ad ad

छापा खबर


श्रीमानसँग तलाक माग्दा एसिड आक्रमण, आरती साहलाई छाक टार्नै धौ-धौ

श्रीमानसँग तलाक माग्दा एसिड आक्रमण, आरती साहलाई छाक टार्नै धौ-धौ

नेपालखबर
चैत २०, २०७७ शुक्रबार १:१८,

श्रीमानको झैंझगडा गर्ने बानीबाट दिक्क भएर २१ वर्षीया आरती साहले अघिल्लो वर्ष फागुनमै तलाक मागिन्। मुद्दा लिएर अदालत पनि गइन्।

कोरोना महामारीका कारण लकडाउन भयो र मुद्दा अघि बढ्न सकेन। तर, उनका श्रीमान् सञ्जीवकुमार साह एक्कासि कात्तिक २९ गते बिहान जानकीनगरस्थित डेरामा आइपुगे। तब आरतीको शरीरमा एसिड छ्यापेर भागे।

एसिडले आरतीको आधा शरीर जल्यो। एउटा आँखा कामै नलाग्ने भयो। मुख, हात र घाँटीमा गहिरो घाउ लाग्यो। उनलाई अहिले असह्य पीडा छ। औषधि, राम्रो उपचार र पौष्टिक खानपानको आवश्यकता छ। तर, आर्थिक विपन्नताका कारण तीन वर्षकी छोरी रियासहित छाक टार्नै धौधौ देखिएको खबर आजको अन्नपूर्ण पोस्ट दैनिकमा जकपुरबाट मनिका झाले लेखेकी छन्।

‘त्यस बेला मैले त केही बुझ्नै सकिनँ, सोझै सडकतिर भागें’, आरतीले आफ्नो पीडा रुँदै सुनाइन्, ‘छरछिमेकी र सडकमा भएकाहरूले मेरो जलिरहेको लुगा र लुगासँगै गलिरहेको शरीरको मासु हेरे। तर, कसैले सहयोग गरेनन्। आफैं एउटा टेम्पो चालकलाई हारगुहार गरेर टेम्पो चढी म जानकी हेल्थकेयर सेन्टर पुगें। तर, त्यहाँ तत्काल उपचार गर्न मानेनन्। पहिला पुर्जी कटाएर ल्याऊ भन्यो। मैले शरीर जलिरहेको पीडा खप्न सकिरहेकी थिइनँ। तर, हिम्मत नहारी एक जनासँग मोबाइल मागेर बुवालाई फोन गरें। बुवा त्यहाँ आइपुगेपछि मात्रै मलाई उपचार कक्षमा लगे।’

उनलाई थप उपचारका लागि काठमाडौं लगियो। तिलगंगा अस्पतालमा आँखाको शल्यक्रिया गरियो। अन्य उपचार पनि काठमाडौंकै अस्पतालहरूमा भयो। तीन महिनाभन्दा बढी उपचारपछि जनकपुर फर्किएकी आरतीलाई चिकित्सकले निरन्तर औषधोपचारको आवश्यकता रहेको बताएका छन्। तर, गरिबीले ग्रस्त उनको परिवारले उपचारलाई निरन्तरता दिन सक्ने अवस्था देखिँदैन।

‘उनको उपचार, खानपान र रेखदेखमा लाखौं रुपैयाँ खर्चेर अहिले ऋणमा डुबेको छु’, बुवा सुबोधले भने, ‘अहिले भाडाको घरमा दुई हजार रुपैयाँ छुट्टै तिरेर छोरी र नातिनीलाई राखेको छु। त्यसमाथि खानपिन र औषधि जोड्न साह्रै अप्ठ्यारो भएको छ।’

प्रदेश २ सरकारले अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा आरतीलाई मधेस भवनमा बोलाएर सम्मान गर्‍यो। तर, उनको उपचार वा जीवनयापनका लागि कुनै सहयोग नगरेको सुबोधले बताए। ‘कहीँबाट कुनै सहयोग छैन। जसलाई छोरी दिएँ उनले यस्तो दुर्दशामा पुर्‍याए’, उनले भने, ‘अब यसको र सानो नातिनीको जीवन कसरी चल्छ थाहा छैन।’

कानुनले बाल विवाहलाई बन्देज लगाए पनि जनकपुरधाम उपमहानगरपालिका–७ की आरतीको १६ वर्षकै उमेरमा २०७३ सालमा धनुषाको देपुरा रूपैठा गाउँका सञ्जीवसँग बिहे भयो। परिवारले दुई लाख नगद, एक तोला सुन र घरजम गर्ने सबै सरसामान दाइजो दियो।

सुनचाँदी कारिगरको काम गर्ने सञ्जीवले लागूऔषध र मदिरा सेवन गरी बिहेको दुई महिनादेखि आरतीलाई कुटपिट गर्न थाले। ‘मैले ससुरालीमा नर्क भोगें। कुटपिटको त कुरै नगर्नुस् कुनै यस्तो दशा छैन जुन मैले भोगिनँ’, आरतीले भनिन्, ‘म र मेरी छोरीलाई खानलाउन गाह्रो भएपछि गाउँमै केही काम गर्न थालें। तर, घरपरिवारलाई त्यो पनि सह्य भएन। डेढ वर्षअघि छोरीलाई लिएर जनकपुर आई श्रीमान्सँग छुट्टै बस्न थालेकी हुँ।’

उनका बुवा सुबोधले तरकारी व्यापार गरेर छोराछोरीको पालनपोषण गर्दै आएका छन्। सुबोधले नै छोरीलाई ससुरालीमा दिनरात हिंसा सहनुपर्ने समस्यालाई हेर्दै बरु जनकपुरमै बसेर छुट्टै तरकारी बेचेर जीवन चलाउन सुझाव दिए।

आरती आफू र छोरीका लागि मेहनत गर्न थालिन्। तर, सञ्जीवले दुःख दिन छाडेनन्। त्यसकै परिणाम भोगिरहेका छन् सञ्जीव। उनी पुर्पक्षका लागि जलेश्वर कारागारमा छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .