षको पदबाट राजीनामा दिए। तर, उनको ठाउँ उनकै आमाले लिइन्। पार्टीको विजयको कारण बन्नु त कता हो कता, गान्धी परिवार अहिले कंग्रेसको सबैभन्दा ठूलो बोझ बन्न पुगेको छ।
वंशीय राजनीतिबाट भारतीय मतदाता वाक्क भएकाले कंग्रेस यस्तो संकटमा फसेको होइन। महाराष्ट्र र तमिलनाडुजस्ता समृद्ध राज्यका मुख्यमन्त्रीहरु क्षेत्रीय पार्टीका पूर्वप्रमुखहरुकै छोराहरु हुन्। भारतीय संसदको तल्लो सदन लोकसभाका करिब एक तिहाइ सदस्य राजनीतिक परिवारबाट आएका हुन्। बरु समस्या चाहिँ गान्धीहरु नै हुन्। उनीहरुको घेरामा रहेका व्यक्तिहरु घुसखोरी र भ्रष्टाचारका कारण बदनाम छन्। त्यसभन्दा पनि खराब कुरा गान्धीहरु नेतृत्वबाट डेग नचल्दा नयाँ प्रतिभा माथि आउनै पाउँदैनन्। महत्वाकांक्षी नेताहरु गान्धीहरुको हालीमुहाली चल्ने कंग्रेसमा आफ्नो भविष्य देख्दैनन्। त्यसैले नेताहरु सो पार्टी छाडेर अन्यत्र लाग्नु सामान्य भइसकेको छ।
गान्धीहरु केका लागि राजनीतिमा खडा छन्, स्पष्ट छैन। शिवाय, उनीहरुले अस्पष्ट खालको धर्मनिरपेक्षताको वकालत गर्छन् र उनीहरु मोदीजस्ता छैनन्। कंग्रेसको सबैभन्दा पछिल्लो घोषणापत्रमा समाजवादकालीन नीतिहरुको भक्कुचुर वकालत गरिएको थियो। त्यसमा सार्वजनिक रोजगारी, ऋण छुटजस्ता कार्यक्रम समावेश थिए। तर, आर्थिक वृद्धि गर्ने वा निजी क्षेत्रमा रोजगारी बढाउने नीति भने खासै थिएनन्। तर, भाजपाका दोष जतिसुकै भए पनि सो पार्टी कस्तो भारत बनाउन चाहन्छ भन्ने विषयमा भने स्पष्ट छ। भलै उसको त्यो दृष्टिकोणमा उदारवादी र गैरहिन्दुहरु सहमत हुन सक्दैनन्।
सरकारलाई जवाफदेही बनाउन अन्य मुलुकजस्तै भारतमा पनि बलियो विपक्षी चाहिन्छ। जहाँ बलियो प्रतिपक्षी छैन, त्यहाँ ‘चेक एन्ड ब्यालेन्स’ को जिम्मेवारी नागरिक, नागरिक समाज र सडक प्रदर्शनमा निर्भर हुन थाल्छ। जुन आशान्तिको कारक बन्न पुग्छ। मोदीको पछिल्लो सबैभन्दा ठूलो पराजय किसानहरुको हातबाट भयो। जसले मोदीको कृषि सुधारसम्बन्धी कानुन (धेरै हदसम्म व्यावहारिक) बाट आक्रोशित भएर दिल्लीनजिकै एक वर्षसम्म प्रदर्शन गरे।
भारतजस्तो अत्यन्त विशाल, विविध र अझै पनि गरिब संघीय मुलुकमा अति शक्तिशाली केन्द्र सरकारले खराब शासन चलाएको छ। राज्य तहमा भाजपालाई चुनौती दिने अनेक पार्टी छन्। तर, राष्ट्रिय तहमा भाजपाको एक मात्र सम्भावित विपक्षी कंग्रेस नै हो। आम चुनावमा अझै पनि कंग्रेसले २० प्रतिशत मतदातालाई आकर्षित गर्छ। त्यति मतले १० प्रतिशत सिट मात्र सुरक्षित गर्न सक्छ। तैपनि त्यो भाजपाले प्राप्त गरेको कुल मतको आधाभन्दा बढी हो। र, तेस्रो पार्टीले प्राप्त गरेको मतभन्दा पाँच गुणा बढी हो। भाजपालाई टक्कर दिन कंग्रेसले निकै बढी मत ल्याउनुपर्ने हुन्छ।
यही कारणले गान्धीहरुले पार्टी छाड्नुपर्छ। ७० नाघेका आफ्ना चाटुकारहरुको जत्था आफूसँगै लिएर उनीहरु निस्किनुपर्छ। पार्टीको चेहराका रुपमा रहेका नेता राहुललाई धेरैले इमानदार व्यक्ति ठान्छन्। तर, उनले पार्टीलाई र भारतलाई अगाडि जान दिइरहेका छैनन्। यतिबेला उनलाई विस्थापित गर्ने उम्मेदवार कोही पनि देखिँदैन। यसले पनि आफ्ना सक्षम सहयोगी बनाउन कुन हदसम्म उनी असफल रहेछन् भन्ने अझ स्पष्ट पार्छ।
राहुलले छाडेपछि कंग्रेसले जरैदेखि पार्टीको सुधार गर्ने कठिन प्रक्रिया सुरु गर्न सक्छ। त्यसपछि मात्रै पारिवारिक अनुचरहरुको क्लबजस्तो पार्टीले आफूलाई सबैभन्दा उत्कृष्ट र प्रतिभाशालीहरुलाई आकर्षित गर्ने संगठनमा बदल्न सक्छ। र, तिनलाई तीव्र गतिमा बढुवा गरेर शक्तिमा पुर्याउन सक्छ।
अर्को आम चुनाव आउन तीन वर्ष बाँकी छ। संस्थापकहरुले सपना देखेजस्तै सबै भारतीयहरुको प्रतिनिधित्व गर्ने विशाल राष्ट्रिय पार्टी बन्न सक्ने समय कंग्रेससँग अझै छ। यतिबेला गान्धीहरुका सामु दुइटा विकल्प छन्ः या त उनीहरु सम्मानपूर्वक पार्टीबाट हट्न सक्छन् या उनीहरुले कंग्रेसलाई विलुप्त अवस्थामा डोर्याउन सक्छ। कंग्रेस समाप्त भयो भने आफ्नो इच्छाअनुसार भारतको रुप बदल्न मोदीले थप छुट पाउने छन्।
Shares
प्रतिक्रिया