ad ad

छापा खबर


सैनिक कोषमा ४४ अर्ब रुपैयाँः व्यापार गर्न यस्तो तयारी गर्दै छ सेना

सैनिक कोषमा ४४ अर्ब रुपैयाँः व्यापार गर्न यस्तो तयारी गर्दै छ सेना

नेपालखबर
असोज १३, २०७६ सोमबार २:५,

व्यवसायतर्फ आकर्षित भएको भन्दै आलोचना भइरहेका बेला नेपाली सेनाले ‘सैनिक ऐन–२०६३ लाई नै ‘लगानीमैत्री’ बनाउने गरी संशोधनको तयारी गरेको छ ।

सैनिक कल्याणकारी कोषमा ठूलो रकम जम्मा भएपछि विभिन्न क्षेत्रमा लगानी खुला गर्न ऐन संशोधन गर्न लागिएको हो । हाल लगानी गर्न सेनालाई सैनिक ऐनले रोकेको छ ।

संयुक्त राष्ट्रसंघीय शान्ति सेनामा सहभागी हुने नेपाली सैनिकले पाउने मासिक भत्ताबाट करिब २२ प्रतिशतसम्म रकम कटौती गरी कोषमा जम्मा गरिँदै आएको छ ।

सैनिक कल्याणकारी कोषमा ४४ अर्ब रुपैयाँभन्दा बढी रकम जम्मा भइसकेको छ, जसमध्ये करिब साढे ३८ अर्ब विभिन्न बैंकमा जम्मा छ ।

करिब साढे ५ अर्ब रकम कल्याणकारी नियमावलीले तोकेअनुसार स्कुल, अस्पताल, पेट्रोल पम्प, जग्गा खरिदमा लगानी गरिएको छ । सेनाले पछिल्लो समय मनाङको भीमदाङ र सोलुखुम्बुको दूधखोला जलविद्युत् आयोजनामा लगानी गर्न चाहेको छ ।

ऐन संशोधन प्रक्रिया अघि बढे यस्ता आयोजनामा लगानीको बाटो खुल्ने खबर आजको कान्तिपुर दैनिकमा जगदीश्वर पाण्डेले लेखेका छन्।

सेनाको प्राड विवाक (कानुन विभाग) ले सैनिक ऐनलाई लगानीमैत्री बनाउने गरी संशोधन गर्ने प्रस्ताव नीति तथा योजना निर्देशनालयमा पठाइसकेको छ ।

सैनिक प्रवक्ता तथा सहायक रथी विज्ञानदेव पाण्डेका अनुसार प्राड विवाकले पठाएको प्रस्तावमाथि बलाध्यक्ष रथी गौरव तन्डुलको नेतृत्वमा बनेको कार्यदलले काम गरिरहेको छ ।

प्राड विवाकको प्रस्तावमा भने ‘सरकारको स्वीकृत लिएर लगानी गर्न पाउने’ गरी ऐन संशोधन गर्न पाउने प्रावधान अघि सारिएको पनि प्रवक्ता पाण्डेले जानकारी दिए । उनका अनुसार कार्यदलले विज्ञहरूसँग छलफल गरिरहेको छ । आन्तरिक रूपमा संशोधनको मस्यौदा तयार गरेपछि सेनाले रक्षा मन्त्रालयलाई पठाउनेछ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .