ad ad

छापा खबर


वीर अस्पतालको नयाँ भवनकै छैन नक्सापास

वीर अस्पतालको नयाँ भवनकै छैन नक्सापास

नेपालखबर
असोज १४, २०७६ मंगलबार १:१०,

मुलुककै सबैभन्दा पुरानो वीर अस्पतालको नयाँ भवन नक्सापास नगरी बनाइएको छ ।

भवन निर्माणका लागि वातावरणीय प्रभाव मूल्यांकन (इआइए) पनि गरिएको छैन । हाल वीर अस्पताल रहेकै स्थानमा १७ रोपनी क्षेत्रफलमा गत वर्षको असारदेखि भवन निर्माणाधीन छ।

भवनको चारमध्ये तीनवटा ब्लकको बाहिरी संरचना बनिसकेको खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ।

कानुनअनुसार भवन निर्माण गर्नुअघि अनिवार्य रूपमा सम्बन्धित स्थानीय तहबाट नक्सापास र इआइए गराउनुपर्छ । काठमाडौं महानगरपालिका– २७ का अनुसार पटकपटकको ताकेतापछि पनि वीर अस्पताल प्रशासन र भवन विभागले अटेर गरेर नक्सापास तथा इआइए गराएका छैनन्।

वडाध्यक्ष चिनियाँमान बज्राचार्यले भवन निर्माण भएको वर्ष दिन बितिसक्दा पनि वीर र भवन विभागले नक्सापास नगरेको बताए । ‘वडामा नयाँ अस्पताल बनेको छ ।

त्यो वडाका लागि पनि गर्वको विषय हो,’ उनले भने, ‘तर, यो भवनको नक्सापास भएको छैन, न इआइए परीक्षण नै गरिएको छ । सरकारकै यति जिम्मेवार निकायले किन नक्सापास नगरी यति ठूलो भवन बनायो, बुझ्न सकिएको छ । यसका लागि हामीले पटकपटक ताकेता गरेका छौँ । तैपनि उनीहरू अटेर गरेर बसेका छन्।’

दुई अर्ब तीन लाख रुपैयाँको लागतमा ३० महिनामा सक्ने लक्ष्यका साथ ०७५ को असारबाट नौतले भवन निर्माण सुरु गरिएको हो । पाँच सय शैय्याको अस्पतालमा १७ वटा अपरेसन थिएटर रहने बताइएको छ ।

काठमाडौं महानगरपालिका– २७ का अनुसार भवनको नक्सापास नभएकाले ढल व्यवस्थापनमा समेत समस्या आएको छ । अस्पतालले ढल तथा खानेपानीको प्रबन्ध कसरी गरेको छ भन्नेबारे वडालाई थाहा नभएको अध्यक्ष बज्राचार्यले बताए ।

‘भवन त नक्सापास नगरी निर्माण भयो । ढल तथा खानेपानीको प्रबन्ध त वडाले गर्ने हो । यसको प्रबन्ध कसरी गरिएको छ वडालाई जानकारी त चाहियो नि नक्सा नै पास नगरी यसको जानकारी कसरी हुन सक्छ?’ उनको प्रश्न छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .