ad ad

छापा खबर


जलकुम्भीले किन ढाक्छ फेवाताल? देखियो यस्तो अनौठो

जलकुम्भीले किन ढाक्छ फेवाताल? देखियो यस्तो अनौठो

नेपालखबर
असोज ११, २०७६ शनिबार १:२३,

गाउँबाट ३५ वर्षअघि बैदाम झर्दा भुवन परियारले फेवातालमा जलकुम्भी देखेका थिएनन्। तीन दशकअघि तालमा एक्कासी नयाँ झार देखियो।

मोटो डाँठ, लामो जरा, बैजनी रंगको फूल भएको झारले फेवातालको सिरान ढपक्कै ढाक्यो। बर्खाको भेलले बगाएर तालभरि फिँजार्थ्यो। हिउँदमा भने त्यो देखा पर्दैनथ्यो।

यसपटक गत भदौ ३१ मा भारी वर्षा भयो। असोज १ को बिहान तालमा फेरि अचाक्ली जलकुम्भी देखियो। तालको वारपार जलकुम्भी तैरिँदा पानी देखिएन। घाँसे मैदान जस्तो लाग्ने फेवातालको यस्तो रूप उनले कहिल्यै देखेका थिएनन्।

‘७–८ वर्षदेखि अलि धेरै जलकुम्भी बगाएर ल्याउँथ्यो,’ उनी भन्छन्, ‘यतिधेरै बगाएर ल्याएको पहिलोपल्ट हो।’

त्यसो त, हरेक बर्खामा फेवाताल जलकुम्भीले ढाक्छ। यो वर्ष असार–साउनमा उतिसारो पानी परेन। भदौमा समेत हर्पन खोला उर्लिने गरी बढेन । भदौ अन्तिमदेखि परेको अविरल वर्षाले भने हर्पन खोला ह्वात्तै बढ्यो।

pokharafewajalkumbi 2792019031624 1000x0

भदौ ३१ रातिको ठूलो वर्षाले फेवातालको उपल्लो भेगमा भएको जलकुम्भी हर्पनले बगाएर तल्लो भेगतिर ल्यायो। हल्लनचोक, बाराहीघाट, डिहीकोपाटन, बसुन्धरापार्क र ड्यामसाइड किनारमा जलकुम्भी छपक्कै छ। पोखराको मुख्य आकर्षणमध्येको फेवाताल यतिबेला अनौठो देखिएको खबर आजको कान्तिपुरमा दीपक परियारले लेखेका छन्।

दक्षिण अमेरिकाबाट विश्वभर फैलिएको मानिने यो झार फेवातालमा कसरी आइपुग्यो भन्ने पत्ता लाग्न सकेको छैन। सुरुमा फेवातालमा देखिएको जलकुम्भी कास्कीकै अरू दुई ठूला ताल बेगनास र रूपामा पनि पुगेको छ । फेवा डुंगा व्यवसायी समितिका अध्यक्ष बुद्धिबहादुर नेपाली २०४६ बाट तालमा जलकुम्भी देखिएको बताउँछन्। ‘माछाको भुरा वा माछाको दाना ल्याउँदा सँगसँगै आयो कि भन्ने अनुमान छ,’ उनी भन्छन्, ‘यसैगरी आयो भन्न सकिएको छैन।’

उनका अनुसार जलकुम्भीमा हिउँदमा फूल खेल्छ । फूलबाट बीउ पानीमा झर्छ। त्यसैबाट फैलिन्छ। फेवाको सिरान लौरुङ, बास्कोट, कात्रेपुल, विरिङकुनो, चंखपुर, पिपलडाँली, स्यानोताल लामडाँडा, टारीखेत, ढल्केबर, सीताको थुम्को, भकुन्डे, वैद्यको घोलो, खपौंदी, रातमाटे कुनो र सेदी क्षेत्रमा जलकुम्भी उम्रन्छ।

बर्खामा पानीले बगाएर तल्लो तटीय क्षेत्रमा पुर्‍याउँछ। बिहानको छालले माथिबाट तल ल्याउँछ। दिउँसोको छालले पूर्वबाट पश्चिम लान्छ। बेलुकाको छालले फेरि पश्चिमबाट पूर्व ल्याउँछ।

पर्यटकीय मौसमको मुखैमा फेवाताल जलकुम्भीले ढाकिएपछि डुंगाव्यवसायी र चालक चिन्तित छन्। जलकुम्भीकै कारण आम्दानी घटेको अध्यक्ष नेपाली बताउँछन्। जलकुम्भी कम गर्न बर्खामा सोहोर्नेभन्दा हिउँदमै उम्रन नदिने उपाय अपनाउनुपर्ने उनी सुझाउँछन्।

‘फागुनदेखि जेठसम्म तालको सिरानबाट जलकुम्भी निकाल्नुपर्छ,’ उनी भन्छन्, ‘निकालिएको जलकुम्भीलाई सुकाएर डढाउनुपर्छ, नत्र बीउ सखाप हुँदैन ।’ डुंगा व्यवसायी, मत्स्य व्यवसायी लगायतले ०५६ देखि जलकुम्भी फाल्न सुरु गरेको उनी सम्झन्छन् । ‘पहिलेपहिले मुहानमै सफा गर्थ्यौं,’ उनले भने, ‘गएको हिउँदमा सफा गर्न महानगरले पनि चासो नदिएकाले अहिले यति धेरै जलकुम्भी आयो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .