ad ad

छापा खबर


नेमकिपामा बिजुक्छेपछि को होला अध्यक्ष?

नेमकिपामा बिजुक्छेपछि को होला अध्यक्ष?

नेपालखबर
असोज १०, २०७६ शुक्रबार २:४४,

सातौँ महाधिवेशनबाट पनि अध्यक्षमा नारायणमान बिजुक्छेलाई चुनेर बाँकी केन्द्रीय समिति गठन गरेपछि नेमकिपामा घोषित उत्तराधिकारी कोही देखिएन।

३–६ असोजसम्म चलेको सातौँ महाधिवेशनले सर्वसम्मत रूपमा पार्टी प्रमुखमा बिजुक्छेलाई सातौँपटक पुनःनिर्वाचित गरेर नेमकिपाका शक्तिशाली र निर्विकल्प नेता उनी मात्रै रहेको सन्देश दिएको खबर आजको नयाँ पत्रिका दैनिकमा वीरेन्द्र ओली र प्रकाश धौलाकोटीले लेखेका छन्।

बिजुक्छेलाई चुनौती दिने नेता नेमकिपामा कोही देखिएको छैन भने भावी उत्तराधिकारी पनि उनकै समर्थनबाट मात्रै स्थापित हुने संकेत नयाँ महाधिवेशनले गरेको छ।

०३१ सालमा नेपाल मजदुर किसान संगठन स्थापना गरेका बिजुक्छेले निरन्तर ४५ वर्षदेखि पार्टीको नेतृत्व गर्दै आएका छन् । वि.सं.१९९६ मा सुकुलढोका भक्तपुरमा निम्नमध्यम परिवारमा जन्मिएका बिजुक्छे अविच्छिन्न नेमकिपा हाँकिरहेका छन्।

पहिलोपटक ०१४ सालमा उनले कम्युनिस्ट पार्टीको सदस्यता लिएका थिए। सरकारले २०२१ सालमा क्रान्तिकारी भूमि सुधार घोषणा गरेपछि त्यसैको जगमा उनले संगठन निर्माण गरेका हुन्।

पञ्चायती व्यवस्थादेखि निर्वाचनलाई उपयोग गर्दै आएका बिजुक्छे ०४८ सालदेखि संसदीय निर्वाचनमा सहभागी भए । संसदीय निर्वाचनमा ०४८ यता उनले कहिल्यै हार व्यहोर्नुपरेको छैन।

निरन्तर ०४८ देखि ०७४ सालसम्म करिब २६ वर्ष सांसद भए । युवालाई संसद्मा अवसर दिने भन्दै ०७० साल निर्वाचनमा उनले उम्मेदवारी दिएनन्। त्यसको चौतर्फी प्रशंसा पनि भयो । पार्टी महाधिवेशनमा भने ८० वर्षीय बिजुक्छे आफैँ अघि सरेका छन्।

भावी नेतृत्वका दुई दाबेदार प्रजापति र सुवाल
नेमकिपाको भावी अध्यक्षमा सुनील प्रजापति र प्रेम सुवाल दाबेदारका रूपमा देखिएका छन्।

पार्टीबाहिरका सार्वजनिक मञ्चहरूमा खासै अभिव्यक्ति नदिए पनि पार्टीभित्र भने उनीहरूको सक्रियता र नेतृत्व क्षमता वृद्धि हुँदै गएको एक केन्द्र्रीय सदस्यले बताए।

बिजुक्छेको मूल नेतृत्वका हाराहारीमा कुनै पनि किसिमको गुट–उपगुट देखिँदैन । तर, पार्टीभित्र प्रजापति र सुवालले आ–आफ्नो पकड बलियो बनाउँदै लगेका छन्।

नेमकिपाभित्र बिजुक्छेको सर्वोच्च व्यक्तित्वका कारण कसैले पनि खुलेर उत्तराधिकारीको दाबी गरेका छैनन् ।

पार्टीले पनि कसैलाई उत्तराधिकारी तोकेको छैन । ०७४ को स्थानीय निर्वाचनमा भक्तपुरको मेयरमा सुरुमा सुवालले दाबी गरे, पछि प्रजापतिले हात पारे । सुवाल प्रतिनिधिसभामा चुनिए । अहिले सुवाल पार्टी सचिव छन्।

प्रजापति भक्तपुर नगरको मेयर छन् । भक्तपुरमा मेयर हुँदा राम्रो काम गरेर पार्टीमा स्थापित हुन सकिन्छ भन्ने मनोविज्ञान नेमकिपाभित्र छ ।

अध्यक्षमा सातौँपटक पनि बिजुक्छे नै निर्वाचित भएपछि सुवाल र प्रजापति दुवै मौन छन् । बिजुक्छेकै दाहिना भएर मात्रै भावी नेतृत्वमा पुग्न सकिन्छ भन्ने दुवै नेतालाई लागेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .